दाङ, विशेष जिल्ला, मकवानपुर, कालीकोट र जाजरकोटमा वली र देउवाको पुतला जलाइयो


काठमाडौँ : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध चरणबद्ध सङ्घर्ष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रूपमा केपी वली र शेरबहादुर देउवाको पुतला जलाएको छ ।

अमेरिकी अतिक्रमणकारी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको भन्दै दाङका विभिन्न ठाउँमा, विशेष जिल्ला, जाजरकोट, कालीकोट, दैलेख, नवलपुर, स्याङ्जालगायत देशका विभिन्न भागमा नेकपाले केपी र शेरबहादुर देउवाको पुतला जलाएको प्राप्त समाचारमा जनाइएको छ ।

दाङका तुलसीपुर, बिजौरी, नारायणपुर, घोराही, लमही र विशेष जिल्लाका दुई ठाउँमा एमसीसी पास नगर्न चेतावनीस्वरूप केपी र शेरबहादुर देउवाको पुतला जलाइएको हो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी कालीकोटले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध केपी वली र शेरबहादुर देउवाको पुतलादहन गरेको छ । सिङ्गो नेपालका बुद्धिजीवी, नागरिक, पत्रकार, विभिन्न राजनीतिक दल, स्वतन्त्र व्यक्तित्व, कानुनविद्लगायत देशभक्तहरुको विरोध हुँदाहुँदै केपी वली र शेरबहादुर देउवाको सक्रियतामा एमसीसी सम्झौतालाई वैधानिकता दिने खेल चलिरहेको भन्दै वली र देउवाको पुतलादहन गरिएको नेकपाले जनाएको छ ।

लिपुलेकको नाटकीय खेललगत्तै एमसीसी प्रकरण सुरु गर्नु भनेको भारत र अमेरिकाको खेल अन्ततः एमसीसी पास गराउनु नै हो । त्यसैले कुनै पनि हालतमा एमसीसी पास गराइए नेपाल युद्धमैदानमा परिणत हुने नेकपा कालीकोटका सेक्रेटरी रणदीपले बताए । लकडाउनको मौका पारेर गरिने राष्ट्रघाती सम्झौताका विरुद्ध लकडाउन बाधा नहुने र आवश्यक परे सडकमा उत्रने चेतावनी सेक्रेटरी रणदीपले दिए ।

कालीकोट एरिया नम्बर ४ पचालझरनालगायत जिल्लाका सबै क्षेत्रहरुमा केपी वली र शेरबहादुर देउवाको पुतलादहन गरिएको नेकपा कालीकोटले जनाएको छ । जेठ १९ र २० गते नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी एमसीसी सम्झौतापत्र जलाएको थियो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी मकवानपुर उपमहानगरपालिका वडा नं. १६ ले सामाजिक दलाल केपी सरकारले संसद्बाट पास गराउन खोजेको राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बुधबार केपी वली र शेरबहादुर देउवाको पुतला जलाएको छ ।

यसअघि नै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सरकारी पार्टीलाई आग्रह गर्दै सङ्घर्षको घोषणा गरेका थिए । महासचिव विप्लवले केन्द्रीय समितिका तर्फबाट वक्तव्य जारी गरी एमसीसीविरुद्ध विभिन्न प्रचारात्मक सङ्घर्षका कार्यक्रम घोषणा गर्दै आमहडतालसम्म गर्ने जनाएका थिए । विप्लवले जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध पनि गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीले यसको सशक्त प्रतिरोध गर्ने र प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद् र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी पनि महासचिव विप्लवले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :