राष्ट्रघाती परियोजना एमसीसीविरुद्ध सङ्घर्ष


काठमाडौँ : सत्तारूढ पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा वली अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदबाट पारित गराउन मरिमेटेर लागेपछि उक्त कार्य राष्ट्रघाती भएको भन्दै सर्वत्र विरोध भैरहेको छ ।

उक्त विषयलाई लिएर सत्ताधारी पाटीभित्र नै तीव्र विवाद र बहस जारी छ । केही समयपहिले संसदमा केपी वलीले एमसीसी परियोजना झ्यालबाट नभै सीधै ढोकाबाट भित्रिने आशय व्यक्त गरेपछि उक्त परियोजना राष्ट्रघाती भएको भन्दै सरकारी नेकपाको सचिवालयका बहुमत सदस्यहरू यसको विपक्षमा उभिए । पार्टीको सचिवालयमा वली करिबकरिब एक्लै परेपछि उनी अहिले नेपाली काङ्ग्रेसको बलमा एमसीसी सदनबाट पारित गर्ने अभियानमा तीव्र रूपले लागेका छन् । एमसीसी परियोजना पारित गरिए त्यो देशका लागि गम्भीर घात हुने भन्दै सरकारी नेकपाकै भीम रावल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरू खुलै रूपमा यसको विरोधमा लागेका छन् ।

एमसीसीको विषयलाई लिएर नेकपा विभाजन हुनेसम्मको अवस्थामा पुगेको र बाहिर आमजनतामा पनि एमसीसीप्रतिको नकारात्मक धारणा निर्माण भैससकेको बेला प्रधानमन्त्री वली भने जसरी पनि एमसीसी पारित गर्ने ध्याउन्नमा लागेका छन् ।

राष्ट्रघाती साम्राज्यवादी परियोजना एमसीसी पारित भए देशमा साम्राज्यवाद भौतिक रूपमै सीधै हावी हुने र राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा पर्ने भन्दै विद्रोही नेकपाले विभिन्नखाले आन्दोलनका कार्यक्रमहरू गर्दै आइरहेको छ । नेकपाका महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गरेका छन् । महासचिव विप्लवले वक्तव्य जारी गरी एमसीसीविरुद्ध विभिन्न प्रचारात्मक सङ्घर्षका कार्यक्रम घोषणा गर्दै आमहडतालसम्म गरिने जनाएका छन् । विप्लवले जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध पनि गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीले यसको सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् । प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी पनि महासचिव विप्लवले दिएका छन् ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नेकपाले विभिन्न कार्यक्रम गरिरहेको छ । यही जेठ १९ र २० गते एमसीसी सम्झौता जलाएको नेकपाले २१ गते देशैभरि शेरबहादुर देउवा र केपी वलीको पुतलादहन गरेको छ भने २२ गते देशैभरि पर्चा वितरण र बेलुका मशाल जुलुस सम्पन्न गरेको छ । यस्तै जेठ २८ गते पोस्टर वितरण गर्ने, एमसीसी परियोजना राष्ट्रघाती भएको र उक्त योजना पारित नगर्न दबाब दिने कार्यक्रम नेकपाले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :