सङ्कटलाई अवसरमा बदलौँ

सङ्कट दुःख हो । पीडायुक्त समय हो । कठिनाइको तीव्रतम अनुभव हो जब कि अवसर सुख हो । खुसीको आगमन हो । आनन्दको एक गहिरो अनुभव हो । यतिबेला सिङ्गो विश्व कोरोना महामारीको सङ्कटको सामना गरिरहेको छ । दिनहुँ भइरहेको हजारौँ मानिसको मृत्यु र दसौँ हजारको सङ्क्रमणले सर्वत्र पीडा र सन्त्रास छाइरहेको छ । मानवीय अस्तित्वमाथि नै चुनौती खडा भएको यो बेला मानव मन जति सक्यो चाँडो यो कष्टपूर्ण समयलाई सुख र खुसीमा बदल्न चाहन्छ । मानिसहरू त्यस्तो क्षणको व्यग्र पर्खाइमा कुरिरहेका छन् जुन कोरोनामाथि विजयको उद्घोष होओस् । कोरोनाविरुद्धको भ्याक्सिनको सफल परीक्षण होओस् । यो कुरा निश्चित हो, ढिलोचाँडो कोरोनामाथि मानवविजय अवश्यम्भाबी छ तर यो महासङ्कटसँग जोडिएको एउटा गम्भीर प्रश्न के छ भने कोरोनाबाट उत्पन्न परिस्थितिमाथि मानिसले विजय हासिल गर्नसक्ने हो कि होइन ? अर्थात् कोरोनाका शिक्षाहरूलाई गम्भीर आत्मसात गरिने हो कि होइन ?

सङ्कट एउटा त्यस्तो तत्व पनि हो जसले आफ्नो गर्भमा एउटा नवीनतालाई समेत बोकेर आएको हुन्छ । त्यसलाई सामान्यतः अवसर भन्ने गरिन्छ । यसर्थ सङ्कट अवसरको जननी पनि हो । मानवीय कार्यसूचीमा आकस्मिक र एउटा जबर्जस्त फेरबदल ल्याउनु सङ्कटको विशेषता हो । अवसरले भने उक्त कार्यसूचीलाई अग्रगति प्रदान गर्दछ र अस्तित्वको निरन्तरतालाई नेतृत्व गर्दछ । सङ्कटले मानवचेतनालाई आवश्यकताबोधको त्यस्तो तीव्र्र वेगमा हुत्याइदिन्छ जतिबेला मानवीय क्रियाकलापको स्वाभाविक प्राथमिकताक्रममा व्यापक हेरफेर आउँछ । त्यतिबेला नयाँ आवश्यकता र त्यसअनुरूपको कार्यसूची बन्नु एक अनिवार्य सर्त हुन जान्छ । सङ्कटले आमचेतनालाई एकसाथ नवीन आवश्यकताप्रति केन्द्रित गरिदिन्छ जब कि त्यही कार्यसूची बदल्न सामान्यतः दशक र शताब्दी, अझ त कहिलेकहीँ सहस्राब्दीभित्र पनि सम्भव नभएको होओस् । यो नै सङ्कट र अवसरको द्वन्द्वात्मकता हो । यी दुईबीचको अन्तरसम्बन्ध हो ।

कोरोना महासङ्कटलाई मानव जातिको अस्तित्व र भविष्यको एउटा सुन्दर अवसरमा बदल्नुपर्छ भन्ने सोचाइ विश्वव्यापी बढिरहेको छ । समग्र मानव जातिको अस्तित्वपूर्ण भविष्यका लागि अग्र मानव–मष्तिष्कहरूलाई यो महासङ्कटले उत्प्रेरित गरिरहेको छ । नयाँ अनुसन्धान र व्यापक बहसका लागि तीव्र्र समर्पित गरिरहेको छ । कोरोनाले हामीलाई सचेत गराएको विषय के हो भने हामी मानवको जैविक पद्धति, विद्यमान स्वास्थ्य पद्धति, सांस्कृतिक र राजनीतिक पद्धति तथा आर्थिक पद्धति निकै कमजोर भइसकेको छ । त्यसको ठाउँमा नयाँ विकल्पको आवश्यकता छ । हामीले अवलम्बन गरिरहेको उपर्युक्त पद्धतिबाट जुनप्रकारका स्वाभाविक विकृतिहरूबाट लामो समयदेखि पैदा भइरहेका थिए त्यसप्रति सजगता र इमानदारीको ज्यादै कमी भयो । जब असजगता र बेइमानीको थुप्रो चुलिँदै गयो । आफ्नै भारले थिचिएर त्यो गल्र्यामगुर्लुम ढल्यो । त्यही आज कोरोना महामारीका रूपमा अभिव्यक्त हुन गयो । अतः कोरोनाको आवरणमा हाम्रो जैविक पद्धतिको जीर्णता आज उदाङ्गो भएको छ । हाम्रो स्वास्थ्य पद्धतिमा रहेको अजीर्णता विस्फोट भएको छ । सांस्कृतिक मूल्यमा जकडिएर बसेको अमानवीयता र अव्यावहारिकताको घुम्टो धुजाधुजा भएको छ । राजनीतिक पद्धतिमा रहेको आडम्बरको पर्दाफास भएको छ र आर्थिक पद्धतिमा रहेको शोषणकारी प्रवृत्तिको जग नराम्ररी हल्लाइदिएको छ । कोरोना महामारीले हामी प्रत्येक मानवलाई, प्रत्येक क्षेत्रमा कार्यरत अगुवाहरूलाई चेतावनी दिएको छ– सजगता र इमानदारीको के अर्को कुनै विकल्प छ ?

सङ्कटको बेला मानिस स्वयम्प्रति र समाजप्रति जब सजग र इमानदार बन्न थाल्छ त्यो बेला असीमित ऊर्जाको केन्द्रीकरण सम्भव हुन्छ र त्यो एक महान् अवसरमा रूपान्तरित हुन्छ । तर सङ्कट त्यति सजिलै अवसरमा रूपान्तरित हुँदैनन् । सङ्कटलाई बेवास्ता गरियो, त्यसप्रति हेलचेक्र्याइँ गरियो वा त्यसको दीर्घकालीन असरलाई नजरअन्दाज गरियो भने त्यो अस्तित्व समाप्तिको ‘जस्केलो’ समेत बनिदिन्छ । त्यसका लागि अवसरको अमूर्त राग अलापेर मात्र केही हुँदैन । ठोस पहलकदमीको आवश्यकता हुन्छ । त्यो पहलकदमी भनेको सक्षम र इमानदार नेतृत्व तथा स्पष्ट नीति हो । यो विश्वव्यापी सङ्कटले हामी स्वयम् र हाम्रा समग्र प्रणालीमा भएका खराबीहरूप्रति सिंहावलोकनको एक सुअवसर प्रदान गरिदिएको छ । आवश्यकता रहेको छ– इमानदारी, सक्षमता र स्पष्टताको । हो, मानिसले सङ्कटलाई रोक्न सक्दैन, त्यसैगरी कोरोनाको जन्मलाई पनि रोक्न सक्दैन । तर सङ्कटबाट पैदा भएको अवसरलाई सदुपयोग गर्न सक्दछ, कोरोनाको असरलाई जरुर नियन्त्रण गर्न सक्छ । यो नै वर्तमान मानवीय सचेतन कर्तव्य हो ।

कैयौँ विश्वव्यापी स्तरमा र कैयौँ आआफ्नो देशको सापेक्षतामा निकै लामो समयदेखि बेवास्ता गरिएका तर निकै दूरगामी महत्वका विषयहरूलाई यतिबेला कोरोना सङ्कटले प्राथमिकताक्रमको अग्रसूचीमा ल्याइदिएको छ । नेपालको सन्दर्भमा त्यसमध्येको एउटा विषय हो– स्वाधीनता । स्वाधीनता भन्नाले सामान्यतः देशको सार्भभौमिकतालाई बुझ्ने गरिन्छ । सीमा अतिक्रमण नेपाली सार्वभौमिकताको पहिलो बुँदामा रहेको छ । भारतसँग खुला सिमानाका कारण दिन दुई गुणा र रात चौगुणाको दरले बढिरहेको सीमा अतिक्रमण कोरोना सङ्कटलाई ढाल बनाएर लिपुलेक–कालापानी क्षेत्रमा सडकको उद्घाटनसम्म आइपुगेको छ । हुनत कालापानी क्षेत्रमा अतिक्रमणको यो विषय निकै पुरानो हो । नेपाली सत्ता राजनीतिको शक्ति सङ्घर्ष र अस्तित्व सङ्घर्षको चेपुवामा परेर कालापानी क्षेत्र विगत ५८ वर्षदेखि अतिक्रमित बन्दै आएको छ । तथापि सडक उद्घाटनको कार्यक्रमले भारतीय साम्राज्यवादी चेहरा त्यहाँ खुलमखुला प्रदर्शित भयो । खुला सिमानाकै कारण सिमानाका नेपाली बस्तीमा भारतीय पक्षबाट हुने लुटपाट, बलात्कार र हत्याका घटनाहरू त सधैँका नियतिहरू नै हुन् । हिजोआज रातारात गाडीमा कोचेर नेपालीहरूलाई सीमानाकाहरूमा सयौँजनालाई घोक्रेठ्याक लगाएर धपाउँदै गरेको परिघटना भारतीय दादागिरीको अर्को चरम नमुना बनेको छ जसको परिणाम ‘रोटी र बेटी’ को ‘न्यानो’ सम्बन्धसँगै कोरोना सङ्क्रमणको कठोर ‘भेटी’ समेत प्राप्त भएको छ ।

प्राथमिकताको दोस्रो सूचीमा रहेको विषय हो– आत्मनिर्भरता । हामी सबैलाई ज्ञात भएको विषय हो– कुनै समय नेपाली अर्थतन्त्र पूर्ण रूपले आत्मनिर्भर थियो । तर केही दशकयता यो पूर्ण परनिर्भर बनेको छ । रेमिट्यान्सको भरमा जेनतेन श्वास फेरिरहेको अर्थतन्त्र जब विश्वव्यापी लकडाउनले घाँटी थिच्यो तब यो शिथिल बन्ने निश्चित छ । हामी कसरी आत्मनिर्भर विगतबाट परनिर्भर वर्तमानमा ओरालो लाग्यौँ ? आत्मनिर्भरताको पहिलो सर्तका रूपमा रहेको कृषिजन्य उत्पादनमा किन हामीले ध्यान दिएनौँ ? किन खोलिए रातारात श्रम बजारका लिलामी पसलहरू ? प्रजातन्त्र र गणतन्त्रको आगमनसँगै धमाधम किन बन्द गरिए राष्ट्रिय उद्योगहरू ? अनि कौडीको मोलमा किन बेचियो तिनलाई ? जब कि आज कोरोना महासङ्कटले हाम्रो देश मात्र होइन, विश्वका तमाम देशहरू र ती देशका पनि नगर र गाउँहरूलाई समेत न्यूनतम् आत्मनिर्भर बन्न ‘उर्दी’ जारी गरेको छ ।

प्राथमिकताको तेस्रो सूचीमा रहेको विषय हो– स्वावलम्बन । त्यसै पनि कोरोनाको ‘लक’ ले विश्व अर्थबजार ‘डाउन’ भएको छ । अमेरिकाजस्तो मुलुकमा तीन करोडमाथिको बेरोजगारी बढेका समाचारहरू सार्वजनिक भइरहेका छन् । विश्वव्यापी बढिरहेको बेरोजगारीको तुफानबाट हुत्तिएर नेपाल फर्किने श्रमिकहरू पचासौँ लाखभन्दा बढी छन् जब कि नेपालभित्रै करोडौँ मानिसहरू त्यसै पनि बेरोजगार र अर्धबेरोजगारको अवस्थामा छन् । विश्वका तमाम देशहरूबाट नेपालीहरू फर्किनु स्वाभाविकै थियो । देशको राजधानी काठमाडौँमा समेत श्रमिक जनताले आश्रय नपाएको कठोर दृश्यले हामीले अनुसरण गरिरहेको सामाजिक र आर्थिक प्रणालीको धज्जी उडाएको छ ।

मानवीय चतुर दिमागले बुझेको कुरा के हो भने कोरोना सङ्कट न पहिलो हो, न त अन्तिम नै । यो त प्राकृतिक चक्रमा पैदा भएको आजको एउटा सङ्कट मात्र हो । यो हुँदै आएको र हुँदै जाने परिघटना हो । अबको ज्वलन्त प्रश्न भनेको अब के गर्ने भन्ने हो । माथिका विषयहरूमा पहिलो प्रश्नको जबाफमा हामी नेपालीहरूले कठोरतापूर्वक स्वीकार गर्नुपर्ने सत्य भनेको सिमानालाई पूर्ण बन्द गर्नु हो । यद्यपि विधिको दृष्टिले तारबार वा पर्खाल जे पनि लगाउन सकिन्छ । दोस्रो विषयको जबाफमा हामीले दृढ सङ्कल्प गर्नै पर्दछ– अबको अर्थतन्त्रको बाटो स्वाधीन र आत्मनिर्भर हुनैपर्छ । त्यसका लागि उत्पादनको प्रमुख साधनका रूपमा रहेको जमिनको राष्ट्रियकरण पहिलो अनिवार्यता हो । त्यसका साथै शिक्षा, स्वास्थ्यलगायत कतिपय महत्वपूर्ण सार्वजनिक क्षेत्रमा निजीकरणको पूर्ण अन्त्य गर्न जरुरी छ । यसो गरिएको खण्डमा तेस्रो विषयको जबाफ स्वतः प्राप्त हुन्छ–स्वावलम्बन अर्थात् बेरोजगारीको अन्त्य । साँचो हो स्वाधीनता, आत्मनिर्भरता र स्वावलम्बनको महान् यात्रा प्रारम्भिक दिनमा निकै कष्टपूर्ण अवश्य हुनेछ । त्यसका लागि नेपाली जनताले एउटा त्यस्तो स्वयम्सेवी अभियान आरम्भ गर्नु अनिवार्य हुनेछ जहाँ पाँच वा सात वर्ष होइन, एक दशक स्वयम्सेवा गर्नु किन नपरोस् । वास्तवमा यो नै अबको एक मात्र विकल्प हो । अन्यथा हाम्रासामु परनिर्भरताको कठोर बन्धन झन्झन् कसिँदै जानेछ र आगामी पुस्ताको भविष्य निकै अन्धकारको भुमरीमा जाकिने निश्चित छ ।

विश्वव्यापी कोरोना महासङ्कटलाई अवसरमा बदल्ने बहस व्यापक बढिरहेको बेला नेपाली सचेतन तप्कामा यसबारे व्यापक मन्थनको आवश्यकता छ । निश्चित हो– यो अभियानको नेतृत्व सत्तासीन राजनीति, राजनीतिक नेतृत्व र सरकारले नै गर्नु उपयुक्त हुन्छ । यो एक स्वाभाविक पहिलो विकल्प हो । तर वर्तमान राजनीति, राजनीतिक नेतृत्व र सरकार त्यसमा अक्षम बन्दछ भने जनताको बीचबाट क्रान्तिकारी राजनीति, नेतृत्व र पहलकदमी बढाउनु दोस्रो अनिवार्य विकल्प हुन जान्छ । वर्तमान विश्व–पुँजीवादी अर्थप्रणालीको एकाइका रूपमा रहेको नेपाल र त्यसको राज्यप्रणाली क्रियाशील गरिहेको वर्तमान सरकारबाट यो सङ्कटलाई अवसरमा रूपान्तरण गर्ने सक्षमता सम्भव देखिँदैन, न त यसको नेतृत्वमा नै साहस र इमानदारी देखन्छ । संसदीय राजनीति विश्वव्यापी र नेपालमा समेत अफापसिद्ध भइसकेको यथार्थलाई अस्वीकार गर्नु आफैँप्रतिको धोका मात्र हो । अतः स्वाभिमानी, आत्मनिर्भर र स्वावलम्बी राज्यको स्थापनाका लागि क्रान्तिकारी विद्रोहमा लामबद्ध बनौँ । यो नै वर्तमानको अनिवार्यता हो । अन्यथा यो सङ्कटले नेपाल र नेपाली जनताको अस्तित्वलाई निकै ठूलो सङ्कटमा धकेलिदिने सम्भावनालाई इन्कार गर्नु आफ्नै खुट्टामा आफैँले बन्चरो हान्नुसरह हुनेछ । सङ्कल्प गरौँ– सङ्कटलाई अवसरमा बदलौँ ।

५ जेठ, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :