नेपाल–भारत सीमामा काँडेतार लगाउन नेपाली जनप्रगतिशील मोर्चा कतारबाट पचास लाख सहयोग घोषणा

 

काठमाडौँ : कतारमा बस्ने नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा कतारले नेपाल र भारतका बीचमा दोहोरो काँडे तार लगाउन पचास लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीच सीमामा दोहोरो काँडेतार लगाउनका लागि लाग्ने आर्थिक सहयोग जुटाउन सङ्गठनका तर्फबाट नेपाली रुपैयाँ पचास लाख सहयोग गर्ने घोषणा गरेको हो । मोर्चाका अध्यक्ष जयकिशोर पोद्दारले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको छ ।

पोद्दारले केन्द्रीय समितिका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको वर्तमान राष्ट्रिय परिस्थितिअनुसार पूर्व, पश्चिम र दक्षिण सीमाना जोडिएको भारतले पटकपटक सीमा मिच्दै देशको अस्मितामाथि नै धावा बोल्दै आइरहेको छ । पश्चिममा कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग अतिक्रमण गरेर विगत ५७ वर्षदेखि भारतीय सेना तैनाथ गरी नेपालीहरूलाई प्रवेशमा समेत रोक लगाएको छ । दक्षिण–पूर्वमा सुस्तासम्मको भूभागमा प्राकृतिक दोहनको फाइदा उठाई नेपालको ठूलो भूभाग मिचेर बसेको छ । महाकाली नदीको शारदा बाँधको बीचमा नेपाल–भारत सीमा रहेकोमा हाल २ किलोमिटर नेपालभित्र गड्डाचौकीमा नेपालको जाँच हुन्छ । तर भारतीय क्याम्प शारदा पुलवारि आएर बसेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरूको कोमल हृदयको फाइदा उठाउँदै छोटे भाइको नाम दिएर, रोटीबेटीको सम्बन्ध देखाएर, नेपालमाथि गिद्देनजर राखी एकपछि अर्को हमला गर्दै भारतले गत २ नोभेम्बर २०१९ मा जम्मु–कास्मिर र लद्दाखलाई विभाजित भएको देखाउन जारी गरेको नक्सामा कालापानीदेखि पश्चिम र लिम्पियाधुरादेखि पूर्वको नेपाली भूभागलाई औपचारिक रूपमा भारतीय भूमिमा पारेर नक्सा जारी गरेको थियो । गत ८ मे २०२० का दिन नेपाललाई नसोधी भारतबाट तिब्बतको मानसरोवर जोड्ने गरी नेपाली भूमिभित्र २२ किलोमिटर लामो सडक बनाइसकेर भिडियो सम्मेलनमार्फत उद्घाटन गरी नेपाली छातीमा फेरि लात हान्ने काम गरेको छ । नेपालीहरूलाई सदैव बहादुर र कान्छा भनी पिठ्युँमा धाप मार्दै पछाडिबाट नै छुरा धस्ने भारतीय प्रवृत्ति पुनः देखाएको छ ।’

अगाडि भनिएको छ, ‘नेपालको इतिहासमा ३८ जना प्रजातान्त्रिक प्रधानमन्त्रीहरू बनिसकेका छन् । २४० वर्ष राजतन्त्रले राज गरेको छ । यहीबीचमा १०४ वर्ष राणाशासन चलेको थियो । यी सबै शासकहरू कानमा तेल हालेर सुतेको सुत्यै भए । कुनै सत्ताधारीले भारतमा पैसा जम्मा गरेर आफ्नो अस्तित्व उतै विलीन गराए भने कुनै शासकले युरोपतिरको बैङ्कमा पैसा जम्मा गरेर आफ्नो वंश नै विनाश गराए । देशभन्दा आफ्नो सत्ता नै प्रमुख मानेर राष्ट्रिय मुद्दालाई ओझेलमा राखेको देखियो । आफ्नो जिम्मेवारीभित्र कुनकुन चीज पर्छ र केके गर्नुपर्छ भन्ने जानकारीसमेत भारतले नै भनिदिनुपर्ने नै वैचारिक वा राष्ट्रिय नीतिको जानकारीसमेत नभएका व्यक्तिलाई सत्तामा पुर्याएर राज्य दोहन गर्नु नै दलाल संसदीय व्यवस्थाको दिनचर्या बनेको छ ।’

मोर्चाको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सोही अनुरूप नेपाली दलाल संसदीय व्यवस्थाले राज्यको सीमासम्बन्धी सम्पूर्ण कागजपत्र परराष्ट्र मन्त्रालयमातहतमा राख्नुपर्नेमा भूमिसुधार मन्त्रालयअन्तर्गत राखेर जग्गा दलालहरूलाई प्रमाण लुकाउन भारतीय दूतलाई खातापाता बुझाउन सहज वातावरण बनाइदिएको छ । कर्मचारी तथा नेताहरू रोटीबेटी र धापमै बिक्ने गरेका छन् । आफ्नो कुर्सी बचाउन हम्मेहम्मे छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘मोर्चाले गत जनवरी २०२०मा पनि राष्ट्रिय मुद्दाअन्तर्गत भारतले गरेको नक्सा प्रकाशन र अमेरिकाले हिन्द–प्रशान्त रणनीतिमार्फत नेपालमा अमेरिकी सैनिक राख्ने योजनाको विरोध गरी नेपाली दूतावास कतारलाई ज्ञापनपत्र बुझाएको थियो । तर समस्या समाधानतिर जाला भन्दा झन् जटिलतातिर लम्कँदै गरेको देखाउँदैछ । हाल विश्व नै कोरोनाको कहरबाट आक्रान्त भएको बेला एकातिर कोरोनासँग लड्न सार्क राष्ट्रहरूले सामूहिक योजना बनाउन जरुरी छ भन्दैछ भने अर्कोतिर भारतले सीमामा आफ्नो मनोमानी दर्साउँदैछ ।’

मोर्चाले विज्ञप्तिमा भनेको छ, ‘कोरोना आक्रान्त सम्पूर्ण नेपालीहरूको अस्मितामाथि भारतले धावा बोलेको चालप्रति नेपाली जनप्रगतिशील मोर्चा कतारको गम्भीर ध्यानाकर्षण भएको छ । यो बेला सत्तामा रहेको दुई तिहाइको सरकारले फेरि पनि मौन बस्नु देशद्रोहीपन भएको मोर्चाको ठहर छ । यसको समाधान सरकारले तत्काल गरी आमनेपालीहरूको शिर ठाडो बनाउने काम गरोस् । तपसिलअनुसारको मागसहित नेपाली जनप्रगतिशील मोर्चा कतार सहयोग गर्न तयार रहेको कुरा पनि यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

पाँचबुँदे माग अघि सार्दै मोर्चाले भनेको छ, ‘१. सीमाविवादलाई सम्पूर्ण प्रमाणसहित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरियोस् । २. नेपाली सेनालाई सीमा रक्षाको जिम्मेवारीमा खटाइयोस् । देशको आवश्यकताअनुसार युवा पिँढीलाई सैनिक तालिमसहित सीमा सुरक्षाका लागि तयार गरियोस् । ३. बिदेसिएका युवकयुवतीहरूलाई स्वदेशमै रोजगारीको दीर्घकालीन व्यवस्था गरी राष्ट्र निर्माणमा समावेश गराइयोस् । ४. सीमा समस्या समाधान गरी सिमानामा डबल काँडेतार लगाउने व्यवस्था गरी तत्काल काम सुरु गरियोस् । ५. विदेशबाट स्वदेश फर्कन चाहेका नेपालीहरूलाई उचित व्यवस्थापनसहित तत्काल स्वदेश फर्किने वातावरण बनाइयोस् ।’

मोर्चाले विज्ञप्तिको अन्त्यमा भनेको छ, ‘जहाँ जो जुनसुकै पार्टीको वा विचारमा रहे पनि राष्ट्रियता हाम्रो साझा नारा हुनुपर्दछ । यसका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्तहरू एक हुनुको विकल्प नै नरहेको कुरा उजागर गर्दै माथि उल्लेख गरिएका मागहरूलाई पूरा गर्दै देशको सीमा समस्या समाधान गरेर सधैँका लागि यस्ता प्रहारबाट मुक्त हुन सीमामा दोहोरो काँडेतार लागाइयोस् । त्यसका लागि लाग्ने आर्थिक सहयोग जुटाउन नेपाली जनप्रगतिशील मोर्चा कतारका तर्फबाट नेपाली रुपैयाँ पचास लाख सहयोग गर्ने यसै विज्ञप्तिमार्फत घोषणा गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :