भारतीय हस्तक्षेपविरुद्ध सङ्घर्षमा उत्रिन शिक्षक सङ्गठनको आह्वान

काठमाडौँ : नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिले नेपालको राष्ट्रियतामाथि निरन्तर हस्तक्षेप र अतिक्रमण गर्दै आएको भारतीय साम्राज्यवादका विरुद्ध सङ्घर्षमा लामबद्ध हुन सम्पूर्ण देशभक्त शक्तिहरूमा आह्वान गरेको छ । सङ्गठनका महासचिव रमेश रूपाखेतीले विज्ञप्ति जारी गर्दै एउटा स्वतन्त्र, स्वाधीन एवम् सार्वभौमसत्ता सम्पन्न राष्ट्रको भूमिमाथिको भारतीय हस्तक्षेप अत्यन्तै घिनलाग्दो, निन्दनीय साथै भत्र्सनायोग्य रहेको जनाएका छन् ।

रूपाखेतीको विज्ञप्तिमा भनिएको छ, ‘हालै भारतीय सरकारको रक्षामन्त्रीले स्वतन्त्र, स्वाधीन एवम् सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको भूमि कालापानी–लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गरेको घटनाप्रति हाम्रो सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । एउटा स्वतन्त्र, स्वाधीन एवम् सार्वभौमसत्ता सम्पन्न राष्ट्रको भूमिमाथिको हस्तक्षेप अत्यन्तै घिनलाग्दो, निन्दनीय साथै भत्र्सनायोग्य छ । नेपाली भूमिबाट खोलिएको बाटो उद्घाटन गर्ने कार्यले भारतीय शासकहरूले विगतमा आफूले भोगेको दास मानसिकताको उपजका साथै साथै विस्तारवादी व्यवहारको नाङ्गो रूप हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘भारतीय शासकहरूले आफ्नो मातृभूमिमा सडक निर्माण गरी उद्घाटन गर्दासमेत पत्तो नपाउनु आफूलाई कम्युनिस्ट भन्ने दुई तिहाइको केपी वली सरकारको लाचारीपना हो । राष्ट्रियतामाथि विस्तारवादी हस्तक्षेपको विरोधमा उत्रन आम न्यायप्रेमी जनसमुदाय, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकारलगायत सबैलाई आह्वान गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘भारतीय शासकहरूलाई छिमेकीहरूप्रति आफ्नो विस्तारवादी हेपाहा प्रवृत्ति अन्त्य गर्न हाम्रो सङ्गठन चेतावनी दिँदै राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्नका लागि चौतर्फी दबाब सिर्जना गर्न सम्पूर्ण वामपन्थी, प्रगतिशील तथा देशभक्त, युवा, विद्यार्थी, आमजनसमुदाय, प्राध्यापक, बुद्धिजीवी, सुरक्षाकर्मी, पत्रकारहरूलाई हाम्रो सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठन आह्वान गर्दछ ।’ 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :