नगरपालिकाका भ्रष्ट मेयर र उपमेयर नेकपाको कारबाही सूचीमा

काठमाडौँ : नेकपाको सेती–महाकाली स्वायत्त प्रदेशअन्तर्गत जिल्ला जनपरिषद् अछामले प्रेस विज्ञप्ति प्रकाशित गरी अछामको मङ्गलसेन नपाका मेयर पदम बोहरा र उपमेयर सरिता उपाध्यायले नगरपालिकाका निर्माणकार्यलगायत अन्य कामकारबाहीहरूमा व्यापक भ्रष्टाचार गर्ने र कमिसन खाने गरेको विषयमा स्थानीय जनताले जिल्ला जनपरिषद् अछामको कार्यालयमा उजुरी दर्ता गराएकाले कारबाही सूचीमा राखिएको जनाएको छ । जिल्ला जनपरिषद् अछामका प्रमुख निरक शाहीले जारी गरेको विज्ञप्तिमा मङ्गलसेन–लोडेघाट सडक निर्माणका लागि कम दररेटसहित पेस भएको सनलाइट प्रालिलाई मूल्याङ्कनमा नलगी उपमेयरका श्रीमान् देवराज उपाध्यायको सन्देश निर्माण सेवा प्रालिसँग १ करोड ९४ लाख लागतको सडक निर्माणकार्यको सम्झौता गरिए पनि ०७६ असार मसान्तभित्र गरिसक्नुपर्ने निर्माणकार्य हालसम्म पनि सम्पन्न नभएको तर काम ढिला गर्दा पनि कारबाही नगरिएको उल्लेख छ ।

प्रमुख शाहीले विज्ञप्तिमा भनेका छन्, ‘अहिले देशमा कथित कम्युनिस्टको खोल ओढेका दलाल केपी–पीके गिरोहले देशविदेशमा रगत र पसिना बगाएर जनताले तिरेको करमाथि लुट मच्चाउँदै स्थानीय तहदेखि केन्द्रसम्म आफ्नो फासिवादी अपराधी सत्ता सञ्चालन गरिरहेको छ । यतिबेला विश्वभरि फैलिरहेको कोरोना महामारी नियन्त्रणको सन्दर्भमा समेत क्वारेन्टाइन, आइसोलेसन र अन्य व्यवस्थापनका लागि १० अर्ब रकम खर्चिएको कुरा सार्वजनिक गरेका छन् भने उता क्वारेन्टाइनहरू महामारी झनै फैलिने गरी अस्तव्यस्त छन् । पर्याप्त आइसोलेसनको व्यवस्था गरिएको छैन । राहत वितरणका नाममा फर्जी बिल बनाएर आसेपासे पोस्न र भ्रष्टाचार गर्नमा व्यस्त भएको कुरा सर्वविदितै छ ।’

उनले अगाडि भनेका छन्, ‘अछामको मङ्गलसेन नपाका मेयर पदम बोहरा र उपमेयर सरिता उपाध्यायले नगरपालिकाका निर्माणकार्यलगायत अन्य कामकारबाहीहरूमा व्यापक भ्रष्टाचार गर्ने र कमिसन खाने गरेको कुरा स्थानीय जनताहरूबाट हाम्रो जिल्ला जनपरिषद् अछामको कार्यालयमा उजुरी दर्ता भएको छ । मङ्गलसेन–लोडेघाट सडक निर्माणका लागि मङ्गलसेन नपाको मिति ०७६–०१–०९ मा प्रकाशित सूचना अनुसार ई. विड. मार्फत आएका बोलपत्रहरूमा कम दररेटसहित पेस भएको सनलाइट प्रालिलाई मूल्याङ्कनमा नलगी मनपाकी उपमेयरका श्रीमान् देवराज उपाध्यायको सन्देश निर्माण सेवा प्रालिसँग १ करोड ९४ लाख लागतको सडक निर्माणकार्यको सम्झौता गरिएको थियो । सडक निर्माणको कार्य ०७६ असार मसान्तभित्र गरिसक्नुपर्ने थियो जो हालसम्म पनि सम्पन्न भएको छैन । अरू निर्माण व्यवसायीहरूले सोही समयमा लिएको काम समयावधिभन्दा थोरै दिन माथि जाँदा हर्जना तिराएको तर उपमेयरका श्रीमान्ले १ वर्ष ढिलोसम्म काम नसक्दा पनि कारबाही गर्नुको साटो उल्टै प्रोत्साहित गरेको देखिन्छ । उक्त कामका लागि मङ्गलसेन नपाको डोजर प्रयोग गरिएको थियो । काम अधुरो नै रहेको तर कामभन्दा बढी रकम भुक्तानी भइसकेको भए पनि नगरपालिकाबाट प्रयोग भएको डोजरको तिर्नुपर्ने भाडा रकम पनि दादागिरी शैलीमा नतिरेको कुरा जानकारीमा आएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘सडक निर्माणको कार्य एक वर्ष ढिलो भैसक्दा पनि सम्झौताअनुसार काम नगरी अधुरो कामको सम्पूर्ण रकम भुक्तानीसहित समयावधि लम्बिएको हुँदा विभिन्न प्रक्रिया पुर्याएर थप रकम भुक्तानी गर्न राजनीतिक आडमा कर्मचारीहरूलाई धम्क्याउने गरेको कुरा आएको छ । साथै नगरपालिकाका मेयर र उपमेयरको मिलोमतोमा नगरपालिकाभित्रका डोजरलगायत निर्माण सामग्रीहरू बिग्रेको बहाना गरेर नगरपालिकाले गर्नुपर्ने निर्माणकार्यहरूमा पनि लाखौँ रकम कमिसन खाने गरी आफ्ना नातागोता, इष्टमित्र र आसेपासेलाई दिने गरेको कुरा आएको छ । यस्ता गतिविधिहरूप्रति हाम्रो जिल्ला जनपरिषद्को गम्भीर ध्यानाकर्षण भएको छ । तत्काल यस्ता गतिविधि रोकेर समयमै सच्चिन चेतावनी दिन चाहन्छौँ । अन्यथा यस्ता काममा संलग्न जनप्रतिनिधिलगायत जोकोहीलाई पनि जनकारबाहीको भागीदार बनाइनेछ । मङ्गलसेन नपालगायत जिल्लाभरिका स्थानीय निकायका जनप्रतिनिधिहरूले स्थानीय निकायको कामकारबाहीमा कमिसन खाने, भ्रष्टाचार गर्ने कुरा व्यापक बढेर गएको छ । तत्काल यस्ता कुकार्यहरू रोक्न सचेत गराउँछौँ । यस्ता भ्रष्ट, दलाल र कमिसनखोर जनप्रतिनिधिहरूका विरुद्ध सङ्घर्षमा उत्रिन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ । जनताको रगत र पसिना बगाएर गरिएको श्रमबाट तिरेको करमा स्थानीय जनप्रतिनिधिहरूबाट भैरहेको लुटपाट रोक्नका लागि जस्तोसुकै चुनौती मोल्न तयार रहेको जानकारी यसै प्रेस विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :