नेकपा नेत्री उमा भुजेल रिहापछि पटकपटक गिरफ्तार

राज्यविरुद्ध अपराध गरेको भन्दै काठमाडौँबाट भोजपुर लगियो


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’ लाई बिहीबार काठमाडौँबाट रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी भोजपुर लगेको छ । राज्यविरुद्ध कसुर गरेको भन्दै मङ्गलबार ललितपुरबाट गिरफ्तार गरी भुजेललाई प्रहरीले काठमाडौँ ल्याएको थियो । काठमाडौँ जिल्ला अदालतले साधारण तारेखमा छाड्ने आदेश गरेर रिहा भएकी भुजेललाई प्रहरीले अदालतबाटै गिरफ्तार गरेर सङ्गठित अपराध र राज्यविरुद्धको कसुर गरेको झूट्टा आरोप लगाउँदै पुनः भोजपुर लगेको हो ।

भुजेललाई सरकारले अभद्र व्यवहार, विस्फोटक पदार्थ, सङ्गठित अपराध, राज्यविरुद्ध कसुरलगायत झूट्टा मुद्दा लगाउँदै देशका विभिन्न जिल्ला घुमाइरहेको छ । जहाँजहाँ लगिए पनि अदालतहरूबाट साधारण तारेखमा रिहा हुनासाथ प्रहरीले उनलाई फेरि गिरफ्तार गरी अर्को जिल्ला पुर्याउने गरेको छ ।

यसअघि जेठ २७ गते ललितपुर जिल्ला अदालतबाट राज्यविरुद्ध कसुर गरेको आरोपमा साधारण तारिखमा रहने आदेश गरिएको थियो तर प्रहरीले अदालतको प्रवेशद्वारबाटै पुनः गिरफ्तार गरी काठमाडौँ ल्याएर शान्तिसुरक्षा एवम् अभद्र व्यवहार मुद्दामा काठमाडौँ जिल्ला अदालतमा पेस गर्न भनी महानगरीय प्रहरी परिसर टेकुमा राखेको थियो ।

यसअघि उनलाई सुनसरीमा गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर त्यहाँबाट झापा, धनुषा, कैलाली, गोरखा हुँदै ललितपुरमा जेठ २४ गते ल्याइएको थियो । ती सबै जिल्लाहरूमा लगाइएका राजद्रोहलगायत मुद्दामा अदालतले छोड्ने आदेश दिए पनि नछोडी प्रहरीले गिरफ्तार गर्दै विभिन्न जिल्ला घुमाउँदै आएको छ ।

भुजेललाई २०७६ भदौ र असोजमा पनि सरकारले गिरफ्तार गरी विभिन्न मुद्दामा थुनामा राखेको थियो तर सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरण रिटबाट छोडिएको थियो । उनलाई राजनीतिक आस्थाका आधारमा पटकपटक गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर थुनामा राखिँदै आएको छ । भुजेल अन्तरिम विधायिका र संविधानसभाकी सदस्य रहिसकेकी नेकपा नेत्री हुन् । भुजेल जनयुद्धको समयमा चर्चित गोरखा जेल ब्रेककी कमान्डर पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :