नवलपुरमा नेकपाको भव्य प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) लगायत जनवर्गीय सङ्गठनले पार्टीको जातीय र रङ्गभेदविरोधी केन्द्रीय कार्यक्रमबमोजिम नवलपुर जिल्लामा भव्य प्रदर्शन गरेको समाचार प्राप्त भएको छ ।

रुकुम पश्चिम सोती हत्याकाण्डका दोषीलाई कारबाही गरिनुपर्ने, नेपाल, अमेरिकालगायत विश्वभर जातीय आधारमा भएका विभेद अन्त्य हुनुपर्ने, मानवीय चेतनाको विकासमा जोड दिनुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने, बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने, नक्सा मात्र नभएर गुमेको भूमि फिर्ता हुनुपर्नेलगायत माग राखेर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा एक दर्जनभन्दा बढी नेता, कार्यकर्ता तथा विद्यार्थीको सहभागिता थियो । नेकपा निकट अखिल (क्रान्तिकारी) ले जेठ २९ गते पनि जिल्लामा प्रदर्शन गरेको थियो । उक्त सङ्गठनले आफ्नो मातृ पार्टी तथा सङ्गठनमाथि लादिएको प्रतिबन्धको खारेजी र विद्यार्थीमाथि हुने धरकपडसमेत बन्द गर्न जोड दिँदै आएको छ ।

जेठ १० गते रुकुमको चौरजहारी सोती गाउँमा नवराज विकलगायत ६ जना युवकको निशृंस हत्या गरिएको थियो भने २५ मई २०२० मा अमेरिकाको मिनिएपोलिस सहरमा ४६ वर्षीय अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको ड्युटीमा रहेका अमेरिकन श्वेत प्रहरीद्वारा निर्ममतापूर्वक हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :