रुकुम नरसंहार र अमेरिकामा अश्वेतमाथिको दमनविरुद्ध रूपन्देहीमा प्रदर्शन


काठमाडौँ : रुकुममा नवराज विकलगायत ६ जना युवकहरूमाथि गरिएको नरसंहार र अमेरिकामा जर्ज फ्लोइडको हत्यासँगै काला जातिमाथि गरिएको दमनविरुद्ध रूपन्देहीमा प्रदर्शन गरिएको छ ।

नेकपा निकट जनवर्गीय सङ्गठनहरूको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र विकले रुकुम हत्याकाण्ड दलाल पुँजीवादी राज्यसत्ताको उपज भएको बताए । उनले केपी वली नेतृत्वको सरकार दलाल पुँजीवादी राज्यसत्ताको सञ्चालक समिति भएको भन्दै रुकुम हत्याकाण्डका पीडितले न्याय पाउने सम्भावना कम भएको बताए । उनले दलितलगायत उत्पीडित जाति र समुदायमाथिको दमनविरुद्ध एक हुनुपर्ने भन्दै यसको समाधान क्रान्तिले मात्र गर्ने बताए । उनले नवराज विकलगायत युवाहरूको परिवारले न्याय नपाएमा हत्याराहरूलाई नेकपाले कारबाही गर्ने चेतावनी दिए । अमेरिकामा काला जातिमाथि दमन गरेर अमेरिकी साम्राज्यवादले आफ्नो असली चरित्र देखाएको उनले बताए । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी जिल्ला अध्यक्ष रेखा खनालले गरेकी थिइन् ।

नेकपाको केन्द्रीय कार्यक्रमअन्तर्गत पार्टीका जनवर्गीय सङ्गठनको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको नेकपा रूपन्देहीले बताएको छ । विरोध कार्यक्रममा जातीय विभेदविरुद्ध नाराहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । कार्यक्रम रूपन्देहीको बेलभरिया चोक वडा कार्यालयअगाडि सम्पन्न भएको समाचारमा जनाइएको छ ।

जेठ १० गते रुकुमको चौरजहारी सोती गाउँमा नवराज विकसहित ६ जना युवकको निशृंस हत्या गरिएको थियो । त्यस्तै २५ मे, २०२० मा अमेरिकाको मिनिएपोलिस सहरमा ४६ वर्षीय अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको ड्युटीमा रहेका अमेरिकी प्रहरीले घुँडाले घाँटी थिचेर निर्ममतापूर्वक हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :