नागरिक बेपत्ता बनाउने अपराधीलाई राज्यले कारबाही नगरेमा हामी जनकारबाही गर्छौं : प्रकाण्ड


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले राणाकाल, पञ्चायतकाल, जनयुद्ध हुँदै जनआन्दोलनसम्म राज्यबाट बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्ने अपराधीहरूलाई कारबाही गर्न माग गरेका छन् । प्रकाण्डले दसौँ बेपत्ता योद्धा दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गरी बेपत्ता योद्धाहरूको स्थिति शीघ्रातिशीघ्र सार्वजनिक गर्न र बेपत्ता पार्ने राष्ट्रिय अपराधीहरूलाई हदै दर्जाको कारबाही गर्न माग गर्दै सरकारले अपराधीहरूलाई कारबाही नगरे नेपाल कम्युनिस्ट पार्टी जनकारबाही गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज जेठ ७ गते महान् बेपत्ता योद्धा दिवस हो । यो १० औँ बेपत्ता दिवसका सन्दर्भमा १० बर्से महान् नेपाली जनयुद्धका सयौँ बेपत्ता योद्धाहरू, जहानियाँ राणाशासन र ३० बर्से पञ्चायती तानाशाही व्यवस्थाका विरुद्धको राजनीतिक आन्दोलनमा राज्यसञ्चालकहरूद्वारा बेपत्ता पारिनुभएका नेपाली आमाका सपूत सम्पूर्ण वीर बेपत्ता योद्धाहरूमा हाम्रो पार्टी क्रान्तिकारी अभिवादन टक्र्याउँछ । उहाँहरूप्रति गहिरो स्मरण र उच्च सम्मान व्यक्त गर्दछ । साथै उहाँहरूका परिवार र आफन्तजनहरूमा आत्मीय भावसहित उच्च सम्मान व्यक्त गर्दछ ।’

प्रकाण्डले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘खराबभन्दा खराब स्थितिमा पनि वर्तमान नेपाली समाजमा पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिलाई पूरा गरेर बेपत्ता योद्धाहरूको बलिदानको राष्ट्रिय मूल्यबोध र सपनाको साकार रूप दिइछाड्ने हाम्रो पार्टी दृढ प्रतिज्ञा पनि गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राजनीतिक आन्दोलनको इतिहासमा नेपाली श्रमजीवी जनताले जनविरोधी राज्यव्यवस्थाविरुद्ध पटकपटक सञ्चालन गरेका क्रान्तिकारी राजनीतिक आन्दोलनको उच्चता र श्रेष्ठताको प्रतिनिधित्व गर्ने १० वर्षको महान् जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनपछि स्थापना भएको कथित लोकतान्त्रिक गणतन्त्र र त्यसका नयाँ एवम् पुराना शासकहरूले बेपत्ता योद्धाहरूको विषय प्राथमिकतामा नराख्नु र हालसम्म स्थिति सार्वजनिक नगर्नु अपराधजन्य कार्य बन्न पुगेको छ । यसबाट स्पष्ट हुन्छ– वर्तमान राज्यव्यवस्था र शासकवर्गहरू जनयुद्ध र नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनका बेपत्ता योद्धाहरूको बलिदान र सपनाका विरुद्ध छन् ।’

उनले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी केपी वली सरकारसँग के जोडदार माग गर्दछ भने बेपत्ता योद्धाहरूको स्थिति शीघ्रातिशीघ्र सार्वजनिक गरियोस् र बेपत्ता पार्ने राष्ट्रिय अपराधीहरूलाई हदै दर्जाको कारबाही गरियोस् । अन्यथा नेपाल कम्युनिस्ट पार्टी अपराधीहरूलाई जनकारबाही गर्न बाध्य हुने कुरासमेत प्रस्ट पार्न चाहन्छौँ । पार्टीले सञ्चालन गर्ने जनकारबाहीमा साथ दिन र सहभागी हुन सम्पूर्ण बेपत्ता परिवारजनलाई पार्टी विशेष अपिलसमेत गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :