कपिलवस्तुमा रुकुम नरसंहार र अमेरिकामा जर्ज फ्लोइड हत्याविरुद्ध सङ्घर्ष

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठनको संयुक्त आयोजनामा कपिलवस्तुमा रुकुममा दलित युवामाथिको नरसंहार र अमेरिकामा जर्ज फ्लोइडको हत्या र काला जातिमाथि गरिएको दमनको विरोधमा प्रदर्शन गरिएको समाचार प्राप्त भएको छ । जिल्लाका दुई स्थानमा कार्यक्रम सम्पन्न गरिएको पनि जनाइएको छ ।

जिल्लाको पूर्वीभेगमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै थारू मुक्ति मोर्चाका अध्यक्ष सङ्घप्रसाद थारूले आजको युगमा रङ र जातका आधारमा मानव जातिको हत्या गरिनु दुःखद् भएको भन्दै यसका विरुद्ध सशक्त सङ्घर्ष आवश्यक रहेको बताए । उनले पुँजीवादी व्यवस्था रहँदासम्म जातीय मुक्ति सम्भव नरहेको भन्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्पूर्ण उत्पीडित जातिको मुक्ति हुने बताए ।

कार्यक्रममा प्लेकार्ड लिएर जातीय विभेद र अमेरिकी साम्राज्यवादविरोधी नाराहरू लगाइएको थियो । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) कपिलवस्तुका जिल्ला अध्यक्ष विष्णुले गरेका थिए ।

त्यस्तै पश्चिम भेगमा गरिएको कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय महासचिव प्रकाश चन्दले सम्बोधन गर्दै रुकुम हत्याकाण्डले केपी वली सरकारको नक्कली कम्युनिस्ट र समाजवादउन्मुख मुकुण्डो च्यातिएको बताए । उनले अमेरिकी साम्राज्यवादले काला जातिमाथि गरेको दमनले उसको चरित्र पनि नाङ्गिउको बताए ।

अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य रूपा बुढामगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा व्यापक जनसहभागिता रहेको बताइएको छ । नेकपा निकट जनवर्गीय सङ्गठनहरूको केन्द्रीय कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :