भ्रष्टाचार र तस्करी आतङ्कको प्रतिवाद गर्न पार्टी पङ्क्तिलाई नेकपाको निर्देशन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले कोरोना सङ्क्रमणले मुलुक भयावह अवस्थामा पुग्दा पनि सरकार र सरकारी पार्टीका मानिसले राहत वितरणमा देखाएको राजनीतिक आग्रह–पूर्वाग्रह, नातागोता, जातीयता, क्षेत्रीयता, भ्रष्टाचार, कमिसन, सडेगलेको चामल वितरणजस्ता अमानवीय, आपराधिक एवम् पतीत क्रियाकलापको घोर भत्र्सना गर्दै यस्ता कार्य गर्नेहरूमाथि प्रतिवाद गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । पार्टी सेक्रेटरी करणले जारी गरेको विज्ञप्तिमा कोरोना सङ्क्रमणको समयमा माफियाद्वारा जिल्लामा चलाइएको बन फडानी आतङ्कका विरुद्ध पनि अग्रभागमा रहेर प्रतिवाद गर्न निर्देशन दिइएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्व–महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को गम्भीर असर कैलाली जिल्लामा पनि परेको छ । पछिल्लो समय जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीले निर्वाह गरेको अग्रीम भूमिका एवम् आमजनसमुदायको संयम तथा सजगताका कारण भाइरसको सङ्क्रमण नियन्त्रित अवस्थामा छ जुन राम्रो पक्ष हो । हाम्रो पार्टी अझै उच्च मनोबलका साथ महामारीविरुद्ध जुझ्न सबैमा अनुरोध गर्दछ । सङ्क्रमणलाई थप फैलनबाट रोक्न सिमानामा उच्च सतर्कता अपनाउन, विश्व स्वास्थ्य सङ्गठनद्वारा जारी मापदण्डअनुसारको क्वारेन्टाइन व्यवस्थित गर्न, टेस्टको दायरा एवम् गति बढाउन तथा अभावमा रहेका श्रमिकहरूलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘साथै राहत वितरणमा देखिएको राजनीतिक आग्रह–पूर्वाग्रह, नातागोता, जातीयता, क्षेत्रीयता, भ्रष्टाचार, कमिसन, सडेगलेको चामल वितरणजस्ता अमानवीय, आपराधिक एवम् पतीत क्रियाकलापको घोर भत्र्सना गर्दै यस्ता कार्य एवम् कार्यमा संलग्न पात्रहरूविरुद्ध सामाजिक दूरी कायम गरी प्रतिवादमा उत्रन जनसमुदाय तथा पार्टीपङ्क्तिमा आह्वान गर्दछौँ ।’

करणले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘लकडाउनको समयमा सिङ्गो देश नै ठप्प रहेको मौका छोपी केही भ्रष्ट बन कर्मचारीहरूको संरक्षण एवम् निर्देशनमा वैज्ञानिक बनका नाममा कैलाली जिल्लामा पर्यावरणीय संवेदनशीलतासँग जोडिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय मूल्य–मान्यताहरूको धज्जी उडाउँदै अनियन्त्रित ढङ्गबाट बन फडानी भइरहेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । बर्सौंदेखि जनताले संरक्षण गर्दै आएका बनहरू कथित वैज्ञानिक बनको विद्यमान नीति हाम्रो पार्टीलाई अमान्य रहेको कुरा पुनः स्पष्ट पार्न चाहन्छौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अन्धाधुन्ध तरिकाले भैरहेको बन फडानी भ्रष्ट कर्मचारी प्रशासन, बन समितिका केही भ्रष्ट पदाधिकारी एवम् बन व्यवसायीको स्वार्थमा मात्र केन्द्रित रहेको कुरा स्पष्ट छ । आमनागरिकको हित तथा पर्यावरणीय दृष्टिकोणले निकै घातक छ । अतः आमजनसमुदाय, पर्यावरणविद्, अधिकारकर्मी एवम् सञ्चारकर्मीमा बन विनाश हुनबाट जोगाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गर्दछौँ । साथै माफियाद्वारा चलाइएको बन फडानी आतङ्कका विरुद्ध अग्रभागमा रहेर प्रतिवाद गर्न आमपार्टी पङ्क्तिलाई आह्वान गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :