जाजरकोटमा संयुक्त रूपमा जले मोदी र वलीका पुतला


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल जाजरकोट र अखिल (क्रान्तिकारी) जाजरकोटले संयुक्त रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पुतलादहन गरेका छन् ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरेको विरोधमा नेकपा, युवा सङ्गठन नेपाल जाजरकोट र अखिल (क्रान्तिकारी) जाजरकोटले संयुक्त रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा वलीका पुतलादहन गरिएको छ । देशभर आयोजित पुतलादहन कार्यक्रमका क्रममा जाजरकोटका नलगाड नगरपालिका, कुशे गाउँपालिका र भेरी नगरपालिकामा पनि पुतलादहन गरिएको हो ।

भारतले हालै मानसरोवर यात्राको लिङ्क रोड उद्घाटन गरेर सञ्चालनमा ल्याएको छ । भारतीय बीआरओ (बोर्डर रोड अर्गनाइनेसन) ले निर्माण गरेको धार्चुलादेखि लिपुलेकसम्मको सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उद्घाटन गरेका थिए । नेपाली भूमिमा भारतीय पक्षले एकलौटी ढङ्गले सडक निर्माण गरेको भन्दै देशभर विरोध भइरहेको छ । नेपाली भूमिमा सडक खनेर भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेको छ । कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा तत्काल कायम गर्न तथा अतिक्रमित भूमिबारे सप्रमाण अन्तर्राष्ट्रियकरण गर्न मागसमेत गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै युवा सङ्गठन नेपाल जाजरकोटका अध्यक्ष विवशले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भूमिलाई भारतीय साम्राज्यवादले आफ्नो नक्साभित्र पारेर नेपालमाथि दादागिरी गरिरहेको छ भने नेपालका सामाजिक दलाल शासकहरू मौन बसिरहेका छन् । वली सरकार उल्टै नेपाली भूमिको रक्षाका निम्ति आवाज उठाउने युवाहरूलाई गिरफ्तार गरिरहेको छ । हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल तथा अखिल (क्रान्तिकारी) जाजरकोटले निःसर्त ढङ्गले नेपाली भूमि फिर्ता गर्न माग गरेको छ ।’

यसै सिलसिलामा वैशाख ३० गते सामाजिक दलाल सरकारको नाइके केपी वली र नरेन्द्र मोदीको पुतला दहन कार्यक्रम सम्पन्न भएको जानकारी अखिल क्रान्तिकारी जाजरकोटका सचिव दीपेन्द्र सिंह ‘समीप’ ले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :