एमसीसीविरुद्ध नेकपाले टाँस्यो मन्त्रालयअगाडि पोस्टर


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले एमसीसी सम्झौता राष्ट्रघाती परियोजना भन्दै यसको खारेजीको माग राखेर बुटवल बजारमा पोस्टर टाँसेको छ । बुटवलको मुख्य चोक रहेको मिलनचोकमा पोस्टर टाँसिएको स्थानीयले बताएका छन् । उक्त पोस्टर टाँसिएको स्थान प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयअगाडिको स्थान हो ।

अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसद्बाट पारित गराउन प्रधानमन्त्री केपी वली, काङ्ग्रेस सभापति शेरबहादुर देउवाहरू मरिमेटेर लागेपछि उक्त कार्य राष्ट्रघाती भएको भन्दै सर्वत्र विरोध भैरहेको छ ।

उक्त विषयलाई लिएर सत्ताधारी पार्टीभित्र नै तीव्र विवाद र बहस जारी छ । केही समयपहिले संसद्मा केपी वलीले एमसीसी परियोजना झ्यालबाट नभई सीधै ढोकाबाट भित्रिने आशय व्यक्त गरेपछि उक्त परियोजना राष्ट्रघाती भएको भन्दै नेकपाका महासचिव विप्लवले विरोध गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए ।

उक्त कार्यक्रमअनुसार मुलुकका अन्य भागमा झैँ रूपन्देहीमा पनि नेकपाले सम्झौतापत्र जलाउने, मशाल जुलुस, पुतलादहन, पर्चा वितरण, विभिन्न स्थानमा कोणसभालगायत सङ्घर्षका कार्यक्रम गर्दै आएको थियो ।

रूपन्देहीमा विभिन्न राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, वकिल, प्राध्यापक, विद्यार्थी, लेखक, संस्कृतिकर्मी, नागरिक समाज एवम् विभिन्न सरोकारवालाहरूले यो सम्झौताको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :