दोलखामा मशाल जुलुस र मोदीको पुतलादहनपछि कोणसभा


काठमाडौँ : भारतीय हस्तक्षेपविरुद्ध जिल्लाको सदरमुकाम चरीकोटनजिक मकैबारीमा मशाल जुलुस निकाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलादहन गरिएको छ । मशाल जुलुसमा भारतीय हस्तक्षेपविरुद्ध चर्को नाराबाजी गरिएको समाचारमा जनाइएको छ । कार्यक्रममा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो, भारतीय साम्राज्यवादविरुद्ध एक होऔँ, भारतीय साम्राज्यवाद मुर्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावादलगायत नारा लगाइएको थियो ।

मोदीको पुतलादहनपछि सोही ठाउँमा कोणसभा आयोजना गरिएको थियो । कोणसभामा सम्बोधन गर्दै नेकपा जिल्ला सचिवालय सदस्य अजरले सरकार भ्रष्टाचार, लुटतन्त्र, बलात्कारकाण्ड, सुनकाण्ड, घूसकाण्ड, वाइडबडी काण्डजस्ता काण्डैकाण्डमा मुछिएको र देशको सीमा अतिक्रमण हुँदासम्म लाचार देखिएकाले पूरै असफल भएको बताए । कोरोनाका कारण देश आर्थिक रूपमा पूरै धराशायी भएकोमा ध्यान नदिएर सरकार कमिसनको खेलमा लागेको र धमिलो खोलामा माछा मार्न खोजेकाले सरकार मात्र नभई व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

देशको सीमा अतिक्रमणका विरुद्ध नेकपा लडिरहने र जनजीविका, खाद्य सम्प्रभुता, भ्रष्टाचार, बेतिथिविरुद्ध बोलिरहने भन्दै उनले भारतीय साम्राज्यवादका विरुद्ध लड्न एकजुट हुन सबैलाई आह्वान गरे । कोरोनाको महामारीविरुद्ध सुरक्षित भएर लड्न पार्टी र जनतालाई उनले निर्देशन पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :