कोरोना सङ्क्रमणबाट पहिलोपटक नेपालमा एक महिलाको मृत्यु, मृतकको घर र माइती गाउँ पूरै सिल गरियो


काठमाडौँ : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शनिबार साँझ ८ः५० बजे पुष्टि गरेका हुन् ।

कोरोनाबाट मृतक घोषणा गरिएकी ती महिलाको १० दिनअघि वैशाख २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सामान्य अवस्थामा सुत्केरी भएको थियो । आमाछोरा दुवैको स्वास्थ्य सामान्य रहेको अवस्थामा उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । घर फर्किएपछि महिलालाई ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि उनलाई धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा निधन भएको समाचारमा जनाइएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । कोरोनाकै कारण उनको मृत्यु भएको घोषणा गर्नुभन्दा पहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।

टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विस्तृत विवरण लिइएको र कोभिड १९ सँग सम्बन्धित थप परीक्षणपश्चात् नेपालमा कोभिड १९ बाट मृत्यु भएको पहिलो घटना भएको पुष्टि भएको छ ।’ कोरोनाबाट मृत्यु भएकी महिलाको परिचय भने खुलाइएको छैन ।

कोरेनाबाट मृत्यु भएकी महिलाको घर र माइती गाउँलाई अहिले सिल गरिएको जनाइएको छ । मृतकको घर बाह्रबिसे नगरपालिका ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको जानकारी सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले दिएका छन् । माइती गाउँबाट आफन्तहरू उनलाई भेट्न गएकाले गाउँ पनि सिल गरिएको बताइएको छ । सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न नपाउने बताइएको छ । जिल्लाको कोभिड १९ विपद् व्यवस्थापन केन्द्रले त्यस क्षेत्रका बासिन्दालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । सिल गरिएको क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको समाचारमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :