धनगढीमा मोदीको पुतला जलाइयो


काठमाडौँ : नेपाली भूमि लिपुलेकमा सडक बनाएर भारतले नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि हस्तक्षेप गरेको विरोधमा कैलालीको धनगढीमा नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर समितिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलादहन गरेको छ ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरेपछि नेकपाले देशव्यापी सङ्घर्ष गर्दै आएको छ । देशव्यापी सङ्घर्षको कार्यक्रमअनुसार सोमबार नेकपाले मोदीको पुतलादहन गरेको हो ।

मोदीको पुतलादहनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा धनगढी नगर समिति इन्चार्ज अनमोलले कोरोना भाइरसको महामारीको अवसर छोपेर भारतीय साम्राज्यवादले नेपाली भूमिमा सडक सञ्चालन गरेको भन्दै नेपाली भूमिमाथिको हस्तक्षेपविरुद्ध जनस्तरबाटै प्रतिरोध गरिने चेतावनी दिए ।

राष्ट्रियताको आन्दोलनमा देशभक्त नेपालीहरूमाथि राज्यले दमन गर्दै आएको भन्दै उनले लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्तालगायत नेपाली भूमि मिचिएको विषयमा नेकपाले सुरुदेखि नै सङ्घर्ष गर्दै आएको स्मरण गराए । उनले भारतीय साम्राज्यवादविरुद्धको आन्दोलनमा एकजुट भएर लाग्न सबैलाई अपिल पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :