आज साँस्कृतिक बलिदान दिवस, इच्छुकको सम्झनामा दुई कविता

काठमाडौँ : आज जेठ १३ गते साँस्कृतिक बलिदान दिवस हो । लेखक, कवि, पत्रकार तथा साहित्यकार कृृष्णसेन इच्छुक शहिद भएको दिन हो । शहिद इच्छुकलाई २०५९ साल जेठ १३ गते तत्कालिन शाही सरकारले काठमाडौँबाट गिरफ्तार गरेर हन्या गरेको थियो । इच्छुकलाई तत्कालीन शाही सेनाले काठमाडौँको महेन्द्र पुलिस क्लवमा निर्मम यातना दिएर हत्या गरेको थियो । तत्कालिन जनयुद्धको नेतृत्व गरेका प्रचण्डहरु पटक–पटक सत्तामा पुगेपनि सेनका हत्याराहरुलाई कारवाही भएन । बहादुर कलमविर कृष्णसेन इच्छुकप्रति हार्दिक श्रद्धाञ्जली र उच्च सम्मान गर्दैउहाँको सम्मानमा

दुई कविता

प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाऊ न गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।
हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि¥याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छाैँ ।
हाम्रा आस्थाहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिंडिरहन्छौँ ।
ओ शासक र प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरू गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरूद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छाैँ ।
उठाइरहन्छौँ हामी तिम्राविरूद्ध संघर्षको हातहरू
कसिरहन्छौँ हामी तिम्राविरूद्ध विद्रोहका मुठ्ठीहरू
ओ अत्याचारका पहरेदारहरू !
अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ ।

बन्दी र चन्द्रागिरि

विजयको अन्तिम दिनसम्म
सबै रहौँला नरहांँला पछि हामी
र, सायद यो खुसीको हर्षित क्षण
हाम्रो सुखद् मिलनको अन्तिम क्षण पनि हुन सक्छ ।
र, म पनि रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि
लेखिँदा लेखिँदै भोलि अपूर्ण रहन सक्छ ।
तर गेस्टापोको ग्याँस च्याम्बरजस्तो
यस सन्त्रासमय समयमा जसले
गद्दारी होइन मृत्यु रोजेका छन्
वास्तवमा यी सच्चा जीवन बाँचेका छन् ।
तिनको नश्वर शरीर कायम नरहे पनि
तिनका महान् आशा र अभिलासाहरू
सधैँ सधैँ जीवित रहनेछन् ।
जीवनको अन्तिम दिनसम्म,
जो कञ्चन र इमान रहे
तिनका सहज स्मृतिहरू पनि
सधैँ–सधैँ जीवित रहनेछन्
किनकि ती जति बाँचे
र तिनका असल स्मृतिहरू पनि
सधैँ–सधैँ जीवित रहनेछन्
वास्तविक जीवनमा
को मर्नेछन् र को बाँचिरहने छन्
त्यसको अन्तिम फैसला समयले गर्नेछ,
र भन्नेछ –
जो देश र जनताको लागि बाँचे
ती मातृभूमिका सच्चा सपूत हुन्
र तिनका पवित्र स्मृतिहरू पनि
सधैँ–सधैँ जीवित रहनेछन् ।
००० ००० ०००
मैले मेरो राष्ट्रलाई मुटुमा राखेर
मनखुसी जिन्दावाद ! भन्न किन नपाउनू ?
मैले मेरो राष्ट्रका कुलङ्गारहरूका विरुद्ध
मुठ्ठी उठाएर मूर्दावाद ! भन्न किन नपाउनू ?
लुकेर देशको छातीमा तीर चलाउने
ए मेरै देशका शिखण्डीहरू हो
तिम्रो पाखण्डीपनको विरुद्ध
मैले तिमीलाई घृणाले धिक्कार्न किन नपाउनू ?
डम्पिङ साइटका फोहोरजस्तै
राष्ट्रका घीनलाग्दा कसिङ्गरहरूलाई
बुल्डोजर लगाएर
देशले किन आज मनखुसी बढार्न नपाउनू ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :