नेकपाद्वारा एमसीसीविरुद्ध देशव्यापी पोस्टरिङको तयारी

देशभर मशाल जुलुससहित कोणसभा गरी वली–देउवाको पुतला जलाइयो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले संसारभर बदनाम तथा राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोसन (एमसीसी) विरुद्ध देशव्यापी प्रचारका लागि पोस्टर तयार पारेको छ ।

पार्टी केन्द्रीय समितिका तर्फबाट महासचिव विप्लवले जेठ १८ गते वक्तव्य जारी गर्दै एमसीसीविरुद्ध सङ्घर्ष घोषणा गरेका थिए । पार्टी महासचिव विप्लवले २०७७ जेठ १९ र २० गते देशव्यापी एमसीसी सम्झौता जलाउने, २०७७ जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाउने, २०७७ जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, २०७७ जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गर्ने सङ्घर्षका कार्यक्रम घोषणा गरेका थिए । केन्द्रीय कार्यक्रमअनुसार जेठ २८ गते देशव्यापी प्रचारका लागि पोस्टर तयार गरिएको हो ।

कार्यक्रमअनुसार १९ र २० गते देशव्यापी एमसीसी सम्झौता जलाउने काम सम्पन्न भइसकेको छ । त्यसैगरी २१ गते केपी र शेरबहादुर देउवाको पुतला पनि जलाइएको छ । २२ गते देशव्यापी पर्चा वितरण भइरहेको छ भने बेलुका देशभर मशाल जुलुसको तयारी भएको समाचार प्राप्त भएको छ ।

सङ्घषर्पका कार्यक्रम सार्वजनिक गर्दै महासचिव विप्लवले भनेका थिए, ‘नेपालका आमनागरिक, देशभक्त, बुद्धिजीवी र राजनीतिक पार्टीहरूले निरन्तर विरोध गर्दै रोकिँदै आएको अमेरिकी अतिक्रमणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको विषयप्रति हाम्रो पार्टीको ध्यान गम्भीर प्रकारले आकर्षित भएको छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ ।’

महासचिव विप्लवले वक्तव्यमा भनेका थिए, ‘हामी एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गर्दछौँ । यदि जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध गर्दछौँ । साथै नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिन चाहन्छ । त्यसबाट पैदा हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने पनि स्पष्ट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :