कोरोना प्रकोपको समय पारेर प्रकृति दोहन नगर्न र किसानलाई राहत दिन आग्रह


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले प्रेस विज्ञप्ति प्रकाशित गरी कोरोनाको प्रकोप बढिरहेको र लकडाउनको समय पारेर किसानहरूको बाँध तथा कुलोलाई असर पर्ने गरी विपत् व्यवस्थापनका नाममा स्थानीय निकायकै कथित जनप्रतिनिधि तथा प्रशासनकै मिलोमतोमा जथाभाबी नदी तथा खोलाजन्य कच्चा पदार्थ उत्खनन तथा दोहन भइरहेको भन्दै चिन्त व्यक्त गरेको छ । पार्टीका जिल्ला इन्चार्ज रतन र सेक्रेटरी भगवानदासले मङ्गलबार जारी गरेको विज्ञप्तिमा ग्वारखोला, पातुखोला र राप्ती नदीमा दिनहुँ भइरहेको यस्तो कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई आग्रह गर्दै किसानलाई बीजबिजनमा सहुलियत दिन पनि माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस महामारीले अहिले विश्वलाई नै प्रभावित पारिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । यसले अहिलेसम्म नेपालमा २ जनाको ज्यान लिइसकेको छ भने ४०२ जना सङ्क्रमित भइसकेका छन् । सङ्क्रमित हुनेहरूको सङ्ख्या दिन–प्रतिदिन बढिरहेको छ । लाखौँलाख मानिसलाई भयभीत बनाएको छ । यो बेला कोरोना भाइरसबाट त्रसित जनतालाई संयम हुन, घरमै सुरक्षित बस्न र नआत्तिन हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सर्वप्रथम सबैमा आग्रह गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना भाइरसबाट बच्न लकडाउन भइरहेको समयमा पनि किसानहरूको बाँध तथा कुलोलाई असर पर्ने गरी विपत् व्यवस्थापनका नाममा स्थानीय निकायकै कथित जनप्रतिनिधि तथा प्रशासनकै मिलोमतोमा जथाभाबी नदी तथा खोलाजन्य कच्चा पदार्थ उत्खनन तथा दोहन भइरहेको छ । ग्वारखोला, पातुखोला र राप्ती नदीमा दिनहुँ भइरहेको यस्तो कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कोरोना महामारीले सबै ठाउँमा प्रभाव पारिरहेको बेला किसान मारमा परेका छन् । त्यसकारण सम्पूर्ण किसानहरूलाई मल, बीजबिजन सर्वसुलभ रूपमा उपलब्ध गराउन माग गर्दछौँ । कोरोना भाइरसका नाममा कालोबजारी, तस्करी र भ्रष्टाचारजन्य कार्य नगर्न, नगराउन सबैलाई सचेत गराउँछौँ । कोरोना महामारीको बेला अग्रपङ्क्तिमा खट्नुभएका सम्पूर्ण नर्स, डाक्टर, स्वास्थ्य कर्मचारी, प्रहरीहरूलाई उच्च मनोबलका साथ काम गर्न आह्वान गर्दै हाम्रो पार्टीका तर्फबाट सम्मान व्यक्त गर्दछौँ । साथै यो समयमा प्रत्येक गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका १/१ वटा व्यवस्थित आइसोलेसन निर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :