चौरजहारी हत्याकाण्डका दोषीहरूलाई सख्त कारबाही गर्न दलित मुक्ति मोर्चाको माग

काठमाडौँ : दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ सोती निवासी सुष्मा मल्लसँगको अन्तरजातीय प्रेमसम्बन्धका कारण स्थानीय गाउँलेहरूको कुटाइबाट जेठ १० गते शनिबार राती जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विक, गणेश बुढामगर र टीकाराम सुनारको मृत्यु भएकोमा गम्भीर आपत्ति प्रकट गर्दै यस्तो जघन्य हत्याकाण्ड गराउनेहरूमाथि सख्त कारबाही गर्न माग गरेको छ । मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा घटनामा बेपत्ता पारिएकाहरूको अवस्था तत्काल सार्वजनिक गर्न र यसप्रकारको क्रूर र अमानवीय नरसंहारमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न पनि माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ सोती निवासी सुष्मा मल्लसँगको अन्तरजातीय प्रेमसम्बन्धका कारण स्थानीय गाउँलेहरूको कुटाइबाट जेठ १० गते शनिबार राती जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विक, गणेश बुढामगर र टीकाराम सुनारको मृत्यु भएको छ । नवराजका ३ जना साथीहरू लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप सुनार बेपत्ता भएका छन् भने १२ जना युवाहरूलाई चौरजहारी प्रहरीले गिरफ्तार गरेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जात नमिल्ने भन्दै यसअघि नै नवराजविरुद्ध प्रहरीमा उजुरी गरिएको थियो । त्यस क्रममा दुवै पक्षबीच प्रहरीको रोहवरमा छलफलसमेत भएको र उक्त विवाह हुन नदिन केटीतर्फका कथित माथिल्लो जातिका परिवारले निकै कोसिस गरेको बताइएको छ । यस घटनामा दलित मुक्ति मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । हामी उक्त घटनामा ज्यान गुमाउने नवराज, टीकाराम र गणेशप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘साथै तत्काल बेपत्ताहरूको अवस्था सार्वजनिक गरियोस् । यस क्रूर, अमानविय नरसंहारमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् ।’

दलित भन्दै विभेद गरिएका अन्य घटनाका बारेमा उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी पाँचथर जिल्लाको हिलीहाङ गाउँपालिका ५ का वडाध्यक्ष लक्ष्मी सुहाडले उनैले बोलाएको बैठकमा सहभागी एक दलित युवालाई दलित भन्दै बैठक कक्षबाट बाहिर निकालेका छन् । यही जेठ ७ गते वडा कार्यालय भवन बनाउने सर्वपक्षीय बैठकमा पुगेका काङ्ग्रेस प्रतिनिधि वीरबहादुर उपरकोटीलाई वडा अध्यक्ष सुहाडले आफूले बोलाएको भन्दा अरूलाई नै पार्टीले बैठकमा पठाएको भन्दै ‘यो मान्छेलाई मैले बोलाएको छैन, यसलाई म बैठकमा बस्न दिन्नँ’ भन्दै जतीय विभेद गर्दै बैठकबाट बाहिर निकालेको निज पीडित उपरकोटीले बताएका छन् ।

यस्तै नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा कोभीड १९ का कारण मृत्यु भएका व्यक्तिको विषयमा टिप्पणी गर्दै ‘आफू मरे डुमै राजा’ भनेर दलित समुदायमाथि अपमान गरेको मात्रै होइन, उक्त टिप्पणीमाथि प्रतिक्रिया दिने व्यक्तिहरूलाई व्यक्तिगत रूपमा धम्क्याउने र अपमान गर्ने काम निरन्तर गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :