जातीय र रङ्गभेदविरुद्ध चितवन र मकवानपुरमा प्रदर्शन


काठमाडौँ : रुकुमपश्चिमको सोतीमा जेठ १० गते दलित समुदायका नवराज विकसहित ६ जना युवकको हत्या र अमेरिकामा श्वेत आर्मीले अश्वेत जातिका जर्ज फ्लोइडलाई अमानवीय तरिकाले गरेको हत्याको विरोधमा सोमबार चितवनका विभिन्न स्थानमा नेपाल कम्युनिस्ट पार्टी निकट जवस÷मोर्चाको नेतृत्वमा प्रदर्शन गरिएको छ ।

राप्ती नगरपालिका वडा नं. २ गड्यौलीचोकमा विरोध प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनको नेतृत्व युवा सङ्गठन नेपाल र अखिल (क्रान्तिकारी) का नेताहरूले गरेका थिए । प्रदर्शनपछि युवा सङ्गठन नेपाल चितवनका संयोजक राम सेढाईंले सम्बोधन गरेका थिए ।

यसैगरी रत्ननगर नगरपालिकाको डुम्रेचोकमा पनि प्रदर्शन भएको छ । त्यसैगरी कालिका नगरपालिकाको ११ नं. वडामा पनि विरोध प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्लेकार्डसहित भएको विरोध प्रदर्शनपछि कोणसभा गरिएको थियो । उक्त कोणसभामा कालिका नगर इन्चार्ज कुशलले सम्बोधन गरेका थिए ।

यसैगरी भरतपुर महानगरपालिकाको हाकिमचोकमा विद्यार्थी र दलित मोर्चाले गर्न लागेको विरोध प्रदर्शनलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरी अवरोधपछि मुख्य राजमार्ग रिजालचोकमा विरोध प्रदर्शन गरिएको थियो । यसैगरी मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं. १६, थाहा नगरपालिकाको पालुङटार, मनहरी गाउँपालिकाको हाँडी खोला लगायतका स्थानहरुमा पनि विरोध प्रदर्शन गरिएको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :