काठमाडौँ, ताम्सालिङ, कैलालीलगायत देशैभर वली र देउवाको पुतलादहन

काठमाडौँ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपाल र नेपाली जनताको हितविपरित भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले बुधबार देशैभर प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतलादहन गरेको छ ।
कोरोना भाइरस महामारीका कारण देशैभर लकडाउन चलिरहेको समयमा पनि नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न सहर र जिल्लाहरूमा वली र देउवाको पुतलादहन गरिएको जनाएको छ ।

यता नेकपा निकट अखिल क्रान्तिकारी जिल्ला समिति काठमाडौँले चन्द्रागिरि, कीर्तिपुर, दक्षिणकाली, तारकेश्वर, टोखा, बूढानीलकण्ठ नगरपालिकाका साथै महानगरपालिकाका जडीबुटी, कलङ्की र ठमेलमा वली र देउवाको पुतलादहन गरेको खबर प्राप्त भएको छ ।

केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको एमसीसी सम्झौताका मुख्य मतियार यिनीहरू नै भएको र एमसीसी सम्झौताले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्ध गम्भीर राष्ट्रघात गर्ने भएकाले यस्तो आपराधिक कार्यको नेतृत्व गर्ने वली र देउवाको पुतला जलाइएको क्रान्तिकारीको काठमाडौँ जिल्ला कार्यालयले जनाएको छ । लकडाउन र प्रतिबन्धलाई पनि वास्ता नगरी पार्टी समिति, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता र स्थानीय देशभक्त जनताको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको समाचार छ ।

समाचार स्रोतका अनुसार पुतलादहनसँगै राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! सम्पूर्ण देशभक्त र राष्ट्रवादीहरू एक हौँ ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! वीर सहिदहरू लालसलाम ! कोरोनाको बहानामा भएको भ्रष्टाचार र राष्ट्रघात बन्द गर ! एकीकृत जनक्रान्ति जिन्दावाद ! लगायत नाराहरू पनि लगाइएको थियो ।यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी ताम्सालिङ ब्युरोअन्तर्गत सबै जिल्लामा एमसीसी परियोजना पारित गराउन लागिपरेका वली र देउवाको पुतला जलाइएको समाचार ब्युरो कार्यालयले दिएको छ ।

समाचारअनुसार पार्टीको केन्द्रीय कार्यक्रमअनुसार काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा वली र देउवाको पुतला जलाइएको हो । कार्यक्रममा नेकपाका ताम्सालिङ ब्युरो इन्चार्ज, पार्टीका सम्बन्धित जिल्ला इन्चार्ज, सेक्रेटरी, जनसरकार प्रमुख, युवा सङ्गठन, विभिन्न जनवर्गीय सङ्गठनका नेतृत्वसहित जनताको व्यापक उपस्थिति रहेको समाचारमा जनाइएको छ । कार्यक्रममा एमसीसी र सरकारविारुद्ध गगनभेदी नाराहरु पनि लगाइएको थियो । यसैबीच नेपाल कम्युनिस्ट पार्टी कैलालीले नेपालमा अमेरिकी परियोजना एमसीसी प्रधानमन्त्री केपी शर्मा वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा सदनबाट पास गराउन खोजिएको भन्दै नेकपा कैलालीले वली र देउवाको पुतलादहन गरेको छ । जिल्लाका बर्दगोरिया, जोशीपुर गाउँपालिका, गौरीगङ्गा, गोदावरी र धनगढी नगर समितिले वली र देउवाको पुतलादहन गरेको नेकपा कैलालीले जनाएको छ ।

नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ मा हस्ताक्षर भएको उक्त सम्झौता २०७५ पुस ३ गते नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो–प्यासिफिक रणनीति –आईपीएस) मा हस्ताक्षर गरेपछि एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) को प्रस्ताव बाहिर आएको थियो । यो प्रस्ताव हिन्द–प्रशान्त रणनीतिअन्तर्गत अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित रहेको भन्दै देशभर विरोध भइरहेको छ । यसै सन्दर्भमा नेकपा कैलालीले देशको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एमसीसी घातक रहेको भन्दै विरोध गरेको छ ।

यसैबीच नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको आयोजनामा काठमाडौँको महाराजगन्जमा वली र देउवाको पुतलादहन गरिएको समाचार छ । महाराजगञ्जमा निश्चल थापा, डल्लुमा प्रतीक अधिकारी, वसुन्धारामा दीपक राना, कपुरधारामा सफल र सुकेधारामा सङ्गीनको नेतृत्वमा प्रधानमन्त्री र काङ्ग्रेस सभापतिको पुतलादहन गरिएको सम्पर्क मञ्चले जनाएको छ ।

यस्तै दाङ, चितवन, रुकुम, रोल्पा, कालीकोट, अछाम, पोखरालगायत देशैभर प्रधानमन्त्री र शेरबहादुर देउवाको पुतलादहन गरिएको समाचार नेकपा स्रोतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :