जातीय र रङ्गभेदविरुद्ध कैलालीमा प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सहायक सङ्गठन युवा सङ्गठन नेपाल, जनवर्गीय सङ्गठन अखिल (क्रान्तिकारी) र नेपाल महिला सङ्घ (क्रान्तिकारी) कैलालीले संयुक्त रूपमा जातीय र रङ्गभेदविरुद्ध प्रदर्शन गरेका छन् ।

कैलालीको गौरीगङ्गा नगरपालिकाको बडैपुर बजारमा सोमबार व्यापक विरोध प्रदर्शन भएको जानकारी युवा सङ्गठन नेपाल कैलाली जिल्ला अध्यक्ष विष्णुले दिए ।

प्रदर्शनकारीले रङ्गभेद गर्दै मारिएका अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइडका हत्यारालाई कारबाही गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, जातीयताका आधारमा रुकुममा नवराज विकसहित ६ जनाको हत्या गर्ने चौरजहारीका अपराधीलाई कारबाही गर, अपराधीलाई राजनीतिक पक्षपोषण बन्द गर, कथित कम्युनिस्ट सरकार राजीनामा दे, एमसीसीको पक्षमा मतदान गर्ने सांसदलाई जिल्ला प्रवेशमा निषेध गरौँ, नेपाल कम्युनिस्ट पार्टी जिन्दावादलगायत नारा लगाएका थिए ।

जनताको अभिलाशा बोकेको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघातका विरुद्ध बुलन्द आवाज उठाउँदै आएको बताउँदै युवा सङ्गठन नेपाल कैलाली जिल्ला अध्यक्ष विष्णुले सम्पूर्ण परिवर्तनकारी जनतालाई राष्ट्रघातका विरुद्ध साथ दिनसमेत अपिल गरे ।

शान्तिपूर्ण रूपमा गरिएको विरोध प्रदर्शनमा प्रहरी दमनमा उत्रिएको समेत उनले बताए । शान्तिपूर्ण आन्दोलन गर्न नदिए प्रतिकारमा उत्रने चेतावनीसमेत उनले दिए । प्रहरीको व्यापक दमनका बीच शान्तिपूर्ण कार्यक्रम सफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :