सगरमाथामा एमसीसीविरुद्ध पोस्टरिङ


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सगरमाथा ब्युरोका विभिन्न जिल्लामा एमसीसीविरुद्ध पोस्टर टाँसेको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रमअनुसार भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुरलगायत ब्युरोका सबै जिल्लामा व्यापक पोस्टरिङ गरिएको हो ।

सम्बन्धित जिल्लाका सम्बन्धित नगर, गाउँपालिका, जनवर्गीय सङ्गठन र पार्टी समितिहरू परिचालन गरी हजारौँ पोस्टर टाँस्ने काम सम्पन्न भएको नेकपा सगरमाथा ब्युरोले जनाएको छ ।

अमेरिका र नेपाल सरकारबीच सम्झौता भएको एमसीसी संसद्बाट पास गर्ने तयारी गरिरहेको बेला उक्त सम्झौता देशको सार्वभौमिकता र स्वाधीनताको हितमा नभएको भन्दै यसको विरोधमा प्रचारप्रसार गर्न पोस्टरिङ गरिएको सगरमाथा ब्युरोले जनाएको छ ।

एमसीसीविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ भने सत्तारूढ दलभित्रसमेत यसको तीव्र विरोध हुँदै आएको छ । नेपाली काङ्ग्रेसले संसद्मा यो सम्झौताका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने अन्य विभिन्न राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् ।

यसअघि सगरमाथा ब्युरोले एमसीसीविरुद्ध केपी वली र शेरबहादुर देउवाको पुतलादहन, मशाल जुलुस, पर्चा वितरण र कोणसभाहरू सम्पन्न गरिसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :