नेपाली भूमिमाथि भारतीय हस्तक्षेप बन्द गर्न नेकपा रूपन्देहीको चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रूपन्देहीले नेपाली भूमिमाथि भारतीय साम्राज्यवादी हस्तक्षेपको घोर भत्सर्ना एवं विरोध गरेको छ । नेकपा रुपन्देहीले अपिल प्रकाशित गरी लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायत विभिन्न स्थानहरुमा भारतले गरेको अतिक्रमण विरुद्ध राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र अखण्डताका लागि सम्पूर्ण प्रगतिशील, क्रान्तिकारी, सच्चा लोकतन्त्रवादी, नागरिक समाज तथा सम्पूर्ण देशभक्त जनसमुदायलाई संघर्षमा एक भएर जुट्न अपिल गरेको छ ।

अपिलमा भनिएको छ, ‘विश्वव्यापी कोरोना सङ्कटको बेला देशमाथि भारतीय साम्राज्यवादको हस्तक्षेप र अतिक्रमण तीव्र बनेको छ । राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा हाम्रो पार्टीले निरन्तर सङ्घर्ष गर्दै आएको छ । २०७७ बैशाख २५ गते भारतले कालापानी क्षेत्र अतिक्रमण गरेर नेपालको लिपुलेक हुँदै चीनको सिमाना कैलास मानसरोबर जोड्ने सडकको उद्घाटन गरेकोे छ । भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि गम्भीर हमला गरेको छ । हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रूपन्देही नेपालको भूमि हडप्ने भारतीय साम्राज्यवादी हर्कतको घोर भत्सर्ना एवं विरोध गर्दछ ।’

अपिलमा अगाडि भनिएको छ, ‘भारतले नेपालको ७१ स्थानमा ६० हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण गरेको छ । लिपुलेकमाथि अतिक्रमण यसैकोे शृङ्खला हो । तर केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकार राष्ट्रघात, भ्रष्टाचार, माफियाकरण र दलालीकरणमा मैमत्त छ । देशको स्वाधीनताको रक्षा र श्रमजीवी जनताको मुक्तिका लागी जीवनको बलिदान दिन तयार भएर क्रान्तिवेदीमा होमिएका देशभक्त र क्रान्तिकारीहरूमाथि प्रतिबन्ध लगाएर फासिष्ट दमनमा उत्रिएको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्तालगायत नेपाली भूमिमाथि भारतीय साम्राज्यवादको अतिक्रमण र केपी वली सरकारको फासीवादी दमनको हर्कत पूर्ण रूपले बन्द गर्नुपर्दछ ।’

अपिलको अन्त्यमा भनिएको छ, ‘नेपाली भुभाग मिचेर भारतले दादागिरी शैलीमा सडक बनाउँदा पनि चुपचाप बस्ने सामाजिक दलाल पुँजीवादी केपी वली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रुपमा प्रकट भएको छ । भारतले बाटो बनाउन खोज्दा, नेपालको भुभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरु ठाउँ–ठाउँमा मिचिदा पनि संसदवादी सत्ता मुखदर्शक देखिएकोले नेपाललाई दिनप्रतिदिन पराधीन बनाउदै लगेको छ । नेपालको सार्वभौमिकता माथि भारतीय साम्राज्यवादको हमला र केपी वली नेतृत्वको सामाजिक फासीवादी सत्ता विरूद्व सम्पूर्ण देशभक्त, प्रगतिशील, क्रान्तिकारी र सच्चा लोकतन्त्रवादीहरू सङ्घर्षमा जुट्नुको विकल्प छैन । अन्त्यमा, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सचेत रहन जिल्लाबासी सम्पूर्ण श्रमजीवी जनसमुदायहरूमा हार्दिक अपील गर्दछौं ।’ अपिलको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :