दाङमा एमसीसीविरुद्ध प्रदर्शन र कोणसभा


काठमाडौँ : तुलसीपुरमा स्वतन्त्र युवाहरूले एमसीसीका विरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न गरेका छन् । राजनीतिक पार्टीहरूलाई राष्ट्रघाती एमसीसी पास नगर्न खबरदारी गर्ने उद्देश्यका साथ हातहातमा एमसीसी खारेजीको पम्प्लेटसहित तुलसीपुरको बीपी चोकमा प्रदर्शनसहित कोणसभा गरेका हुन् ।

उक्त कोणसभामा सम्बोधन गर्दै हेमन्तप्रकाश वलीले एमसीसी सम्झौता हिन्द–प्रशान्त रणनीतिकै अङ्ग भएको र देशको हितविपरीत भएकाले कुनै पनि हालतमा यो परियोजना संसद्बाट पास गर्न नदिने चेतावनी दिए । बलजफ्ती पास गर्न खोजे संसद् भवनमा बम बनेर पड्किने चेतावनी उनले दिए । अत्याधुनिक हतियार भण्डारण गर्ने, उत्पादित बिजुली नेपालभन्दा पहिले गोरखपुर लग्ने, परियोजनाका लागि जनशक्ति, स्रोतसाधनमा अमेरिकी एकाधिकार, कर तिर्न नपर्ने, दिल्ली र अमेरिकाले चाहेमा जुनसुकै बेला पनि सम्झौता रद्द गर्न सक्ने, बौद्धिक सम्पत्तिमा अमेरिकी एकाधिकार रहनेलगायत विवादास्पद अनुसूचीले यो नेपालको हितमा नभएको प्रस्ट हुने उनले बताए ।

कार्यक्रममा अर्का वक्ता तेजप्रसाद पोख्रेलले एमसीसीमार्फत देश अमेरिकालाई बेचेर आफ्नै देशमा शरणार्थी भएर बाँच्ने कुरा सह्य नभएको बताए । ‘लेखा परीक्षणसम्म नेपालले गर्न नपाउने यो कस्तो सम्झौता हो ?’। एनले प्रश्न गरे । उनले संसद् भवन विदेशी जासुसले भरिएको दाबी पनि गरे । देशभक्त नेपाली जनताको शरीरमा एक थोपा रगत रहँदासम्म एमसीसी पास गरौँला भनेर सोच्नु दिवासपना रहेको बताउँदै उनले देशभक्त युवाहरूलाई सडक सङ्घर्षमा आउन अपिल गरे ।

कार्यक्रममा एमसीसी सम्झौता खारेज गर, देश बेच्न पाइँदैन, राष्ट्रघाती दलालहरू होसियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद लेखिएको पम्प्लेट प्रदर्शन गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रकाश वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :