अध्यक्ष ढकालको रिहाइ माग गर्दै अखिल क्रान्तिकारीले गर्यो सङ्घर्ष घोषणा


काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालको रिहाइको माग गर्दै सङ्घर्ष घोषणा गरेको छ । सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा कालो ब्यानर राख्नेदेखि लिएर देशव्यापी मशाल जुलुस निकाल्नेसम्मका सङ्घर्ष घोषणा गरेका हुन् ।

उपाध्यक्ष भट्टराईको विज्ञप्तिमा लेखिएको छ, ‘केपी वली नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारको आगमनपछि देशभक्त, क्रान्तिकारी शक्तिहरूलाई प्रतिबन्धित गर्ने, छानीछानी गिरफ्तार गर्ने, यातना दिने र जबर्जस्ती आफ्ना अड्डाअदालत, प्रहरी प्रशासनको प्रयोग गरी षड्यन्त्रपूर्वक झूटा मुद्दामा फसाउनेजस्ता निन्दनीय र अमानवीय कार्य गर्दै आएको छ । यसको जति निन्दा गरे पनि अपुग हुन्छ ।’

उनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यसैगरी हिजो (जेठ २१ गते) दिउँसो रुकुम नरसंहारविरुद्धमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुँदा माइतीघर मण्डलाबाट हाम्रो सङ्गठनका केन्द्रीय अध्यक्ष कामरेड चिरञ्जीवी ढकाललाई प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । यसरी राजनीतिक आस्था राखेको आधारमा गरिएको गैरन्यायिक गिरफ्तारीको हाम्रो सङ्गठन घोर भत्र्सना गर्दै बिनासर्त अविलम्ब रिहाइको माग गर्दछ ।’
सङ्गठनले घोषणा गरेको सङ्घर्षको कार्यक्रम यसप्रकार छ :

१. २०७७ जेठ २३ गते सामाजिक सञ्जालमा कालो ब्यानर राख्ने ।
२. २०७७ जेठ २५ गते गैरन्यायिक गिरफ्तारीका विषयमा सामाजिक सञ्जालमार्फत अन्तरक्रिया गर्ने ।
३) २०७७ जेठ २७ गते व्यक्तिगत दूरी कायम राख्दै सम्पूर्ण जिल्लामा कोणसभा गर्ने ।
४. २०७७ जेठ २९ गते व्यक्तिगत दूरी कायम राख्दै देशव्यापी मशाल जुलुस निकाल्ने । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :