बयलपाटा घटना छानबिन गरी दोषीलाई कारबाही गर : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालमा भएको दुःखद् घटनाले पार्टीलाई स्तब्ध बनाएको र पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला इन्चार्ज नवीनले विज्ञप्ति जारी गर्दै घटनामा मारिएका सिद्धार्थ आउजीप्रति हार्दिक श्रद्धाञ्जली पनि प्रकट गरेका छन् । उनले विज्ञप्तिमा अस्पतालमा न्यून वेतनवाला कर्मचारीलाई निष्कासन गरिएको घटनाको गम्भीरतालाई सम्बन्धित सरोकारवाला पक्षले आत्मसात नगर्दा अस्पतालमा अप्रिय घटना भएको निष्कर्ष पनि निकालेका छन् ।

इन्चार्ज नवीनले विज्ञप्तिमा यस घटनालाई अस्पताल प्रशासनले गम्भीरताका साथ लिँदै पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि राखेका छन् ।

प्रेस विज्ञप्तिमा नवीनले भनेका छन्, ‘न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालमा भएको दुःखदायी घटनाले हाम्रो सिङ्गो जिल्ला पार्टीलाई स्तब्ध बनाउनुका साथै पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ । यस दुःखद् घडीमा सर्वप्रथम सिद्धार्थ आउजीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्दै शोकलाई शक्तिमा बदल्ने र पीडालाई आक्रोशमा बदल्ने आँट पैदा होस् भनी समवेदना प्रकट गर्दछौँ ।’

उनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यतिबेला कोभिड १९ ले विश्व मानव जातिमाथि अस्तव्यस्तताको सङ्कट पैदा गरेको अवस्थामा स्वास्थ्यजस्तो संवेदनशील संस्थामा दक्ष जनशक्ति थप गरेर मानव जातिको रक्षार्थ खटाउनुपर्ने आवश्यकतालाई महसुस नगरी त्यसको ठीक विपरीत बयलपाटा अस्पतालले पक्षपातपूर्ण ढङ्गबाट ३५ जना कर्मचारीलाई अपमानित ढङ्गले निष्कासन गर्नु मृतक सिद्धार्थ आउजीको आत्महत्याको कारण बन्न गएको छ जसको उदाहरण १३ लाखसम्म तलब–भत्ता खाने कर्मचारीलाई नहटाउनु, न्यून पारिश्रमिकमा लामो समयदेखि हाडजोर्नी सेवा दिँदै आउनुभएका डा. मन्दीप पाठकलगायत ३५ जनालाई निष्कासन गर्नु र आवश्यकताविपरीत ७ जनाको फिजिसियन टोली र डेन्टिस्ट रेखा शेरचनलाई ५ वर्षसम्म मासिक २ लाखका दरले तलब–भत्ता खुवाउनुका साथै २ जना MDGP राख्नु र अर्थमेटिक डा. नराख्नुजस्ता उदाहरण रहेका छन् ।’

उनले भनेका छन्, ‘यस अर्थमा सत्ता र शक्तिको दुरुपयोग गर्दै षड्यन्त्रपूर्ण ढङ्गले न्यून तलब–भत्तामा काम गर्ने कर्मचारीहरू निकालिनु स्वयम् पीडित पक्षको अहित मात्र नभई स्वास्थ्यजस्तो संवेदनशील संस्थाको पनि हितमा छैन । उल्लिखित कुरालाई ध्यान दिँदै मिति २०७७ जेठ १८ गते नेपाल कम्युनिस्ट पार्टी अछामले विज्ञप्ति जारी गर्दै उत्पन्न परिस्थितिको जिम्मेवार अस्पताल प्रशासन हुने कुराको जानकारी गरिएको थियो । यसको गम्भीरतालाई सम्बन्धित सरोकारवाला पक्षले आत्मसात नगर्दा अस्पतालमा अप्रिय घटना भयो ।’

विज्ञप्तिको अन्त्यमा नवीनले भनेका छन्, ‘यस घटनालाई अस्पताल प्रशासनले गम्भीरताका साथ लिँदै पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ । अन्यथा यस घटनाबाट उत्पन्न परिस्थितिको जिम्मेवार पनि अस्पताल प्रशासन हुनेछ र पीडित पक्षले न्यायका निम्ति गर्ने सङ्घर्षमा हाम्रो पार्टीले समर्थन गर्ने कुरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :