ललितपुर, रूपन्देही, नवलपुर र दैलेखमा पनि जलाइयो वली र देउवाको पुतला


काठमाडौँ : राष्ट्रिय हितविपरीत विवादित एमसीसी परियोजना पास गराएर नेपाललाई पराधीन बनाउन लागेको भन्दै नेकपाले यसको विरोधमा लगातार आन्दोलन गरिरहेको छ । नेकपाको केन्द्रीय कार्यक्रमअनुसार देशैभर देउवा र वलीको पुतलादहन गरिएको छ । प्राप्त पछिल्लो समाचारअनुसार ललितपुर, रूपन्देही, नवलपुर र दैलेखमा पनि वली र देउवाको पुतला जलाइएको छ ।

ललितपुर

केपी–पीकेको कथित कम्युनिस्ट सरकारले संसद्बाट पारित गर्न थालेको राष्ट्रघाती सम्झौता एमसीसीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी ललितपुरले केपी वली र शेरबहादुर देउवाको पुतला जलाएको समाचार प्राप्त भएको छ ।

पार्टी केन्द्रले घोषणा गरेको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी ललितपुरले २१ गते जिल्लाका विभिन्न ठाउँमा उक्त राष्ट्रघाती सम्झौता एमसीसीको सम्झौतापत्रसहित संसद्बाट पारित गर्न खोज्ने केपी वली र शेरबहादुर देउवालाई राष्ट्रघाती घोषणा गर्दै दुवैजनाको पुतला बनाएर आगो लगाइएको हो ।

कार्यक्रममा जिल्ला पार्टीका नेताहरूका साथै विभिन्न जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यहरू र जनसमुदायको समेत उल्लेख्य उपस्थिति रहेको प्राप्त समाचारमा जनाइएको छ ।

रूपन्देही र नवलपुर

यसैगरी अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै व्यापक विरोध भैरहेको बेला नेपाल कम्युनिस्ट पार्टी रूपन्देही र नवलपुरले पनि बुधबार प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतलादहन गरेका छन् ।

अमेरिकाको दलाल बनेको भन्दै दुवैजनाको तस्बिर अङ्कित साङ्केतिक पुतला बनाएर दहन गरिएको समाचारमा जनाइएको छ ।

रूपन्देहीको सैनामैना र तिलोत्तमाको कान्छीबजार चोकमा सयौँ जनसमुदायको उपस्थितिमा एमसीसी पारित गराउन नेतृत्व गरिरहेका दुई दलका मुख्य नेताहरूको पुतलादहन जानकारी गरिएको नेकपाका एक जिल्ला नेताले दिए ।

यता नवलपुरस्थित कावासोतीमा पनि वली र देउवाको पुतला दहन गरिएको छ । पुतलादहन गर्नुअगाडि नवलपुरका जिल्ला सेक्रेटरीले कुनै हालतमा एमसीसी पास गराउन नहुने भन्दै त्यसलाई खारेज गर्न जनस्तरबाट उठ्नुपर्ने बताएका थिए ।

दैलेख

नेपाल कम्युनिस्ट पार्टी दैलेखले सामाजिक दलाल केपी सरकारले संसद्बाट पास गराउन खोजेको राष्ट्रघाती एमसीसी परियोजनाको विरोध गर्दै पार्टीको केन्द्रीय कार्यक्रमअनुसार प्रधानमन्त्री केपी वली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको पुतला जलाएको छ । नेपालका सच्चा वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूले एमसीसी परियोजनाको विरोध गरिरहेको समयमा संसद्बाट पारित गराउने खेल भइरहेको भन्दै जिल्लाभरि दुवैजनाको पुतलादहन गरिएको समाचारमा जनाइएको छ ।

जिल्लाका आठबिस नगरपालिकाको कार्यक्रममा सुदर्शन र प्रकाश, ठाँटीकाँध गाउँपालिककामा सङ्केत र लालबहादुर भण्डारीको नेतृत्वमा पुतला जलाइएको समाचारमा जनाइएको छ ।

कार्यक्रमका वक्ताहरूले नेपाली जनता कोरोना महामारी, रोग र भोकसँग लडिरहेको बेलामा नेपाल र नेपाली जनताका विरुद्ध राष्ट्रघाती एमसीसी सम्झौता पास गरेर राष्ट्रघात गरेमा नेपाली जनताले दलाल शासकहरूलाई नछोड्ने चेतावनी दिएका थिए । कार्यक्रममा सरकारविरुद्ध चर्का नारा लगाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :