नेकपा नेत्री उमा भुजेल धरौटीमा रिहा भएलगत्तै पुनः गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीर्की केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’ लाई रिहा भएलगत्तै पुनः गिरफ्तार गरिउको छ । जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गरेलगत्तै उनलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

जिल्ला अदालतको इजलास नम्बर ५ मा बिहीबार भएको सुनुवाइपछि जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले नेत्री भुजेललाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी अदालतका श्रेस्तेदार यज्ञप्रसाद आचार्यले दिए ।

भुजेललाई बम विस्फोटसम्बन्धी मुद्दा लगाइएको थियो । थुनछेक बहसका क्रममा अधिवक्ता कपिलचन्द्र पोख्रेल, चितवन बारका निवर्तमान अध्यक्ष गोपीलाल देवकोटा, अधिवक्ताहरू गङ्गा कोइराला, नारायण गिरी, कला त्रिताल, पेशल न्यौपाने र विनोदकुमार तिमिल्सिनाले नेत्री भुजेलका पक्षमा बहस गरेका थिए ।

धरौटी तिरेलगत्तै नेत्री भुजेललाई धनुषा प्रहरीले पुनः गिरफ्तार गरेको हो । भुजेललाई पक्राउपुर्जीबिनै गिरफ्तार गरिएपछि अदालत परिसरको अवस्था केहीबेर तनावपूर्ण बनेको थियो । अदालतको आदेशमा रिहा भइसकेको अवस्थामा पुनः बिनापुर्जी गिरफ्तार गर्न खोजीएको भन्दै कानुन व्यवसायी र भुजेलले पुर्जी दिन माग गरेका थिए । धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले नेत्री भुजेलका अन्य जिल्लाहरूमा पनि मुद्दा रहेकाले गिरफ्तार गरिएको बताए ।

यसअघि झापा जिल्ला अदालतले पनि उनलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पुनः गिरफ्तार गर्ने तयारी गरिएपछि धरौटी नबुझाई उनी जिल्ला कारागार चन्द्रगढीमा बसेकी थिइन् । यही जेठ ११ गते धरौटी बुझाएर रिहा भएलगत्तै प्रहरीले उनलाई पुनः गिरफ्तार गरी धनुषा लगेको थियो ।

नेत्री भुजेललाई प्रहरीले गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट गिरफ्तार गरेको हो । उनलाई काठमाडौँ र कैलालीमा अर्को मुद्दा रहेकाले तीमध्ये एक ठाउँ लैजाने तयारी गरिएको बुझिएको छ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :