रुकुम हत्याकाण्ड र अमेरिकामा अश्वेतमाथिको हत्याविरुद्ध पाल्पामा सभा


काठमाडौँ : दलित मुक्ति मोर्चा नेपाल पाल्पाले रुकुम हत्याकाण्ड र अमेरिकामा रङ्गभेदविरुद्ध विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख वक्ता दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य निशान विकले एक्काईसौँ शताब्दीको लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा मान्छे–मान्छेबीच जातीय छुवाछूत कायम रहेको र राज्यले दलित समुदायको मुक्तिका लागी प्रभावकारी पहल नगरेकोमा खेद प्रकट गरे । उनले देशमा विद्यमान जातीय असमानता, विभेदसँगै कोरोना भाइरसलगायत समस्याहरूलाई कुल्चेर कमिसनको चक्करसहित केपी सरकार एमसीसी पास गर्ने दाउपेच गरिरहेको बताए । रुकुम नरसंहार मच्चाउने हत्याराहरूलाई कारबाही गर्न दबाब दिन सङ्घर्षमा उत्रिनुपरेको बताए ।

युवा सङ्गठन नेपाल पाल्पाका अध्यक्ष लीला सारुमगरले विद्यमान अराजकताको समाधान र राष्ट्रिय स्वाधीनताका निम्ति सबै एक भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रगतिशील कलाकार अमरदीप विकले जातीय उत्पीडनविरुद्ध सङ्घर्ष नै अन्तिम विकल्प भएकोमा जोड दिए ।
कार्यक्रमको सहजीकरण मोर्चाका सदस्य गङ्गा विकले गरेका थिए भने प्रगतिशील साहित्यकार रूपसिंह विकले रुकुम हत्याकाण्डबारे कविता प्रस्तुत गरेका थिए ।

जेठ १० गते रुकुमको चौरजहारी सोती गाउँमा नवराज विक लगायत ६ जना युवाहरूको निशृंस हत्या गरिएको थियो भने २५ मे २०२० मा अमेरिकाको मिनिएपोलिस सहरमा ४६ वर्षीय अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको ड्युटीमा रहेका अमेरिकी श्वेत प्रहरीद्वारा निर्ममतापूर्वक हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :