एमसीसीविरुद्ध काठमाडौँलगायत देशभर निकालियो मशाल जुलुस


काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध काठमाडौँलगायत देशभर मशाल जुलुुस निकालिएको छ । काठमाडौँमा मात्रै एक दर्जनभन्दा बढी ठाउँमा मशाल जुलुस निकालिएको समाचारमा जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत काठमाडौँका विभिन्न ठाउँमा एमसीसीका विरुद्ध पर्चा छर्नुका साथै मशाल जुलुस निकालिएको हो । जेठ १९ र २० गते देशैभरि सम्झौता जलाउने, २१ गते सम्झौताका नेपाली ठेकेदार प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतला जलाउने र २२ गते पर्चा वितरण गरी मशाल जलाउने कार्यसूचीअनुसार शुक्रबार काठमाडौँका गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहराको बाबाचोक, दक्षिणकाली नगरपालिकाको राम्चेभञ्ज्याङ र शीतलचोकका साथै महानगरपालिकाका बानेश्वर, नयाँ बसपार्क, र सानोभर्याङमा मशाल जुलुस निकालिएको नेकपा स्रोतले जनाएको छ ।

वली सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको एमसीसी सम्झौताले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्ध गम्भीर राष्ट्रघात गर्ने आपराधिक कार्य हुने भएकाले त्यसका विरुद्ध मशाल जुलुस निकालिएको नेकपाले जनाएको छ ।

लकडाउन र प्रतिबन्धलाई पनि वास्ता नगरी पार्टी समिति, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता र स्थानीय देशभक्त जनताको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको नेकपा काठमाडौँले जनाएको छ ।

पार्टीस्रोतका अनुसार मशाल जुलुस निकाल्नुका साथै पर्चाहरू पनि छरिएको थियो । कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! सम्पूर्ण देशभक्त र राष्ट्रवादीहरू एक हौँ ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! वीर सहिदहरू लालसलाम ! कोरोनाको बहानामा भएको भ्रष्टाचार र राष्ट्रघात बन्द गर ! एकीकृत जनक्रान्ति जिन्दावादलगायत नाराहरू लगाइएको थियो ।

जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौँमा बाल्यो मशाल

नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले बिहीबार काठमाडौँमा मशाल बालेको छ ।

काठमाडौँको मनमैजुमा सङ्गीनको नेतृत्वमा, चाबहिल गोपीकृष्ण हलपछाडि निश्चलको नेतुत्वमा, टोखा, भत्केको पुलमा दीपक रानाको नेतृत्वमा, वसुन्धरामा सफलको नेतृत्वमा, चण्डोलमा क्रान्तिको नेतृत्वमा मशाल जुलुस निकालिएको जनाइएको छ ।

उक्त अवसरमा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सम्पूर्ण देशभक्त र राष्ट्रप्रेमी एक हौँ, केपी वली–शेरबहादुर देउवा गठबन्धन मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावादलगायत नारा लगाइउको प्राप्त समाचारमा उल्लेख छ ।

चितवनमा मशाल जुलुस

नेकपा निकट युवा सङ्गठनले अमेरिकी परियोजना एमसीसीका विरुद्ध आज चितवन भरतपुर महानगरपालिकाको चाैबिसकाेठीचाेकमा र भरतपुर महानगरपालिका वडा नं. १८ को चाँदनीचोकदेखि बसन्तचोकसम्म मशाल जुलुस प्रदर्शन गरेको छ । मशाल जुलुसको नेतृत्व युवा सङ्गठन भरतपुर महानगरपालिकाका अध्यक्ष राजु श्रेष्ठले गरेका थिए ।

त्यसैगरी राप्ती नगरपालिकाको वडा नं. १० खहरेमा पनि मशाल जुलुस प्रदर्शन गरिएको समाचार प्राप्त भएको छ । त्यसैगरी राप्ती नगरपालिका वडा नं. १ परेवाकोटमा अखिल (क्रान्तिकारी) का संयोजक रेम्बोर्जे लामाको नेतृत्वमा भव्य मशाल जुलुस प्रदर्शन गरिएको छ । त्यसैगरी मकवानपुर जिल्लाको मनहरीमा पनि मशाल जुलुस निकालिएको समाचार प्राप्त भएको छ ।

दैलेखमा मशाल जुलुस भव्य

नेपाल कम्युनिस्ट पार्टी दैलेखले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध मशाल जुलुस निकालेको छ ।

मशाल जुलुसपछि आयोजित कार्यक्रमा नेकपा दैलेखका नेताहरुले प्रश्न गरे– सामाजिक दलाल केपी सरकारले संसद्बाट पास गराउन खोजेको सम्झौताले नेपाली जनतालाई साम्राज्यवादको गुलाम बनाउने र नेपालको सार्वभौमिकता र स्वाधीनता खतरामा पार्ने कुरा बुझेर पनि सरकार न्वारनदेखिको बल लगाएर सम्झौता पास गर्न किन खोज्दैछ ? आज हरेक देशभक्तहरू, सच्चा वामपन्थीहरू, लोकतान्त्रिक शक्तिको मनमा प्रश्न र आक्रोश पैदा भएको छ ।

उनीहरुले भने– एकातिर कोरोनाको महामारी दिन–प्रतिदिन बढ्दै गएको छ भने अर्कातिर एमसीसी सम्झौता पास हुने चर्चाले आन्दोलन गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।

कार्यक्रममा सामाजिक दलाल केपी सरकार मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी सझौता खारेज गरलगायत नारा लगाइएको थियो ।


कैलालीमा निकालियो मशाल जुलुस

जिल्लको घोडाघोडी ७ हरिनगरमा युवा सङ्गठन नेपाल कैलाली र घोडाघोडी नगर पार्टीको संयुक्त आयोजनामा एमसीसी परियोजनाविरुद्ध मशाल जुलुस निकालिएको समाचार प्राप्त भएको छ ।

एमसीसीको विरोधमा बुटवलमा नेकपाको मशाल जुुलुस

अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै व्यापक विरोध भैरहेको बेला बिहीबार नेपाल कम्युनिस्ट पार्टीले सडकमा मशाल जुलुस गरेर विरोध प्रदर्शन गरेको छ ।

रूपन्देहीका ३ क्षेत्रमा भएको मशाल जुलुसमा एमसीसीलाई कुनै हालतमा पास गर्न नदिने उद्घोषसहित विरोधसभासमेत भएको थियो । बुटवल, सैनामैना र देवदहमा छुट्टाछुट्टै प्रदर्शन भएका थिए । हातमा मशाल बोकेका युवा, विद्यार्थी तथा आमजनतालेएमसीसी पास गर्न नदिने गरी आन्दोलनमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

यस्तै लुम्बिनीका कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, अर्घाखाँची, पाल्पालगायत जिल्लामा पनि मशाल जुलुसहरू भएका समाचारहरू प्राप्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :