कोरोना सङ्क्रमितहरूलाई लाठी प्रहार गरी घाइते बनाउने काम निन्दनीय : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले कोरोना सङ्क्रमितहरूलाई प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको भन्दै निन्दा गरेको छ । जिल्ला इन्चार्ज दीपेन्द्रले विज्ञप्ति जारी गर्दै नारायण नगरपालिकाको आइसोलेसनमा बसेका सङ्क्रमितहरूले महिना दिन पुग्दा पनि पीसीआर रिपोर्ट नआएकाले असन्तुष्टिका रूपमा आन्दोलन गरेका र सङ्क्रमितमाथि प्रहरीले लाठी चार्ज गर्दा चारजना सङ्क्रमित युवा घाइते भएको भन्दै समस्या समाधान गर्नुको सट्टा घाइते हुने गरी दमन गर्नु राज्यको फासिवादी चरित्र रहेको जनाएका छन् ।

उनले दैलेख र देशैभरि कोरोना सङ्क्रमण बढ्दै जानुमा यो दलाल संसदीय व्यवस्था जिम्मेवार रहेको उल्लेख गर्दै दैलेखमा आरडीटी परीक्षण गरेका मानिसहरूलाई घर पठाइसकेपछि कोरोना समुदाय स्तरमा पुगेको जनाएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि दैलेखका नारायण नगरपालिका र दुल्लु नगरपालिकामा कफ्र्यु लगाइएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । सरकारी कदमकै कारण दैलेख जिल्लामा कोरोनाले भयावह रूप लिने सङ्केत देखिएको भन्दै उनले कोरोना नियन्त्रणमा केन्द्र, प्रदेश र स्थानीय सरकारलाई गम्भीर हुन र जनताको स्वास्थ्यमा खेलबाड नगर्न ध्यानाकर्षण पनि गराएका छन् ।

उनले कोरोना सङ्क्रमितको जीवन बिमा र मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका छन् । त्यस्तै आरडीटीबाट नभएर पीसीआर प्रविधिबाट परीक्षण गर्ने व्यवस्था मिलाउन, किटको पर्याप्त व्यवस्था गर्न, क्वारेन्टाइनहरूलाई व्यवस्थित गराउन, सङ्क्रमितको छिटोछरितो उपचारको व्यवस्था गर्न र कोरोनाको राहतका नाममा भएको खर्च विवरण सार्वजनिक गर्न दैलेखका सबै स्थानीय तहका नेतृत्वहरूलाई उनले अनुरोध गरेका छन् ।

कोरोना महामारीमा पनि भ्रष्टाचार, कालोबजारी र महँगी बढेकोमा चिन्ता व्यक्त गर्दै उनले भ्रष्टाचारी, कमिसनखोर र कालोबजारियाविरुद्ध पार्टी निरन्तर सङ्घर्षरत रहेको स्मरण गराएका छन् । स्थानीय सरकारका गलत गतिविधिहरूमाथि जनताको गुनासोका आधारमा पार्टीले छानबिन गरी कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :