सुवेदीलाई जेठ ५ गते सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला सेक्रेटरी दुर्गाप्रसाद सुवेदीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले जेठ ५ गतेका लागि पेसी तोकेको छ ।

अविरल शर्मा निवेदक रहेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले शुक्रबार गरेको आदेशमा भनिएको छ, ‘यसमा केकसो भएको हो ? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सोसमेत साथै राखी मिति २०७७ जेठ ५ गते दिनको १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना पठाई मिति २०७७ जेठ ५ पेसी तोकी नियमानुसार पेस गर्नुहोला ।’

रिटमा निवेदक अविरल शर्माले जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत विपक्षी बनाएका थिए । रिट निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू सन्तोष भण्डारी, चिरञ्जीवी ढकाल र लक्ष्मी (नानी) थापाले बहस गरेका थिए ।

चितवन जिल्ला सेक्रेटरी दुर्गाप्रसाद सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको चपेटामा परेका पीडितहरूलाई सहायता सामग्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले गत वैशाख २३ गते मङ्गलबार साँझ साढे ६ बजे भरतपुर ११ स्थित घरनजिकैको टोलबाट गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :