जेलबाटै नेकपा नेता सुदर्शनले दिए इच्छुक र बन्दनालाई श्रद्धाञ्जली

काठमाडौँ : नख्खु जेलभित्र रहेका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले १९ औँ इच्छुक स्मृति तथा बलिदान दिवसका अवसरमा सहिद कृष्ण सेन ‘इच्छुक’ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । राजद्रोहको मुद्दामा हाल नख्खुु कारागारमा बन्दी अवस्थामा रहेका नेता सुदर्शनले सहिद इच्छुकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै इच्छुक एक निडर एवम् क्रान्तिकारी योद्धा भएको र उनी क्रान्तिकारीहरूका लागि प्रेरणापुञ्ज रहेको बताएका छन् ।

पञ्चायती व्यवस्थाविरोधी आन्दोलनदेखि अहिलेसम्म आफू पटकपटक गिरफ्तार हुँदा बसेको महेन्द्र पुलिस क्लबमा नै इच्छुकलाई तत्कालीन शाही सरकारले मारेको भन्दै सुदर्शनले बन्द पर्खालभित्र रहँदा इच्छुकको विशेष सम्झना आएको पनि बताए । वास्तविक क्रान्तिकारीलाई जेल, नेल र हिरासतले ऊर्जा र अवसर प्रदान गर्ने भन्दै सुदर्शनले सत्य, न्याय र परिवर्तनका पक्षमा आवाज र कलम उठाउँदा बरु जीवन बलिदान गरेको र तर दुस्मनसामु नझुकेका इच्छुक आस्था र निष्ठाका सतिसाल भएर बाँचिरहने पनि बताए । उनले इच्छुकसहित महान् नेपाली जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म सहादत प्राप्त गर्ने सबै सहिदप्रति हार्दिक श्रद्धाञ्जली पनि अर्पण गरे ।

इच्छुकलाई प्रहरीले २०५९ साल जेठ ६ गते काठमाडौँको मध्यबानेश्वरबाट गिरफ्तार गरी एक सातासम्म महेन्द्र पुलिस क्लबमा निर्मम यातना दिएर १३ गते हत्या गरेको थियो । इच्छुकको बलिदान भएको दिनलाई इच्छुक स्मृति तथा बलिदान दिवसका रूपमा मनाइँदै आएको छ ।

यसैबीच नेकपाका नेता सुदर्शनले सोमबार भारततको दिल्लीमा उपाचारका क्रममा मृत्यु भएकी नेकपाकी पूर्वकेन्द्रीय सदस्य एवम् अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) की पूर्वअध्यक्ष सविता सिंह ‘बन्दना’ प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बन्दनाका जीवनसाथी रामबहादुर विक ‘अर्जुन’ र उनको परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । महान् जनयुद्धमा जाजरकोटे नेत्री बन्दनाले गरेको योगदान निकै उच्च रहेको भन्दै सुदर्शनले जनयुद्धमा महिला, विद्यार्थी, किसानलगायत विभिन्न सङ्गठन तथा मोर्चा तथा जनमुक्ति सेनाको जिम्मेवारी पूरा गर्दै पुरानो संस्कृतिका विरुद्ध नयाँ संस्कृतिको सुरुआत गर्न अन्तरजातीय विवाह गरेको र सहिद परिवारसमेत रहेकी बन्दनाले क्रान्तिमा गरेको योगदानबारे आफूलाई राम्रोसँग थाहा भएको बताउँदै उनको उच्च मूल्याङ्कनसहित श्रद्धासुमन व्यक्त गरका छन् । बाथलगायत रोगहरूबाट थलिएकी बन्दना यसअघि विद्रोही नेकपाकी केन्द्रीय सदस्य थिइन् । तर कमजोर स्वास्थ्य अवस्थाका कारण पछिल्लो समय उनी उपाचारमा थिइन् । उपचारकै क्रममा बन्दनाको सोमबार भारतको दिल्लीमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :