नेकपाले लगायो रूपन्देही सैनामैनाको कालीरह खोला उत्खननमा रोक


काठमाडौँ : समानान्तर जनसत्ताको अभ्यास गरिरहेको विद्रोही नेपाल कम्युनिस्ट पार्टीअन्तर्गत जिल्ला जनपरिषद् रूपन्देहीले सैनामैना नगरपालिका वडा नं. ३ गङ्गानगरको कालीरह खोलामा बिनाप्रक्रिया राजनीतिक पक्षधरता, नातावाद र कृपावादका आधारमा अवैध ढङ्गले उत्खनन र दोहन गरेको भन्दै त्यसलाई रोक लगाएको छ ।

नेकपाको जिल्ला जनपरिषद्ले विज्ञप्ति जारी गरेर उक्त दोहन कार्य तत्काल रोक्न सूचना गरेको थियो । विज्ञप्ति र उक्त उत्खनन भइरहेको स्थान कालीरह खोलामा सूचना टाँसिएपछि उत्खनन रोकिएको छ ।

नेकपाको जनसत्ताले सूचना टाँस गरेपछि कालीरह खोलाको अवैध उत्खननकार्य रोकिएको स्थानीय पदमप्रसाद पाण्डेयले बताएका छन् । उनले प्रकृतिको उचित संरक्षण गर्नुको सट्टा केही माफियाहरूले उत्खनन तथा दोहन गरेर बदमासी गरेको बताए ।

परिषद्का प्रमुख जीवनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय गौरवको आयोजनाका नाममा भइरहेको गलत क्रियाकलाप तुरुन्त बन्द गर्न आग्रह गरेका थिए । विज्ञप्तिमा दोहन तत्काल नरोके त्यसको परिणामको जिम्मेवार सम्बन्धित पक्ष स्वयम् हुने कुराको चेतावनी पनि दिइएको थियो ।

नेकपा रूपन्देहीले प्रक्रिया नपुर्याईकनै मिलोमतोमा आयोजनाको काम स्थानिय जनप्रतिनिधिले आफ्नो मान्छेलाई दिएको, चुरे क्षेत्रमा जनतालाई असर पर्ने गरी प्राकृतिक स्रोत दोहन गरेको, चुरे क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन तथा निकासा निमावलीविपरीत एस्काभेटर प्रयोग गरेको, वातावरण पर्यावरण मूल्याङ्कन मापदण्डविपरीत सम्बन्धित स्थानीयको सहमतिको झूट्टा विवरण पेस गरेकोलगायत कारणले उत्खनन रोकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :