नेपाली जनप्रगतिशील मोर्चा मलेसियाद्वारा भारतीय साम्राज्यवादको प्रतिकार गर्न आह्वान

काठमाडौँ : मलेसियामा कार्यरत नेपालीहरुको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले भारतीय साम्राज्यवादद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता गराउन र भारतीय हस्तक्षेपको प्रतिरोध गर्नका लागि उत्पीडित नेपाली जनता र प्रवासमा रहेका देशभक्त जनसमुदायहरू आह्वान गरेको छ । मोर्चाकाका अध्यक्ष विजय लामाले प्रेस विज्ञप्ति प्रकाशित गरी साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको प्रतिकारका लागि एकजुट हुन आह्वान गरेका हुन् ।

मोर्चाका अध्यक्ष लामाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण नेपाली जनता र सिङ्गो विश्व कोरोना भाइरस महामारीका विरुद्ध लडिरहेको अवस्था छ भने अर्कातिर यही अप्ठ्यारो परिस्थितिको मौका छोपेर २०७७ साल वैशाख २५ गते भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले भारत उत्तराखण्ड राज्यको पिथौलागढबाट नेपालको लिपुलेक हुँदै मानसरोवर जोड्ने ८० किलोमिटर सडकको भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका छन् । यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो हस्तक्षेप हो । यो उद्घाटनको घटनाप्रति हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय प्रवास ब्युरो सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा मलेसिया भारतीय साम्राज्यवादले गरेको अतिक्रमणको घोर भत्र्सना एवम् निन्दा गर्दछ ।’

उनले अगाडि भनेका छन्, ‘सीमा क्षेत्रमा हरेक दिनजसो भारतीयको ज्यादती बढ्दै गएको छ । नेपाल–भारततर्फको १ हजार ८ सय ८० किलोमिटर सीमारेखामा करिब १ हजार १ सय जङ्गे पिलर गायब छन् । हुँदाहुँदै भारतले लिपुलेकसम्म आफ्नो सीमामा समावेश गरिसकेको छ । तथापि यसको समाधान गर्न खुला सीमा नै बाधक बनिरहेको छ । नेपाल ब्रिटिसकालीन भारतदेखि नै हेपाइमा पर्यो । राणाहरू, राजाहरू र त्यसपछि पार्टीका नेतृत्वसमेत भारतका शासक रिझाउन प्रतिस्पर्धा नै गरिरहे । यस मामलामा नेपालका विभिन्न काल र व्यवस्थाका शासकहरू कुनै घटीबढी छैनन् । तर नेपाली जनताहरूमा रहेको देशभक्तिपूर्ण भावनाका अघि शासकहरू बारम्बार राष्ट्रवादको नाटक गरिरहेका हुन्छन् । यस्तै असमान महाकाली सन्धिका एक नायक केपी वली राष्ट्रवादको नाटक गर्दै हाल सरकारको नेतृत्व गरिरहेका छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘सन् १८१६ मा नेपालको अङ्ग्रेजसँग सुगौली सन्धि भएपछि नेपाल र तत्कालीन ब्रिटिस भारतका सीमा विशेषज्ञहरूबाट सीमा सुनिचिश्चत गरिएको थियोे । त्यस समयमा बनाइएको नापनक्साअनुसार निश्चित गरिएको नेपालको भूभागमा पनि दिनानुदिन भारतीय अतिक्रमण भइरहेको छ । नेपालको सुदूरपश्चिममा कालीनदीको मुहान र त्यसभन्दा पश्चिमका ५ गाउँ हाल भारतीय आधिपत्यमा रहेका छन् । भारतलाई चीनसँग व्यापारिक र सामरिक महत्वका लागि आवश्यक पर्ने नेपालको सुदूरपश्चिमको भूभाग तत्कालीन राजा महेन्द्रकै पालामा भारतीय भूमिमा गाभिइसकेको छ र हाल त्यस ठाउँमा भारतीय सैनिकका क्याम्पहरू राखेको छ । तत्कालीन ब्रिटिस भारतका विशेषज्ञहरूबाट निर्मित नेपाल र ब्रिटिस भारतका सीमासम्बन्ध नक्साहरू इङ्ल्यान्डका म्युजियम, लाइब्रेरी र विदेश मन्त्रालयमा सुरक्षित राखेको छ ।’

विज्ञप्तिमा लेखिएको छ, ‘सोही सन्धिअनुसार लिम्पियाधुराबाट काली नदी नै भारत–नेपालबीचको पश्चिम सीमा भएको राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्ले स्वीकारेको सन्दर्भमा भारत ब्रिटिस सरकारको दासत्वबाट १५ अगस्ट १९४७ देखि मुक्त भएपछि भारत सरकारले नेपालसँग शान्ति तथा मैत्री सन्धि गरेको छ । तर समानताका आधारमा होइन, नेपालप्रति हेपाहा र ठुल्दाइको नीतिबाट अभिप्रेरित भएर हो । भारत–चीनबीच भएको युद्धमा नेपालको भूमि प्रवेश गरेको साम्राज्यवादी सेना अझसम्म फर्केर नजानु साम्राज्यवादको मिचाहा प्रवृत्ति रहेको प्रस्ट देखिन्छ । नेपालको भूमि प्रयोग गरी सडक निर्माण कार्य अविलम्ब रोक्न र उक्त नेपाली भूभाग यथाशीघ्र फिर्ता गर्न भारत सरकारसमक्ष हाम्रो मोर्चा मलेसिया जोडदार माग गर्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाली भूभाग ओगटेर बाटो बनाउँदासमेत कानमा तेल हालेर चुपचाप बस्ने सामाजिक दलाल भ्रष्टाचारी पुँजीवादी केपी वली सरकारमने भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रूपमा प्रकट भएको देखिन्छ ।’

अगाडि भनिएको छ, ‘नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपाली सिमानाहरू ठाउँठाउँमा मिचिँदा पनि संसदीय दलाल भ्रष्टाचारी राज्यसत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिन–प्रतिदिन पराधीन बनाउन लागेको छ । नेपालको सुस्ता गाविस जसमा ९ वटा वडा रहेकोमा हाल भारतले सुस्ता गाविसलाई मिच्दै गएपछि निरीह नेपालले बचेखुचेको सुस्ताको क्षेत्र त्रिवेणी गाविसमा विलय गरिसकेको छ र हाल सुस्ता गाविसले अलग पहिचान गुमाउन पुगेको छ । अब सुस्ता गाविस नरहेर सुस्ता सानो कस्वाका रूपमा गाउँ रहेको छ । यस क्षेत्रमा पनि भारतको गिद्देदृष्टि निरन्तर परिरहेको छ । त्यस्तै नेपालका पशुपतिनगर, मानेभञ्ज्याङ, चितवनका माडी–ठोरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, महाकाली, लिम्पियाधुरा, बारा, पर्सा, रौतहट आदि क्षेत्रका सिमानामा पनि भारतको खुलमखुल्ला मिचाहा र गिद्दे दृष्टि यथावत् रहिरहेको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस्तो नपुंसक दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा ऐक्यबद्धता जनाउन, संवेदनशील र गम्भीर भई यसको विरोध तथा प्रतिकारका लागि एकजुट हुन सम्पूर्ण राजनीतिक दल, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील बुद्धिजीवी, डाक्टर, शिक्षक, पत्रकार, श्रमिक तथा उत्पीडित नेपाली जनताहरू र प्रवासमा रहेका देशभक्त जनसमुदायहरूलाई हाम्रो गौरवशाली सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा मलेसिया हार्दिक अपिल गर्द्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :