कोरोनबाट मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति देऊ : नेकपा


काठमाडौँ : नेकपा दैलेखले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेको छ । नेकपा दैलेखका इन्चार्ज दीपेन्द्रले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । उनले कोरोनाबाट मृत्यु भएका जिल्लाको दुल्लु नगरपालिका कालभैरवका युवाप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेका छन् ।

प्रेस विज्ञप्तिमा दीपेन्द्रले भनेका छन्, ‘नेपालमा कोरोना महामारी दिन–प्रतिदिन बढ्दै गएको छ । आजको मितिसम्म १,५६७ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण अहिलेसम्म देशैभरि ८ जनाले ज्यान गुमाएका छन् । हजारौँ मानिसहरू आइसोलेसन, लाखौँ मानिसहरू क्वारेन्टाइनमा छन् । पछिल्लो चरणमा कर्णाली प्रदेशमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । दैलेखमा कर्णाली प्रदेशका अन्य जिल्लाहरूभन्दा बढी सङ्क्रमित रहेका छन् । कर्णाली प्रदेशको पहिलो सङ्क्रमित र कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति पनि दैलेख जिल्लाका हुन् । कर्णालीको पहिलो सङ्क्रमित युवाको सुर्खेतमा आइसोलेसनमा उपचार भइरहेको छ भने भारतबाट केही समयअगाडि आएका दुल्लु नगरपालिका कालभैरवका एक युवकको क्वारेन्टाइनमा मृत्यु भएको छ । भारतमा रोजगारीका लागि गएकाहरू घर फर्किने क्रमसँगै कोरोना सङ्क्रमण पनि बढिरहेको छ । लकडाउन र कोरोनाका कारण जनजीवन असाध्यै कष्टकर बनेको छ । महँगी, कालोबजारी र मूल्यवृद्धि आकासिँदै गएको छ ।’

उनले विज्ञप्तिमा भनेका छन्, ‘एकातिर कोरोनाका कारण रोजगारविहीन हुनुपर्ने र अर्कोतिर महँगी र मूल्यवृद्धिले जनतालाई पीडा थपेको छ । मजदुरी गरेर खाने जनताहरू भोकै मर्नुपर्ने अवस्थामा पुगेका छन् । क्वारेन्टाइनमा बस्नेहरूको खाने र सुत्ने व्यवस्था राम्रो छैन । कतिपय ठाउँमा चर्पी र पानीको अभाव भएको कुरा आएका छन् । सरसफाइमा ध्यान दिइएको छैन । कोरोना सङ्क्रमितलाई आइसोलेसनमा राख्नुपर्नेमा गोठमा राखिएका समाचारहरू आएका छन् । स्वाब परीक्षणलाई तीव्र बनाएको देखिँदैन । राज्यको व्यवस्थापन राम्रो नभएकाले मानिसको मृत्युपछि रोगको परीक्षण भएको छ । यतिबेला जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्न, भारतबाट घर फर्किनेहरूलाई फर्किने व्यवस्था मिलाउन, क्वारेन्टाइनहरूलाई व्यवस्थित गर्न पर्याप्त किटको व्यवस्था गर्न, स्वाब परीक्षणलाई तीव्रता दिन, आइसोलेसन कक्षहरू भेन्टिलेटरसहितको व्यवस्था गराउन, महँगी र कालोबजारी नियन्त्रण गर्न हाम्रो पार्टी सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यसरी एकातिर राज्यले बढाएको महँगी, कालोबजारी, मूल्यवृद्धि र अर्कोतिर कोरोना महामारीबाट जनताहरू पीडित भएका छन् । कोरोनाबाट मृत्यु भएका दुल्लु नगरपालिका कालभैरवका युवाप्रति हार्दिक श्रद्धाञ्जली र परिवारहरूमा गहिरो समवेदना प्रकट गर्छौं । मृतक युवाको परिवारलाई क्षतिपूर्ति र राहतको व्यवस्था मिलाउन राज्यलाई ध्यानाकर्षण गराउँछौँ । कोरोनासँग प्रत्यक्ष सङ्घर्ष गरिरहेका सम्पूर्ण सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । कोरोना महामारीविरुद्धको सङ्घर्षमा रातदिन खटिनुहुने स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू, पत्रकार मित्रहरू, समाजसेवी र बुद्धिजीवी मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । अन्त्मा जनता सङ्कटमा परेको बेला भ्रष्टाचार, महँगी थोपरेर लुट्ने तत्वहरूलाई खबरदारी गर्दछौँ । यो दुःखको घडीमा जनतालाई सचेत र धैर्य हुन अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :