सहिद हरिबहादुर कुँवरको स्मृतिमा – प्रकाण्ड, प्रवक्ता, नेकपा

prakanda1

क्रान्तिकारी नेता तथा १० वर्षको महान् नेपाली जनयुद्धद्वारा उत्पादित उदीयमान जनसहित्यकार क. राजकुमार (राजबहादुर कुँवर) ले नेपाल राष्ट्र र नेपाली जनताको महान् सहिद हरिबहादुर कुँवरको स्मृतिग्रन्थ प्रकाशनार्थ अथक मिहिनेताका साथ तयारी गरिरहनुभएको रहेछ । असार पहिलो हप्ता मलाई भेटेर उहाँले यो सुखद् सन्देश सुनाउनुभयो, अनि मलाई मन्तव्य लेख्न पनि भन्नुभयो । भावुकता र सहर्षताको योगमा मैले लेख्छु भनेँ । जनताका छोराछोरीले देशको मुक्ति र जनताको आजादीका निम्ति गरेको त्याग र बलिदानीलाई उच्च सम्मान र प्राथमिकताका साथ ऐतिहासिक तथा जनसाहित्यिक दृष्टिकोणबाट पुँजीकृत गर्न समर्पित क. राजकुमारलाई सर्वप्रथम सगौरव विशेष धन्यवाद ज्ञापन गर्दछु किनकि जनताको मुक्ति र स्वतन्त्रताका निम्ति जनताले आँसु, रगत र पसिनाबाट रचना गरेको इतिहास एवम् साहित्यको द्वन्द्वात्मक भौतिकवादी लेखन देश र जनताको मुक्ति आन्दोलनका निम्ति महत्वपूर्ण आधार हुन्छ । तसर्थ, यो सामान्य कार्य नभएर विशिष्ट महत्वको कार्य हो ।

केन्द्रीय राज्यसत्ताको वर्गीय उत्पीडनको उपज कर्णाली प्रदेशमाथिको क्षेत्रीय उत्पीडनका विरुद्ध जनताको क्रान्तिकारी संघर्षको इतिहासमा २०६३ सालयताको शान्ति प्रकृयाको पछिल्लो चरणमा आफ्नो अमूल्य जीवन कर्णाली र कर्णालीवासी जनताको मुक्तिको निम्ति अर्पण गर्ने कर्णालीको महान् सपूत वीर सहिद हरिबहादुर कुँवर हो । सर्वप्रथम उहाँलाई स–सम्मान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । देशको मुक्ति र नेपाली जनताको राजनीतिक स्वतन्त्रतासँग अभिन्न रूपले गाँसिएको कर्णाली प्रदेशको आन्तरिक स्वाधीनता एवम् जनताको मुक्तिको निम्ति सहिद हरिबहादुर कुँवरको सपना पूरा गर्न अधुरो नेपाली क्रान्तिलाई निर्णायक विन्दुमा पु¥याउन आफूलाई पूराकापूरा समर्पित गर्ने दृढ प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।

पृथ्वीनारायण शाहको एकीकृत तथा केन्द्रीकृत सामन्ती राज्यसत्ता निर्माणको राजनीतिक रणनीतिद्वारा सञ्चालित बहादुर शाहको फौजी हमलामा परी कर्णाली विजित भएपछि ऐतिहासिककालदेखि नै कर्णाली क्षेत्र र यहाँका जनताको समस्यालाई केन्द्रित गरेर बहस, छलफल र सामाधानको पहल हँुदै आएको छ । यसको दृष्टिकोण, प्रवृत्ति, नीति र शैलीमा भने विविधता रहँदै आएका छन् । अहिले पनि यो अवस्था न्यून रूपमा विद्यमान नै छ । कर्णाली प्रदेश र यहाँका जनताको मुक्तिका हिमायती जोसुकैले पनि समस्याको वस्तुनिष्ठ पहिचान, समाधानसम्बन्धी वैज्ञानिक विचार र बदल्नको निम्ति अदम्य साहसका साथ क्रान्तिको ऐतिहासिक एवम् निर्णायक पहलकदमी लिन जरुरी छ । यसका निम्ति कर्णालीका राजनीतिक नेतृत्व एवम् कार्यकर्ता, प्राज्ञिक वर्ग, युवा युवतीहरू, व्यापारी व्यवसायीहरू, शिक्षक, कर्मचारीहरू, सामाजिक व्यक्तित्वहरूलगायत आम–कर्णालीवासी जनसमुदायहरू तयार हुनैपर्छ ।

कर्णाली प्रदेशको प्रमुख समस्या एकीकरणको नाममा पृथ्वीनारायण शाहले थालनी गरी बहादुर शाहले पूर्णता प्रदान गरेको शोषक वर्गको सामन्ती एकात्मक एवम् केन्द्रीकृत राज्यसत्ता हो । जसले कर्णालीका जनताको आफ्नै राज्य सिञ्जालाई अतिक्रमण गरी केन्द्रीकृत राज्यमा विलिन गरायो । त्यो बेलादेखि कर्णाली आन्तरिक राज्यविहिन भई यसको स्वाधीनताको मुद्दा प्रमुख बन्न पुग्यो । आफ्नो सिञ्जा राज्यमा कर्णालीका जनताले शासन सञ्चालन गरिराखेका थिए । यद्यपि त्यो बेलाको समाज विकासको स्तर, चेतना र राज्य सञ्चालकहरूको विचार एवम् प्रवृत्तिगत सीमाका कारण परम्परागत भए पनि त्यो कर्णालीका जनताको आफ्नै राज्य र शासन थियो । राज्यको चरित्र र शासकीय ढाँचालाई हेर्दा त्यसलाई कर्णालीका जनताको परम्परागत गणतन्त्रात्मक राज्य भन्न सकिन्छ । यो राज्यको शासन व्यवस्था पनि कब्जा गरियो । कर्णालीका जनता राजनीतिक अधिकारबाट बंचित भए । अतयव, कर्णाली राष्ट्रको आन्तरिक राष्ट्रिय स्वाधीनता र राज्य सञ्चालन गर्ने राजनीतिक अधिकार खोसियो । त्यो बेलादेखि कर्णाली प्रदेशको पराधीनता र जनताको राजनीतिक स्वतन्त्रताको मुद्दा प्रमुख बन्न गयो ।

book cover१८४६ मा बहादुर शाहको सेनाले सामान्य युद्धको नियम विपरीत दशैको नवमीको राती षड्यन्त्रकारी, अनैतिक र अमानवीय ढंगले कर्णालीवासी जनताको सिञ्जाराज्य कब्जामा लिएपछि १९०३ सम्म ५८ वर्ष पृथ्वीनारायण शाहका सन्तानले, १९०३ देखि २००७ सम्म १०४ वर्ष जंगबहादुर राणाले सञ्चालन गरेको जहानियाँ राणा शासकले, २००७ सालदेखि २०१७ सालसम्म ११ वर्ष राणा, राजा र नेपाली कांगे्रसले, २०१७ सालदेखि २०४६ सालसम्म ३० वर्ष राजा महेन्द्रले स्थापना गरी सञ्चालन गरेको पञ्चायत स्वरूपको सामन्ती राजतन्त्रले, २०४६ सालदेखि २०६३ सालसम्म १८ वर्ष राजा एवम् संसदवादी दलहरूले चलाएको राज्यसत्ता र शासन व्यवस्था शोषक वर्गकै हो । त्यसको वर्ग, चरित्र र स्वार्थ एउटै छ । १८४६ देखि २०६३ सालसम्म २१७ वर्ष कर्णाली र त्यहाँका जनतामाथि शासन गर्ने वर्ग एउटै मात्र शोषक वर्ग हो । विश्व मानव समाजको ऐतिहासिक विकास प्रकृयामा आदिम साम्यवादी समाजमा नकारात्मक चिन्तन, प्रवृत्ति, स्वार्थ, सोच र संस्कारको उपजको रूपमा समाज वर्गमा विभाजित हुनु र त्यसको सामाजिक स्वरूप दासयुग हुनुबाट दास मालिकको रूपमा सामाजिक अस्तित्वमा आएको वर्ग शोषक वर्ग हो । मानव समाजको गतिशील विकास, मानव सभ्यताको विकासको ऐतिहासिक प्रकृयाको प्रारम्भमा प्राकृतिक प्रतिकूलतासँग संघर्ष र दासयुगबाट आउँदा समाज वर्गमा विभाजित भएपछि समाजको चालकशक्ति भीषण वर्गसंघर्षबाट आर्जित ज्ञान, श्रमजीवी वर्गसंगको संघर्षको जोखिमी र शोषक वर्गका अन्य प्रतिनिधिहरूको शासकीय चाहना एवम् महत्वाकांक्षाको परिणाम यो वर्गले शासन सञ्चालनको ढाँचा र शासकहरूमा फेरबदल गर्दै आफ्नो राज्यसत्ताको अन्त्येष्टिलाई रोक्ने दुस्साहस जन्मकालदेखि गर्दै आएको छ ।

नेपालमा पृथ्वीनारायण शाहको शासन, राणा शासन, राणा–राजा र कांग्रेस शासन, पञ्चायती शासन र राजतन्त्रात्मक संसदीय व्यवस्था यसैको उपज र निरन्तरता मात्र हुन् । शासक र शासकीय स्वरूपमा फेरबदलको नौटंकी गरेर श्रमजीवी जनतालाई मुूर्ख बनाई आफ्नो राज्यसत्ता बचाइराख्ने दुस्प्रयासहरू शोषक वर्गले निरन्तर गर्दै आएको छ । यसैलाई बीसौं शताब्दीको पूर्वाद्धमै विश्व श्रमजीवी वर्गका विचारक एवम् महान् नेता लेनिनले “संसदीय व्यवस्थालाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो” भन्नुभयो । यसर्थ, नेपालमा १८२५ मा स्थापना गरेको एकात्मक तथा केन्द्रीकृत सामन्ती सत्ताका शासक र शासकीय ढाँचामा नयाँ–नयाँ कलमी लगाएर शोषक वर्गले उत्पीडित जनतामाथि निरन्तर शासन गर्दै आइरहेको छ । स्मरण होस्, १८२५ देखिको शासक शोषक वर्ग, वर्गीय चरित्र र वर्गस्वार्थमा आजका मितिसम्म किञ्चित परिवर्तन आएको छैन । वर्तमान नेपाली समाजका वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, सामाजिक एवम् सांस्कृतिक, आर्थिकलगायत यावत् समस्या यही शोषक वर्ग र यसको राज्यसत्ताका उपज हुन् ।

नेपाली राजनीतिक रंगमंचमा एउटा बडो मजाक के भयो भने त्यो बेलाको शोषक वर्गको सामन्ती राज्यसत्ता र त्यसको संसदीय व्यवस्थामा आमूल परिवर्तन गर्नको निम्ति नेपाली स्वाभिमानी एवम् श्रमजीवी जनताले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा १० वर्ष सशस्त्र जनयुद्ध लडे । त्यसको आडमा १९ दिनको ऐतिहासिक आन्दोलन पनि भयो । जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुरामहरू २०६३ सालपछि शोषक वर्गको सामन्ती राज्यसत्ता र त्यसको संसदीय व्यवस्थामा निर्णायक क्रान्ति गर्नुपर्ने देश र नेपाली भोका–नाङ्गा जनताको दायित्वबाट भागेर पृथ्वीनारायण शाहले स्थापना गरेको शोषक वर्गको राज्यसत्ताका वर्तमान शासक बन्न पुगे । प्रचण्ड–बाबुरामहरू सामन्ती एकात्मक राज्यसत्ताका त्यो बेलाका शासक पृथ्वीनारायण शाह र बहादुर शाह बनेर गएनन्, यिनीहरू राणाहरूको जहानियाँ शासक जंगबहादुर राणा बनेर पनि शासन गर्न गएनन्, न निरंकुश पञ्चायती शासक राजा महेन्द्र बनेर शासन गर्न गए, न त राजतन्त्रात्मक संसदीय व्यवस्थाका राजा वीरेन्द्र, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी बनेर शासन गर्न गए । यिनीहरू त शोषक वर्गको वर्तमान नेपाली राज्यसत्तालाई १० वर्षको महान् जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरूले रङ्गरोगन गर्न मूर्खता गरिएको दलाल संसदीय व्यवस्थाको कथित संघीय लोकतान्त्रिक गणतन्त्रको शासक बन्न गए ।

नेपालको राजनीतिक इतिहासमा केन्द्रीकृत तथा एकात्मक सामन्ती राज्य निर्माणदेखि हालसम्म शासक वर्गको स्वरूपमा भने भिन्नता हुँदै आएको छ । पृथ्वीनारायण शाहको चरित्र एकात्मक एवम् केन्द्रीकृत सामन्ती थियो भने जंगबहादुर राणाको जहानियाँ, राजा महेन्द्रको निरंकुश पञ्चायती थियो भने राजा वीरेन्द्र, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजतन्त्रात्मक तथा संसदीय प्रतिकृयावादी थियो । अहिले प्रचण्ड–बाबुराम र संसद्वादी दलका मुख्य नेतालगायत शासकहरूको चरित्र दलाल पुँजीवादी छ । शोषक वर्गको दलाल पुँजीपति हिस्साको राज्यसत्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रको ‘झोला च्यापेर’ शासक बनिराखेका छन् । वास्तवमा शोषक वर्गको राज्यसत्ता ध्वंस भएर नेपाली श्रमजीवी जनताको राज्यसत्ता स्थापित भइसकेको छैन । नेपाली जनताले अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने नेपाली क्रान्तिको गहन कार्यभार बाँकी नै छ । यस विषयमा नेपाली जनतालाई कति पनि भ्रम हुनुहँुदैन र भ्रम रहन पनि दिनुहुँदैन ।

कर्णालीको क्षेत्रीय उत्पीडिनको प्रश्न आफ्नो सारतत्वमा शोषक वर्गको राज्यसत्ताको केन्द्रीय प्रश्न हो । कर्णालीका समस्याको समाधान कर्णालीस्तरमा मात्र खोजेर पूर्ण र संभव दुवै हुँदैन । यो त ‘टाउकोको बिरामीलाई खुट्टामा उपचार गर्ने डक्टर’ को जस्तो हुन्छ । ऐतिहासिक भौतिकवादी तथ्य पनि के हो भने सामन्ती केन्द्रीकृत राज्यसत्ताका सञ्चालकहरूले नै कर्णालीको स्वाधीनता र जनताको राजनीतिकलगायत समग्र अधिकारलाई खोसेका हुन् । त्यसपछि कर्णालीलाई शासकहरूले पाइला–पाइला गर्दै अहिलेको नाजुक अवस्थामा पु¥याए ।
केन्द्रीय राज्यसत्ता र शासक वर्गको अनुहारलाई जीवन्त चित्रण गर्ने कर्णाली प्रदेश एवम् कर्णालीका जनताको वर्तमान दर्दनाक अवस्थाको सधैँको निम्ति अन्त्य गर्न शोषक वर्गको दलाल पुँजीवादी केन्द्रीय राज्यसत्ता, त्यसका शासकहरू र दलाल संसदीय व्यवस्थाको दाहसंस्कार पहिलो शर्त हो । आफ्नो राष्ट्रको स्वाधीनता र राजनीतिक अधिकार प्राप्तिको निम्ति नेपाली जनताले ऐतिहासिककालदेखि गर्दै आएको अनवरत संघर्षको उच्च एवम् केन्द्रीकृत रूपमा अभिव्यक्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा नेपाली जनताले अगाडि बढाएको १० वर्षको महान् जनयुद्ध हो । १९ दिनको आन्दोलन जनयुद्धको धरातलमा भएको थियो । जनयुद्ध नेपालमा विद्यमान शोषक वर्गको राज्यसत्ता, शासन व्यवस्था र शासकहरूलाई निर्मूल पार्ने राजनीतिक उद्देश्यद्वारा सञ्चालित युद्ध थियो । शोषित वर्गको राज्यसत्ता स्थापनाको महान् अभिभारा बोकेको जनयुद्ध आफ्नो १० वर्षकै समयावधिमा विजयको सन्निकट जब पुग्यो, तब त्यो बेलाको साम्राज्यवाद, भारतीय विस्तारवाद र यो देशका संसदीय प्रतिकृयावादीहरू जनयुद्धलाई निस्तेज पार्ने षड्यन्त्रमा लागे । विजयोन्मुख जनयुद्धले पैदा गरेको खतराको सामना गर्ने हिम्मत नगरेर प्रचण्ड–बाबुरामको आत्म–सुरक्षावादले शोषक वर्गको दलाल संसदीय व्यवस्थाका अगाडि आत्मसमर्पण ग¥यो । यिनीहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाली क्रान्ति, देश र नेपाली जनताको निम्ति धोका र गद्दारी गरेर क्रान्तिमा अक्षम्य अपराध गरे । नेपाली क्रान्तिले भयानक क्षति बेहो¥यो । क्रान्ति अधुरै रह्यो र छ ।

नेपाली श्रमजीवी वर्गको क्रान्तिको पूर्णता, देशको अस्तित्व एवम् स्वाधीनताको रक्षा, नेपाली शोषित वर्गको राज्यसत्ता निर्माण, शासन व्यवस्था स्थापना, देशको विकास र नेपाली जनताको समृद्धिको निम्ति नेपाली क्रान्तिको पूर्णता क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेपाली श्रमजीवी जनताको पहिलो कार्यसूची हो । क्रान्तिको यो दायित्व निर्वाह गर्न क्रान्तिकारी राजनीतिक शक्तिले एक्काईसौं शताब्दीको विश्व, यसको नेपाली समाजमा प्रभाव, आफ्नो देशको वास्तविक अवस्था र क्रान्तिकारी शक्तिको देश तथा जनताप्रतिको उत्तरदायित्वलाई दृष्टिगत गरी नेपाली क्रान्तिको कार्यदिशा निर्धारण गर्नुपर्दछ । जुन कार्यदिशा नेपालका श्रमजीवी जनताको राज्यसत्ता निर्माण गर्ने र दलाल पुँजीपतिवर्गको वर्तमान राज्यसत्ताको चिहान खन्ने होस् । देशको मुक्ति, नेपाली क्रान्ति र राष्ट्रिय राजनीतिको आवश्यकतालाई परिलक्षित गरी नेपाली श्रमजीवी जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नेपाली क्रान्तिको वैज्ञानिक कार्यदिशाको रूपमा ‘एकीकृत जनक्रान्ति’ अगाडि सारेर प्रयोग गरिराखेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशाको राजनीतिक लक्ष्य शोषक वर्गको दलाल पुँजीवादी राज्यसत्ता, दलाल संसदीय व्यवस्था र दलाल शासकहरूको अन्त्य गर्नु हो । एकीकृत जनक्रान्तिको पूर्णताले स्थापना गर्ने राज्यसत्ता शोषित वर्गको राज्यसत्ता हो । शोषित वर्गको राज्यसत्ताको समाज व्यवस्था  ‘वैज्ञानिक समाजवाद’ हो । यो समाज व्यवस्थाका सञ्चालक वा मालिक नेपाली श्रमजीवी वर्ग हुन्छन्; जसमा उत्पीडित वर्ग जाति, क्षेत्र, लैङ्गिक, दलित समुदाय, राष्ट्रवादी तप्कालगायत आम–उत्पीडित जनता पर्दछन् । नेपाली श्रमजीवी वर्गको कम्युनिस्ट पार्टीको नेतृत्वमा आम नेपाली श्रमजीवी वर्गको शासनलाई सुनिश्चित गरिने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था हो । देशको मुक्ति, नेपाली श्रमजीवी जनताको शासन र देशको विकास एवम् समृद्धिको लागि वैज्ञानिक समाजवादको स्थापना अनिवार्य मात्र होइन ढिलो भइसकेको छ ।

अहिले पनि कर्णाली दलाल पुँजीपति वर्गको केन्द्रीय राज्यसत्ताको उपनिवेश नै छ । यो पृथ्वीनारायण शाहको राज्यसत्ताको निरन्तरता हो । दलाल पुँजीपति वर्गको केन्द्रीय राज्यसत्ताको उपनिवेशवाट कर्णालीलाई मुक्त गरी आन्तरिक राष्ट्रियताको दृष्टिले स्वाधीन बनाउनु कर्णालीका क्रान्तिकारी नेता कार्यकर्ता, राष्ट्रवादीहरू, उद्योगी, व्यवसायी, युवा–युवतीहरू, बुद्धिजीवीहरू, महिला र दलितहरू, शिक्षक–कर्मचारीलगायत आम श्रमजीवी कर्णालीवासीको पहिलो कार्यभार हुन आएको छ ।

कर्णालीका जनताको शासन सञ्चालनको अधिकारका दृष्टिले दलाल संसदीय शासन व्यवस्थाको निर्मूल गरी वैज्ञानिक समाजवादी शासन व्यवस्थाअन्तर्गत ‘आत्म–निर्णयको अधिकारको स्वीकृति’ सहित कर्णालीका जनताको ‘स्वशासन’ को अधिकार स्थापित गर्नुपर्छ । आन्तरिक राष्ट्रिय स्वाधीनता र शासन व्यवस्थामा ‘स्वशासन’ को अधिकार प्राप्त गर्नुले कर्णाली प्रदेश र कर्णालीवासी जनताको क्षतिपूर्तिसहित वास्तवमै मुक्ति र स्वतन्त्रता स्थापित हुन्छ । यसका निम्ति कर्णाली प्रदेश र कर्णालीवासीहरू नेपाली जनताको वैज्ञानिक समाजवादी शासन व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्तिको दिशामा दृढताका दसाथ अगाडि बढ्नुपर्छ ।

अन्तमा, महान् सहिद हरिबहादुर कुँवरप्रतिको सच्चा श्रद्धाञ्जली, सहिदपथको यात्रा र सपनाको साकार तब मात्र हुनेछ जब एकीकृत जनक्रान्तिको कार्यदिशाद्वारा देशमा विद्यमान शोषक वर्गको दलाल पुँजीवादी राज्यसत्ताको अन्त र नेपालका श्रमजीवी जनताको राज्यव्यवस्था वैज्ञानिक समाजवाद स्थापना गरी कर्णाली प्रदेशको आन्तरिक राष्ट्रिय स्वाधीनताको सुनिश्चितता र कर्णालीका जनताले स्वशासन प्राप्त गर्नेछन् । महान् सहिद हरिबहादुर कुँवर – लाल सलाम !
रातो खबर साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :