नेकपाले कोरोनापीडित जनतालाई सहयोग गर्न सरकारलाई दियो १० बुँदे सुझाव

कार्यान्वयन नगरिए प्रतिरोध गर्ने चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले कोरोना महामारीको सङ्कटबाट जनताको रक्षा गर्न सरकारलाई १० बुँदे सुझाव दिएको छ । ब्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गरी कोरोना महामारीको सङ्कटपूर्ण अवस्थामा पनि कतिपय जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवाला निकायबाट भ्रष्टाचार, अनियमितता र पक्षपातपूर्ण व्यवहार गरिएको जनगुनासो व्यापक रूपमा आएकाले दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

इन्चार्ज निर्माणको विज्ञप्तिमा भनिएको छ, ‘भारत प्रवासमा रहेका नेपाली श्रमिकहरू लकडाउनका कारण बेरोजगार हुनुका साथै नेपाल आउन नपाएर बिचल्लीमा परेको सवाललाई लिएर हाम्रो पार्टीले सरकारलाई प्रवासी नेपालीलाई घर आउने वातावरण निर्माण गर्न बारम्बार आह्वान गर्दै आएको थियो । चौतर्फी दबाबपछि राज्यले प्रवासी नेपालीलाई नेपाल प्रवेशको वातावरण बनाएको छ र सुदूरपश्चिमबाट मात्रै दैनिक हजारौँको सङ्ख्यामा नेपाली श्रमिकहरू नेपाल प्रवेश गरिरहेका छन् । यो खुसी र स्वागतयोग्य कुरा हो । तर नेपाल प्रवेशपछि उनीहरूको कोरोना परीक्षण, उपचार, व्यवस्थापन र गन्तव्यसम्म पुर्याउने समस्या अलि जटिल देखिएकाले यस सम्बन्धमा पार्टीको निम्नसुझाव एवम् धारणा प्रस्तुत गरिएको छ । यसलाई कार्यान्वयन गर्न, गराउन आवश्यक देखिन्छ र त्यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

ब्युरोले दिएका सुझाव र धारणा यसप्रकार छन् :

१) विदेशमा रहेका तर घर फर्किन चाहने सम्पूर्ण प्रवासी नेपालीलाई अझै सहज रूपमा घर फर्कने वातावरण सिर्जना गरियोस् ।

२) प्रवासबाट फर्किनेहरूको सिमानामा उचित आरडीटी स्वास्थ्य परीक्षण गरियोस् र सहज ढङ्गले गाउँ जाने वातावरण मिलाइयोस् ।

३) प्रवासबाट फर्किएकाहरूलाई उचित क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरियोस् । अहिलेसम्मको व्यवस्थापन हेर्दा सन्तोषजनक नभएको र राज्यको उपस्थिति शून्यजस्तै देखिएकाले क्वारेन्टाइनको उचित व्यवस्थापनमा ध्यान दिइयोस् ।

४) कोरोना सङ्क्रमितलाई उचित उपचारको व्यवस्था गरियोस् । बिरामीको आत्मविश्वास बढ्ने वातावरण सिर्जना गरियोस् ।

५) क्वारेन्टाइनमा बस्नेहरूको उचित व्यवस्थापन (खाने, बस्ने, पीसीआर परीक्षण गर्ने, सरसफाइ, पारिवारिक भेटघाट गर्नेलगाएत) राज्यका तर्फबाट गरियोस् ।

६) सरकारका तर्फबाट उचित व्यवस्थापन हुनसक्ने अवस्था नभएमा सर्वपक्षीय, सर्वदलीय संयन्त्र, सहयोगदाता र नागरिक समाजका तर्फबाट सहयोग गर्ने वातावरण सिर्जना गरियोस् । हालसम्मको अवस्थालाई हेर्दा यसमा राज्य उदासीन नै देखिएको छ । अहिलेसम्ममा केही उदार व्यापारी, व्यवसायी र स्थानीय सहयोगीहरूले खाना तथा व्यवस्थापनमा सहयोग गरेको पाइएको छ । यो सकारात्मक कुरा हो तर यसको दायरालाई अझै थप विस्तार गर्नुपर्ने आवश्यकता छ । त्यतातर्फ ध्यान दिइयोस् ।

७) क्वारेन्टाइनमा रहेका वा राहत नपाएर समस्यामा परेका नागरिकहरूलाई हाम्रो पार्टीका तर्फबाट हामी हरसहयोग गर्न तयार छौँ र सम्भव भएसम्म सहयोग गरिरहेका पनि छौँ । यसको दायरालाई अझै हामी फराकिलो पार्न चाहन्छौँ र सबैसँग सहकार्य गर्न चाहन्छौँ । तसर्थ सम्बन्धित पक्षले त्यस्तो वातावरण सिर्जना गरोस् ।

८) कोरोना महामारीको यो सङ्कटपूर्ण अवस्थामा पनि कतिपय जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवाला निकायबाट भ्रष्टाचार, अनियमितता र पक्षपातपूर्ण व्यवहार प्रदर्शन भएको जनगुनासो व्यापक रूपमा आइरहेको छ र कतिपय घटनाहरू सत्य साबित पनि भएका छन् । मेडिकल माफियाको चलखेल, यातायातमा कमिसन, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामानमा कालोबजारी र महँगी, रिचार्ज कार्डमा समेत कमिसनजस्ता क्रियाकलापले उपभोक्ताहरू मारमा परेका छन् । यसलाई कडाइसाथ नियन्त्रण र निगरानी गरियोस् ।

९) अहिले प्रवासबाट आउने जनशक्ति तत्काल उपयोगमा आउने भनेको कृषिमा हो । अहिले किसानहरू मल–बिउको अभावमा तड्पिरहेका छन् । तसर्थ यसको उचित समाधान गर्नुका साथै प्रवासबाट आएको जनशक्तिलाई उचित कृषिकर्ममा लाग्ने वातावरण सिर्जना गरियोस् ।

१०) अहिले फेरि कञ्चनपुरको पुनर्वासलगायत सुदूरपश्चिमका सीमाक्षेत्रमा भारतीय सीमा सुरक्षाबल एसएसबीको ज्यादती बढेकाले यसलाई राज्यका तर्फबाट तुरुन्त समाधान गरियोस् । राज्यले बेवास्ता गरे जनस्तरबाट प्रतिरोध गर्ने अवस्था उत्पन्न हुँदैछ । समयमै राज्यको ध्यान जाओस् । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :