रातो खबर आजदेखि ६ वर्षमा


काठमाडौँ : नेपालको जनपक्षीय सञ्चार/प्रकाशन/प्रसारण क्षेत्रमा विशिष्ट महत्व र स्थान राख्ने रातो खबर आरम्भ भएको ६ वर्ष भएको छ । रातो खबर साप्ताहिकको प्रकाशनबाट आरम्भ भएको हाम्रो यात्रा ६ वर्षमा रातो खबर साप्ताहिकका साथै ई–रातोखबर अनलाइन, दृष्टिकोण निर्माण मासिक, रातो खबर अनलाइन टीभीसम्म विस्तार र विकास भएको छ । चुनौतीपूर्ण घडीमा पनि हामीलाई साथ दिनुहुने, माया गर्नुहुने देशविदेशका न्यायप्रेमी, जनपक्षीय पाठक, लेखक, दर्शक, श्रोता, विज्ञापनदाता, समर्थक, शुभचिन्तक सबैमा हार्दिक धन्यवादका साथै न्यानो अभिवादन व्यक्त गर्दछौँ ।

रातो खबरको आरम्भ गर्दा हामी कठिन अवस्थाबाट अघि बढिरहेका थियौँ । संसदवादी सत्ताधारी राजनीतिक पार्टीहरू पलपलमा दलाल पुँजीवादका रूपमा पतीत भइरहेका, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न ज्वलन्त बनिरहेको, प्रजातान्त्रिक पार्टीका नाममा नेपाली काङ्ग्रेसलगायत यथास्थितिवादी/प्रतिक्रियावादी पार्टीहरू र कम्युनिस्ट आवरणमा एमाले–माओवादी केन्द्रले देशलाई पालैपालो प्रतिगमनतर्फ लगिरहेको अवस्था थियो । देश र जनता लुटिइरहेको टुलुटुलु हेरेर बस्ने वा निगम पुँजीवादका प्रायोजित र नियोजित घराना सञ्चारमाध्यमले फैलाएका भ्रमहरूलाई नै सत्य मान्नुपर्ने अवस्था आमजनसमुदायको थियो । देशमा महाभूकम्प गएर जनजीवन अस्तव्यस्त बनिरहेको र देश र जनताका पक्षमा अडिग भएर उभिएको राजनीतिक पार्टी नेपाल कम्युनिस्ट पार्टी भर्खर विस्तार हुँदै गरेको अवस्थामा देश र जनताको वास्तविक आवाज बनेर उदाएको थियो थियो रातो खबर । त्यस्तो प्रतिकूल अवस्थामा आरम्भ भएर रातो खबर अन्याय, शोषण र विभेदमा परेका जनता, श्रमिक वर्ग र जनसमुदायको ढुकढुकी बन्न सफल भयो । दलाल पुँजीवादी सत्ता र सरकारको लूट, भ्रष्टाचार, हत्या र व्यभिचारका बीभत्स एवम् विदीर्ण पलहरू र सत्ताआतङ्कले विक्षिप्त र पीडित जनताका आवाज गुन्जाउने, जनतासम्म पुर्याउने एक मात्र सशक्त सञ्चारमाध्यम बन्न सक्यो रातो खबर । हामी यसमा गर्व गर्छौं । जनविरोधी राज्यसत्ता र सरकारका जतिसुकै ठूला दमन र हत्याका काला दिनहरूमा पनि रातो खबरले डटेर सामना गर्यो । देश र जनताका पक्षमा रहेका सम्पूर्ण न्यायप्रेमीहरूका लागि यो गर्वको विषय हो । त्यसैले हामीले रातो खबरलाई रुसी क्रान्तिताका लेनिनले सम्पादन गर्नुभएको रुसी कम्युनिस्ट पार्टी बोल्सेबिकको आवाज बोक्ने ‘प्राब्दा’ वा ‘इस्क्रा’ को भूमिका निर्वाह गरेको लालपत्र पनि भन्ने गरेका छौँ र श्रमिक जनसमुदाय र न्यायप्रेमीहरूले यसलाई सत्य र यथार्थका रूपमा अवलम्बन गरेको पाएका छौँ ।

आज रातो खबर प्रकाशन गृहका रूपमा व्यवस्थित भएको छ । हामी सबैका लागि यो खुसीको कुरा हो । नेपाली भूमिमा श्रमिक वर्गको मुक्तिका लागि आरम्भ भएको एकीकृत जनक्रान्ति सफल भएर वैज्ञानिक समाजवाद स्थापना नहोउन्जेलसम्म हाम्रो यो प्रतिबद्धता, अठोट र क्रियाशीलता निरन्तर जारी रहने प्रतिबद्धता पुनः व्यक्त गर्दछौँ र विगतमा झैँ सत्ताबाट भएका जस्तासुकै चुनौती र व्यवधानहरूको सामना गर्दै अघि बढ्न प्रेरणा र सहयोग पाइरहने अपेक्षा राख्दै नववर्ष प्रवेशका अवसरमा सम्पूर्ण न्यायप्रेमीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

रातो खबर परिवार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :