अनधिकृत चन्दा उठाउने आफ्नै कार्यकर्तालाई अखिल क्रान्तिकारीले गर्यो कारबाही


काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति गुल्मीले अनधिकृत रूपमा सङ्गठनको नीति र कार्यक्रमविपरीत चन्दा उठाउने दुईजना कार्यकर्तालाई निष्कासन गरेको छ । सङ्गठनका अध्यक्ष विकल्प खत्रीले बिहीबार विज्ञप्ति जारी गरी जिल्लाका व्यापारी, शैक्षिक संस्था, कर्मचारी र ठेकेदारसँग राहत वितरण गर्ने भन्दै अनधिकृत रूपमा चन्दा मागेको भन्दै सङ्गठनका जिल्ला सचिव विष्णुबहादुर विक र जिल्ला सदस्य राज खड्कालाई सधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाउका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘त्याग, सङ्घर्ष, बलिदान र विजयको रक्तरञ्जित इतिहास निर्माण गर्दै सडक बाघका रूपमा स्थापित हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) सदैव विद्यार्थी हकहितका लागि लड्दै आएको कुरा आमजनसमुदायमा सर्वविदितै छ । अहिले देशमा कोभिड १९ को महामारीले आमविद्यार्थीहरू शिक्षा लिनबाट वञ्चित छन् भने सरकारले पनि यसमा कुनै तदारुकता देखाएको छैन । उल्टै राष्ट्रिय स्वाधीनतामाथि आँच आउनेखालको क्रियाकलाप गर्नमा व्यस्त छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो बेलामा पनि जिल्लाका विभिन्न व्यापारी, शैक्षिक संस्था, कर्मचारी, ठेकेदारसँग राहत वितरण गर्ने भन्दै अनधिकृत रूपमा चन्दा मागी आफ्नो दैनिकी चलाइरहेकाले आजको मितिदेखि हाम्रो सङ्गठनका जिल्ला सचिव विष्णुबहादुर विक र जिल्ला सदस्य राज खड्कालाई हाम्रो सङ्गठनको नीतिविपरीत आर्थिक अराजकता मच्चाएकाले सधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिएको कुरा आमजनसमुदायमा जानकारी गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :