जनयुद्धको सघन प्रभाव रहेको रुकुममा प्रतिक्रान्तिकारी जघन्य हत्याकाण्ड हुनु लज्जाजनक : महिला सङ्गठन

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले जनयुद्धको सघन प्रभाव रहेको रुकुममा प्रतिक्रान्तिकारी जघन्य हत्याकाण्ड हुनु निकै लज्जाजनक रहेको जनाएको छ । सङ्घकी संयोजक सविता तामाङले सोमबार प्रेस विज्ञप्ति जारी गरी केपी वली सरकार अमेरिकी सैन्य रणनीति एमसीसी पारित गराउन मरिमेटेर लागेकोमा पनि निन्दा गर्दै उक्त राष्ट्रघाती एमसीसी परियोजना तत्काल खारेजीको माग गरेकी छिन् ।

संयोजक तामाङले विज्ञप्तिमा भनेकी छिन्, ‘हाम्रो जनप्रिय सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी हालै रुकुम–पश्चिममा भएको जातीय नरसंहारमा परी ६/६ जना होनहार युवाहरूको ज्यान गएको घटनाको घोर विरोध र भत्र्सना गर्दछ । जनयुद्धको सघन प्रभावयुक्त क्षेत्रमा त्यसप्रकारको प्रतिक्रान्तिकारी जघन्य हत्याकाण्ड हुनु निकै लज्जाजनक विषय हो ।’

तामाङले विज्ञप्तिमा भनेकी छिन्, ‘वर्तमान दलाल संसदीय व्यवस्थामा पञ्चायतको झझल्को दिने गरी विभिन्न जघन्य घटना भइरहेका छन् । नमिता–सुनितादेखि निर्मला हत्याकाण्ड त्यसैका शृङ्खला हुन् । नेपाली समाजमा विवाहसम्बन्धी अधिकारको प्रश्न गम्भीर बनेर उभिएको छ । कुनै पनि महिलाका निम्ति विवाह उसको नितान्त वैयक्तिक स्वतन्त्रताको मामिला हो । समाजमा महिलाहरूको नैसर्गिक अधिकारका लागि हाम्रो सङ्गठन निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ । महिलामाथिका सबै प्रकारका ज्यादतीका विरुद्ध एवम् उनीहरूको नैसर्गिक हक–अधिकारका पक्षमा सङ्घर्ष गर्न हाम्रो सङ्गठन सम्पूर्ण न्यायप्रेमी जनतालाई आह्वान गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘नेपालको दलाल पुँजीवादी केपी सरकारको ज्यादतीले दिन–प्रतिदिन सीमा नाघ्दै गएको छ । यतिबेला वली सरकार अमेरिकी सैन्य रणनीति एमसीसी पारित गराउन मरिमेटेर लागेको छ । हाम्रो सङ्गठन राष्ट्रघाती एमसीसी परियोजनाको तत्काल खारेजीको माग गर्दछ । सामाजिक, सांस्कृतिक एवम् लैङ्गिक न्यायका साथै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्त, न्यायप्रेमी जनसमुदायमा हाम्रो जनप्रिय सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :