नेकपा नेत्री उमा भुजेल रिहालगत्तै पुनः गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’ लाई रिहा भएलगत्तै प्रहरीले मङ्गलबार पुनः गिरफ्तार गरेको छ ।

जेठ २७ गते ललितपुर जिल्ला अदालतबाट राज्यविरुद्ध कसुर गरेकोमा साधारण तारिखमा रहने आदेश गरिएको थियो तर प्रहरीले अदालतको प्रवेशद्वारबाटै पुनः गिरफ्तार गरी काठमाडौँ ल्याएर शान्तिसुरक्षा एवम् अभद्र व्यवहार मुद्दामा काठमाडौँ जिल्ला अदालतमा पेस गर्न भनी महानगरीय प्रहरी परिसर टेकुमा राखेको जानकारी स्रोतले दिएको छ ।

यसअघि उहाँलाई सुनसरीमा गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर त्यहाँबाट झापा, धनुषा, कैलाली, गोरखा हुँदै ललितपुरमा जेठ २४ गते ल्याइएको थियो । ती सबै जिल्लाहरूमा लगाइएका राजद्रोहलगायत मुद्दामा अदालतले छोड्ने आदेश दिए पनि नछोडी प्रहरीले गिरफ्तार गर्दै विभिन्न जिल्ला घुमाउँदै आएको छ ।

भुजेललाई २०७६ भदौ र असोजमा पनि सरकारले गिरफ्तार गरी विभिन्न मुद्दामा थुनामा राखेको थियो तर सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरण रिटबाट छोडिएको थियो । उनलाई राजनीतिक आस्थाका आधारमा पटकपटक गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर थुनामा राखिँदै आएको छ । भुजेल अन्तरिम विधायिका र संविधानसभाकी सदस्य रहिसकेकी नेकपा नेत्री हुन् । भुजेल जनयुद्धको समयमा चर्चित गोरखा जेल ब्रेककी कमान्डर पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :