रामेछापमा सयौँ जनसमुदायका बीचमा जलाइयो मोदीको पुतला


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रामेछापले वैशाख ३० गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलादहन गरी कोणसभा सम्पन्न गरेको छ ।

भारतीय साम्राज्यवादले लिपुलेक, कालापानी, लिम्पियाधुरालगायत नेपाली भूमिमाथि अतिक्रमण गरी हस्तक्षेप गरेको विरोधमा नेकपा रामेछापले जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ७ मा आयोजना गरेको कार्यक्रमअघि जनसमुदायसहितको जुलुस साम्राज्यवाद र उसको कठपुतली वली सरकारविरुद्ध नाराबाजी गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेकपा ताम्सालिङ ब्युरो सदस्यसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी रामेछापका सेक्रेटरी सौगात लामाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै सेक्रेटरी लामाले भारतीय साम्राज्यवादको नेपालमाथिको अतिक्रमण, हस्तक्षेप र दादागिरी यथावत् रहे राष्ट्रिय मुक्ति आन्दोलन गर्न आफ्नो पार्टी पछि नहट्ने बरु आफूहरू बलिदान दिन तयार हुने बताए । उनले अमरसिंह थापा, बलभद्र कुँवरजस्ता योद्धाहरूको वीरताले बचाएको देशमा आज सामाजिक फासिवादी सत्ताका कारण दिन दुई गुणा रात चौगुणाको हिसाबले वैदेशिक हस्तक्षेप बढेको धारणा राखे ।

अन्धो राष्ट्रवादको नारा अलापेर आफ्नो सरकारको आयु लम्ब्याउने, जनतालाई ढाँटेर ब्रह्मलुट मच्चाउने संसदीय व्यवस्थाका मतियार केपी वली नेतृत्वको सरकारले भारतको ज्यादतीलाई टुलुटुलु हेरिरहेको तर राष्ट्र र जनताको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि निगरानी बढाएको भन्दै उनले आपत्ति जनाए ।

कार्यक्रममा सयौँ स्थानीय बासिन्दाको सहभागिता रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :