भारतीय सेना प्रमुखको आपत्तिजनक अभिव्यक्तिविरुद्ध घोराहीमा पुतलादहन


दाङ : भारतीय सेना प्रमुख मनोजमुकुन्द नराभनको आपत्तिजनक अभिव्यक्तिप्रति खेद प्रकट गर्दै अखिल (क्रान्तिकारी) दाङले घोराहीमा सोमबार पुतलादहन तथा विरोध कार्यक्रम गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङको आयोजनामा भएको कार्यक्रममा सङ्गठनका जिल्ला सहसचिव शरद खत्रीले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षाका निम्ति अखिल (क्रान्तिकारी) जङ्गे पिलर बनेर सिमानामा बस्न सधैँ तयार रहेको बताए । उनले आवश्यक परे सीमा मिच्नेहरूविरुद्ध जुनसुकै किसिमको प्रतिरोध गर्न पनि आफूहरु तयार रहेको बताए । साथै भारतीय सेना प्रमुख मनोजमुकुन्द नराभनको अभिव्यक्ति तत्काल सच्याउन पनि उनले आग्रह गरे ।

वली सरकार कोरोनाको रोकथाम, नियन्त्रण गर्नुको साटो भ्रष्टाचारमा लिप्त भएको र नेपाली भूमि मिचेर भारतले सडक बनाउँदासम्म आफूलाई थाहा थिएन भनेर पन्छिन खोजेकाले सरकार नै सीमा बेच्ने काममा अग्रसर देखिएको उनको भनाइ थियो । कार्यक्रमको सञ्चालन जिल्ला समिति सदस्य टार्जनले गरेका थिए । कार्यक्रममा भारतीय सेना प्रमुख मनोजमुकुन्द नराभनको पुतला जलाइएको थियो ।

यस्तै अखिल (क्रान्तिकारी) रुकुमले पनि भारतीय सेना प्रमुख मनोजमुकुन्द नराभनको आपत्तिजनक अभिव्यक्तिको विरुद्ध पुतलादहन तथा विरोध कार्यक्रम गरेको छ । अखिल (क्रान्तिकारी) रुकुमको आयोजनामा सोमबार मुसीकोटमा भारतीय सेना प्रमुख नराभनको अभिव्यक्तिको विरोध गर्दै पुतला जलाइएको रुकुमबाट प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :