रूपन्देहीद्वारा भारतीय प्रधानमन्त्री मोदीको पुतलादहन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीको पुतलादहन गरेको छ । नेकपाले नेपालको भूभागमा गरिएको भारतीय हस्तक्षेपको विरोधमा सोमबार देशभर भारतीय प्रमको पुतलादहन एवम् विरोध कार्यक्रम घोषणा गरेको थियो ।

पुतलादहनपछि आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीका इन्चार्ज संगम पुनले भारतले २२ किलोमिटर सडक खन्दासमेत थाहा नपाएझैँ गर्ने सरकार राष्ट्रिय अस्मितामाथि गम्भीर प्रश्न उठ्दासमेत निरीह बनेको बताए । उनले भने, ‘लिपुलेक, लिम्पियाधुरादेखि सुस्तालगायत ८० भन्दा धेरै ठाउँमा भारतले सिमाना मिचेको छ । यस्तो बेला सरकारको नेतृत्व गर्नेहरू मौन छन् । उनीहरूले आफ्नो सत्ता जोगाउन सिमाना बेचेका छन् ।’ उनले भने, ‘राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलन गर्दा हस्तक्षेप गर्ने सरकार सिमाना मिचिँदासमेत निरीह बनेको छ । शासकहरुले हिजो महाकाली बेचे । टनकपुर बेचे । अहिले सत्ताकै लागि लिपु बेचेका छन् ।’

उनले भने, ‘भारतले साम्राज्यवादी अभियानअन्तर्गत कमजोर देशहरूमाथि हस्तक्षेप गर्ने र चेपुवामा पारेर अन्तरविरोध उत्पन्न गर्ने गरेको छ । यसको समाधान कूटनीतिक पहलले मात्र पुग्दैन । हस्तक्षेपविरुद्ध एकपटक जेहाद छेड्न जरुरी छ । त्यसको नेतृत्व नेकपाले गर्नेछ ।’ यसका लागि तयार रहन नेता पुनले सबैलाई अनुरोध गरे ।

कार्यक्रममा उपस्थित नेता–कार्यकर्ता र जनताले भारतीय साम्राज्यवाद मुर्दावाद, लिपुलेक हाम्रो हो, नरेन्द्र मोदी मुर्दावादलगायत नारा लगाएका थिए ।

यसैबीच रूपन्देहीका दुई ग्रामीण बस्तीमा पनि मोदीको पुतलादहन गरिएको समाचार प्राप्त भएको छ । पुतलादहन कार्यक्रममा जनताको व्यापक सहभागिता रहेको बताइएको छ ।

कोणसभाका वक्ताहरूले भारतीय साम्राज्यवादले अतिक्रमण गरेको नेपाली भूमि तत्काल फिर्ता गर्न चेतावनी दिएका छन् । उनीहरूले नेपाली भूमि बचाउनका लागी सम्पूर्ण देशभक्त जनतालाई सङ्घर्षमा उत्रिन अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :