रुकुम र देवदह हत्याकाण्डको विरोधमा दलित मोर्चाले निकाल्यो र्याली


बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपालद्वारा रुकुममा भएको जातीय नरसंहार र देवदहमा दलित महिलामाथि भएको बलात्कारपछिको हत्याको विरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । मोर्चाले रुकुममा भएको घटना जातीय विभेदको परिणाम रहेको भन्दै जातीय विभेद र छुवाछूत गर्नेलाई हदैसम्मको कारबाहीको अपिलसमेत गरेको छ ।

बुटवलको रानीगन्जमा सयौँ जनताको उपस्थितिमा झन्डै १ घन्टासम्म भएको र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै दलित मुक्ति मोर्चा रूपन्देहीकी अध्यक्ष जानकी बराहाले दलितहरू बर्सौंदेखि जातीयताको सिकार भएको भन्दै जातीय अहंकारवादीले रुकुमको घटना गराएको र अपराधीलाई राज्यले नै संरक्षण गरेको बताइन् । उनले समाजमा जातीय विभेद बढ्दै गर्दा यसले सामाजिक द्वन्द्व निम्त्याएको भन्दै जन्मसिद्ध अधिकार प्रेम गर्नेहरूलाई जातकै आधारमा रोक्ने र मार्नेजस्तो जघन्य अपराध भएकाले यसप्रकारका घटनाको विरोध पनि गरिन् ।

कार्यक्रममा प्लेकार्ड र ब्यानर बोकेका सयौँ दलितहरूको उपस्थिति थियो । उपस्थित जनसमुदायले जातीय विभेद अन्त्य गर, मान्छे मार्न पाइँदैनलगायत नारा लगाएका थिए । रुकुमको चौरजहारीमा गतसाता एक ठकुरी महिलालाई प्रेम गरी भगाउन जाँदा गाउँलेहरूले कुटेर ५ युवकको हत्या गरेका थिए भने केही दिनअगाडि देवदहमा एक दलित बालिकालाई बलात्कार गरी हत्या गरिएको थियो । यी दुवै घटनाको देशव्यापी विरोध भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :