तेस्रो विश्वयुद्धका रूपमा कोरोना भाइरस र द्वन्द्वको सम्बन्ध

१ .पृष्ठभूमि
२०७६ पुस २२ गते चीनको वुहानमा पत्ता लागेको नोबेल कोरोना भाइरस (कोभिड १९) ले आज विश्वभर महामारीका रूपमा त्रास फैलाइरहेको छ । डा. रमेश प्रसाईंका अनुसार कोरोना एउटा भाइरस हो । यो भाइरस पहिलोपटक चीनको वुहान सहरमा देखिएको थियो । यो भाइरस जब मानिसमा प्रवेश गर्छ तब मानिसमा रोगका विभिन्न लक्षणहरू देखापर्न थाल्छन् । पहिलो लक्षण व्यक्तिलाई अचानक १०२ डिग्रीभन्दा माथि ज्वरो आउँछ भने दोस्रो लक्षणमा दुई साताभित्रै श्वासप्रश्वासमा समस्या आउँछ । त्यस्तै तेस्रो लक्षण रातमा घन्टाघन्टामा एकोहोरो खोकी लागिरहन्छ । वर्तमान विश्वमा आमनागरिकहरूले कोरोना भाइरस (covid 19) नामक भयानक रोगविरुद्धको लडाइँ सामना गरिरहेका छन् । अनुभवबिना नै अचानक यो रोग देखापर्दा मृतक र सङ्क्रमितको सङ्ख्याको भरमा आशा भरोसामा जीवन निर्वाह गर्न साधारण नागरिकदेखि राष्ट्रपतिसम्मलाई बाध्य तुल्याएको छ भने द्वन्द्व सशस्त्रका सेना–प्रहरीबाट चिकित्सकको काँधमा जिम्मेवारी आइलागेको छ ।

वैचारिक रूपमा पुँजीवादी र समाजवादी दृष्टिकोणले विश्व दुई ध्रुवमा बाँडिन पुग्यो । पुँजीवादी र विकसित राष्ट्रहरूको चरम लापरबाहीले गर्दा रोकथाममा ध्यान पुर्याउन नसक्नु गम्भीर विषय बनेको छ जसको कारण लाखौँ सङ्क्रमित छन् भने हजारौँको सङ्ख्यामा मृत्यु स्वीकार गर्नुपरेको छ । त्यस्तै समाजवादी राष्ट्रको रोकथाममा ध्यान दिने साथै व्यवस्थित गर्ने र पहलकदमी चाल्ने पुँजीवादी राष्ट्रमा भन्दा अलि बढी देखियो चाहे लकडाउन गरेर होस् वा उत्तरकोरियामा गरिएको उपाय, जे होस् नियन्त्रण गर्न सफल देखिए । यस अर्थमा कुनै दृष्टिकोणलाई पक्षपात गरिएको छैन तथापि पुँजीवादी र समाजवादी दृष्टिकोणको द्वन्द्वमा कुनै शङ्का छैन ।

२. द्वन्द्व

समाज र प्रकृतिको हरेक अङ्गमा द्वन्द्व जीवित रहेको हुन्छ । द्वन्द्वबिना सामाजिक र प्राकृतिक जीवनको परिकल्पना पनि गर्न सकिँदैन । जीवनका लागि सङ्घर्ष अनिवार्य हुन्छ । प्रकृतिमा अनेक घटनाहरू भइरहेका हुन्छन् । ती सबै खासखास समयमा नियमअनुसार भइरहेका हुन्छन् । कार्ल माक्र्सको ‘संसारलाई बुझ्नु र बदल्नू’ भन्ने भनाइले यस्तै किसिमका घटनाहरूलाई चित्रण गर्दछ ।

अत: यो सङ्घर्ष अथवा द्वन्द्व मूलतः प्रकृतिको नियम र दिमागको विचारमा भर पर्दछ र ती फरकफरक विचार र वातावरणले अगाडिको गतिलाई निरन्तरता दिन्छ, त्यही नै द्वन्द्व हो ।

. कोरोना भाइरस (covid 19)

यो एउटा भाइरस हो जसले विश्वभर महामारीको आतङ्क फैलाइरहेको छ । मानव जगत्मा यो महामारी भने पहिलो र जति वर्तमान समयमा मिडियाद्वारा अति आतङ्कित गरिएको छ त्यो यथार्थ र साँचो भने होइन । साँचो र यथार्थ त के हो भने विगतमा देखिएका महामारीजस्तै यो पनि एउटा महामारी हो र त्यही ढङ्गबाट रोकथाम गर्न सके त्यति ठूलो हुने थिएन । त्यस्तै वर्तमान समयमा विश्व हरेक दृष्टिमा द्वन्द्वमा फसेको छ जसले गर्दा यो भाइरसले अस्त्रका रूपमा ग्रहण गर्न पुग्यो । तसर्थ मिडिया पनि जोडिनु स्वाभाविक छ ।

यतिबेला सिङ्गो विश्वले नै सर्वाधिक कठिन मोडको महसुस गरिरहेको छ । विश्व जगत्मा मानव विकाससँगै सङ्घर्षका अनेक भोगाइ समाजले भोग्दै आइरहेको छ । यी भोगाइ क्रमशः सन् १६५ देखि हालसम्म, प्लेगदेखि कोरोनाको नामकरण गरिएको छ । यी विविध महामारीमध्ये सन् १३१४-१३३५ मा देखिएको महामारी बुबोनिक प्लेग नामक भाइरसले झन्डै २० करोड मानिसहरूको ज्यान लिएको थियो भने पछिल्लो स्वाइन फ्लुले समेत २ लाखको ज्यान लिएको थियो । मानव विकाससँगै समाज विकासका कैयौँ चरणमा सङ्घर्षका अनेक रूप प्राकृतिक र कृत्रिम गरी मानव समाजले पचाउँदै वर्तमान परिवेशमा यो कोरोना सङ्कटको सामना गरिरहनुपरेको छ । आज यो कोरोना भाइरसको विषयलाई अनेक व्याख्या, विश्लेषण गरिएको छ । हामीले समाजमा यसलाई महामारीको हिसाबले हेर्दा आज जैविक युद्धको सामना हो भन्न सकिन्छ किनकि लडाइँ सामाजिक र प्राकृतिक दुवै हुन्छन् । कोरोना र यी दुवै लडाइँमा मानव जातिले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहभागी भई सङ्घर्ष भोगिरहेका हुन्छन् ।

४. लडाइँ कसरी ?

यो कोरोना एक किसिमको जैविक लडाइँ हो । यसलाई प्राकृतिक लडाइँ पनि भन्न सकिन्छ । मानवले मानवलाई शासन गर्न अपनाउने महाशक्तिशाली हतियार आज प्रकृति अस्त्रसँग फेल खान पुगेको छ । एकाएक मानव जीवनशैलीमा परिवर्तन देखिएको छ । पुँजीपतिहरूले पैसालाई पातबराबर पनि नसम्झी सडकमा फ्याँकेका छन् । लडाइँको अनुभूति सङ्कटकालमा भन्दा तगडा रूपमा अनुभूति गरिरहेका छन् । मानव एक्लै आएको एक्लै जाने हो । साथी भनेको यो भौतिक जीवनको. सहयात्री नै हुन् भन्ने अनुभूति पनि भएको छ । लासलाई छुन त के हेर्न पनि नपाइने जसले गर्दा सबै संस्कृति मानव निर्मित हुन् भन्ने कुरा दर्साएको छ । भौतिक संसारले अध्यात्मवादलाई हेर्ने दृष्टिकोणमा फरकपन आइरहेको छ । धनीले गरिबलाई र गरिबले पनि धनीलाई बुझ्ने अवसर जुरेको छ । लकडाउन अर्थात् आफूले आफूलाई प्रतिबन्धको तरिकाले कोरोना भाइरसविरुद्ध प्रतिरक्षात्मक युद्ध लडिरहेका छन् । ठूलाठूला क्षेप्यास्त्र भएका देश र शासकहरू उत्तानो परेका छन् । कति सामान्य व्यक्ति, उच्च व्यक्ति र विकसित राज्य यो लडाइँका निम्ति सर्वहारा वर्गमा चित्त बुझाउनुपर्ने स्थितिमा छन् । कसरी टिक्ने हो, अति कठिन भएको छ । पुँजीवादको घमण्ड गर्ने देशहरूले बढी क्षति बेहोर्नु परेको छ भने चीनको उद्गम थलो वुहानमा सङ्क्रमण घटेको समाचारमा सास फेर्नुपर्ने बाध्यता बनेको छ । विश्वका हरेक मानिसहरूले सङ्क्रमणको कस्टडी झेल्नु परेको छ । कोरोना भाइरसको त्रासका कारण सबैलाई घरघरमा र कोठाकोठामा बन्दी बनाएको छ । पुलिस, सेना, मन्त्री, राजा सबैलाई मुन्ट्याएर कायममा ल्याएको छ । अतः लडाइँ मानव–मानव नभएर मानव र प्रकृतिबीचको लडाइँ हो भन्न सकिन्छ ।

५.सीमा र हतियार

साम्राज्यवाद र विस्तारवादले तय गरेका सीमा आज तोडिन पुगेका छन् । यो सङ्कटको समयमा हरेक व्यक्ति जुन देश अर्थात् ठाउँमा रोकिएको छ, त्यही देश र ठाउँलाई नै घर र आफ्नोपन सम्झनुपर्ने बाध्यता छ । गरिब मुलुकमा सीमामा रोक्नुपर्ने प्रहरी र जनताबीचको व्यवहार हेर्दा राज्यको नाङ्गो हस्तक्षेपमाथि घृणा गर्नुपर्ने हर्कत देखिएको छ । हाम्रोजस्तो मुलुकमा चारैतर्फ पर्खाल अनि यही देशमा रोजगार अनि राम्रो शिक्षा, दीक्षा, भ्रष्टाचार र कालोबजारीमुक्त, स्वास्थ्यमा चिकित्सकहरूलाई निःशुल्क पढाइ हुन्थ्यो भने आज यो सङ्कटको समयलाई सामना गर्न कति सहज हुन्थ्यो तर यहाँ पुँजीवाद मात्र होइन, दलाल पुँजीवाद सबै मेडिकल दलालको थियो । त्यसैले गर्दा यो समयमा सहयोग गर्नुको सट्टा समस्या पर्दा सबै भागिरहेका छन् । राज्यको मेडिकल होइन अनि कसरी राज्यले नियन्त्रण गर्छ रु शान्तिकालमा लुटे, सङ्कटमा भागे तर चिकित्सकहरूले करोडौँ खर्च गरी पढे । आज त्यही राज्य सञ्चालकहरूले खुट्टा ढोग्दैछन् । त्यही पुँजीवाद दलालहरूलाई कलेज व्यक्तिगत रूपमा चलाउन दिनुपर्छ भन्ने झोलेहरू र अन्धभक्तहरूले गुहार्दैछन् । अचम्म लाग्छ तर आशा पनि छ यी अन्धभक्तहरूको दिमागमा पनि कुनै दिन बुद्धिको विकास हुनेछ कि ?

विश्व मानवलाई अधीनमा राख्न आदिम युगमा ढुङ्गा, मुढा, भालाद्वारा लडाइँ गरियो । समय बिस्तारै बदलिँदै गयो । त्यसपछि बन्दुक, खुकुरी र वाणहरूको आविष्कार गरियो । फेरि अटो हतियार, मेसिन गन, बम, लडाकु जहाज, मिसाइल पनि बनाइयो । त्यसैगरी २० औँ शताब्दीतिर आउँदा त आणविक हतियार, रोबर्ट हुँदै साइवर वारसम्म निर्माण गरेर मानव जातिलाई नियन्त्रण गरी केही मुठीभर पुँजीपतिले विश्वलाई कब्जा गरे र हाल यो जैविक वारको युग सुरु भयो भन्न सकिन्छ । त्यसैले यो भाइरस जैविक अस्त्र हो जुन सबैभन्दा खतरनाक साबित भइरहेको छ ।

६.धार्मिक लडाइँ

सदियौँदेखि चलिआएका धार्मिक सङ्गठनहरू यति बेला यो लडाइँमा नतमस्तक छन् । विगत मानव उत्पत्तिदेखि यिनीहरूले गरेको पाप यही कोरोना हो । मान्छेले मान्छेलाई जनावरको व्यवहार गर्न सिकाउने हिन्दु धर्म प्रमुख स्रोत ह्ुन पुग्यो । महाभारत, रामायणजस्ता कालखण्डबाट लड्न सिकाउने वर्णाश्रमद्वारा दलितलाईं दानव सम्झी मार्दा पाप नलाग्ने र विश्वमा राज गर्न तम्सने विकृति–विसङ्गति ठूला मान्छेद्वारा साना मान्छेको वर्गीकरण गर्ने कार्य गर्यो । यसैगरी क्रिस्चियन, मुस्लिमले धर्मका नाममा अनेक लडाइँ र रगतको खोला बगाए । त्यही प्रदूषणबाट यो कोरोनाको रोकथाम हुन सकेन । आज पास्चरले कोरोना भगायौँ भन्छ । अर्कोले हाँसोमा उडाउँछ । हिन्दु मर्छ, मुस्लिमले काज गर्छ । क्रिस्चियनले बाइबलद्वारा मन्त्र पढ्छ । बौद्धले घन्टी हल्लाउँछ । मुस्लिमले घोप्टो पर्न छोड्दैन इत्यादि । तथापि उनीहरूको आस्था होला तर यहाँ भन्न खोजेको कुरा त्यहाँ द्वन्द्व छ । द्वन्द्व गर्नभन्दा रोकथाम गर्नजस्तै उद्धार गर्न खोज्ने मानसिक चिन्तालाई प्रोत्साहन गर्ने, साँचो कार्य गर्न धर्मावलम्बीहरू पनि सच्चिन आवश्यक देखिन्छ ।

७. नेपाली समाजमा प्रभाव

सिङ्गो मानव जातिमाथि देखापरेको यो मानवीय सङ्कटलाई विश्व मानव जातिकै सदस्यको हिसाबले सोच्नुपर्दछ । जसरी अन्य महामारी फैलिएको छ र त्रास फैलिएको छ, त्यो विषय हाम्रो देशमा पनि कमी छैन । पुँजीवादी र समाजवादी दृष्टिकोणबाट संसारभरिका बुद्धीजीवी र विज्ञहरू दुई धु्रवमा जबर्जस्ती कित्ताबन्दी हुँदा हाम्रो देशमा पनि विज्ञहरू कलम चलाइरहेका छन् । एकथरी बुद्धिजीवीले पुँजीवादको असफलतालाई पुँजीवादी व्यवस्थाबाट मानिसहरूको आस्था नडगमगाओस् भनेर उदारवादी सोचाइसहितका विचारहरू प्रकट गरिरहेका छन् । लकडाउनको नीति विदेशीहरूले गरेको थाहा भएपछि मात्र नेपालमा अपनाइएको छ जब कि पहिलो सङ्क्रमितदेखि नवौँ सङ्क्रमित व्यक्तिको सङ्क्रमण विदेशबाट नेपाल आएपछि देखिएको हो । दिन–प्रतिदिन सङ्कटग्रस्त बन्दै गएको पुँजीवादको आर्थिक मन्दी र त्यसले निम्त्याएका अनेकौँ सङ्कटलाई कोरोनाको कारण देखाएर पुँजीवादको रक्षा गर्न कसिएका छन् । पुँजीवादको रक्षाकै लागि क्रिस्चियन पास्चरले दक्षिणकोरियामा सयौँलाई कोरोनाबाट सङ्क्रमित गर्ने कार्य गरियो । अमेरिका र विकसित पुँजिवादी राष्ट्रको चरम लापरबाहीले तिनको सिको गर्नलाई हाम्रो नेपालका मन्त्रीहरू पनि अछूतो रहेनन् । कोरोनाको कारणलाई देखाई स्वास्थ्यमन्त्री जस्ता जिम्मेवार व्यक्तिलाई चिकित्सकीय सामग्री आयात गर्ने सन्दर्भमा कालोबजारीको आरोप आउनु नेपाली जनताका लागि निकै दुःखद् विषय बनेको छ । सीमामा खुला हुनु राज्यको गल्ती हो तर एउटा गरिबले चामल ल्याउँदा सुरक्षाकर्मीले कुट्नु कति न्यायपूर्ण कार्य होला रु राज्यका मेडिकलहरूले कालोबजारी गर्नु र बिरामी परीक्षण गर्न नमान्नु यो पुँजीवादको नाङ्गो हस्तक्षेप नै हो । नेपालको राजाले २ करोड र धनाढ्य विनोद चौधरी, सुमार्गी र चन्द्र ढकालजस्ता व्यक्तिहरू मिलेर १ करोडका दरले छारो हाल्नु दुःखद् विषय हुन् । पुँजीवादले मरे पनि शोषण गर्छ भन्ने कुरा प्रस्ट छ । पुँजीवादले मानवताका पक्षमा वकालत गर्दैन भन्ने कुरा नेपालका पुँजीपतिहरूले आफ्नो चरित्रबाट नै देखाएका छन् । श्रमजीवी वर्ग, सिपाही, प्रहरी र चिकित्सकलाई जबर्जस्ती कज्याइएको छ जुन वर्ग आफैँमा सुरक्षित छैनन् । बझाङमा चैताली मेला नियन्त्रण नगर्नु, मन्त्रिपरिषद्ले आफैँ नियमको उल्लङ्घन गर्नु र लकडाउनको अवज्ञा गरेको भन्दै सर्वसाधारणलाई एउटै भ्यानमा बाख्रा कोचेजस्तो व्यवहार देखाउनु यो राज्यको पुँजीपति वर्गको चरित्र हो भन्न सकिन्छ ।

८.निष्कर्ष

कोरोना भाइरस एउटा महामारी हो । यसलाई जैविक लडाइँ पनि भन्न सकिन्छ । यसको पहिचान, क्षति र रोकथामका विषय मुख्य हुन् । यो लडाइँ प्रकृति र मानवबीच चल्ने हुँदा समग्र मानवशक्ति नतमस्तक बनेको छ र यसका विरुद्ध एक भई लड्नुपर्ने चुनौती छ । यो लडाइँले विश्व समाजलाई समाजवादी र पुँजीवादी गरी दुई ध्रुवमा बाँडिदिएको छ । समाजवादी राष्ट्र पुँजीवादी राष्ट्रभन्दा असल चरित्र साबित भएको अनुभूति गर्न सकिन्छ । यो केवल प्राकृतिक मात्र होइन, मानवसिर्जित प्रकृतिको परिणाम पनि हो । आजको विश्व व्यवस्थाको मूल्य र मान्यता बोकेको राजनीतिक प्रणाली रहँदासम्म मानव जातिले बेहोर्नुपर्ने यसखाले महासङ्कटको कोटा त्यति सामान्य छैन । यो सङ्कटले हामीलाई यस्तो पाठ सिकाएको छ– मानव मानव भएर बाच्न सिकौँ जसमा नयाँ विश्वको परिकल्पना गरियोस्, नयाँ राजनीतिक प्रणाली र नयाँ मानव–ज्ञानसहितको सामाजिक व्यवस्था कायम होस् । प्रकृतिको हमलालाई पुँजीवादले प्रतिरोध गर्न सकेन र आज आमनागरिक कोरोना भाइरसको आक्रमणमा परेका छन् । अतः कोरोना भाइरस प्रतिरोधका लागि स्वास्थ्य परीक्षणको सुविधा जनताको पहुँचसम्म पुर्याउनुपर्ने, आमनागरिकलाई खानपानको व्यवस्था गर्नुपर्ने, सुरक्षासामग्री यथाशीघ्र उपलब्ध गराउनुपर्ने, कालोबजारी रोक्नुपर्ने व्यवस्थाप्रति सचेत नागरिक र सम्बन्धित राज्य खटिनुपर्ने, देशमा भएका सम्पूर्ण मेडिकलहरूलाई राज्यले हातमा लिई अबउप्रान्त निःशुल्क चिकित्सा शिक्षाको व्यवस्था गरी डाक्टरको उत्पादनमा जोड दिने, सीमामा पर्खाल लगाई No mans land को भूमि कायम गर्ने जस्ता कार्यनिति अपनाई एकताबद्ध हुदै पुँजीवादको विकल्पमा समाजवादको यात्रा तय गर्नु यो नै मानवजातिको सुन्दर भविष्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :